रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ को हाँसपोखरीबाट शुरू भएर गुगल पोइन्ट (भूमापन विन्दु) हुँदै झण्डीडाँडासम्मको साइकलिन मार्गको विस्तृत परियोजन अध्ययन (डिपिआर) सर्वेक्षण सम्पन्न भएको छ ।
रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई सहित गाउँपालिकाका ओभरसियल स्थानीय बुद्धिजीवीहरू दुर्गा निरौला, राजिव राई, नरेश खड्का लगायत स्थानीय बासिन्दा र झापा बिर्तामोड तथा बिराटनगरबाट आएको डिपिआरको टोलीले उक्त स्थानको डिपिआर सर्वेक्षण सम्पन्न गरेको हो ।
करिब ५ दशमल ५ किलोमिटर रहेको गुगल डाँडाबाट रोङ ६ को जौवारी हुँदै झण्डीडाँडासम्मको डि.पि.आर सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताएका छन् । हाँसपोखरी र हर्कटेबाट साइकलिन मार्ग निर्माण गर्ने अध्यक्ष राईले बताए र यस क्षत्रलाई मुख्य पर्यटकीय स्थल निर्माण बनाउन आफू लागि परेको पनि अध्यक्ष राईले बताए ।
पालिकाको मुख्य सूर्योदयको दृश्यलोकन गर्न सकिने झण्डीडाँडा र गुगल पोइन्ट जोड्ने साइकलिन मार्ग निर्माण गर्दा यहाँ पर्यटनको सर्वोत्कृष्ट स्थल बन्ने स्थानीय नरेश खड्का बताउँछन् । सूर्योदयको दृश्यको साथै कञ्चनजंघा हिमाल लगायत अन्य धेरै हिमशृङ्खला ,नदिनाला, पाथिभरा मन्दिर तराईका समथर भूभाग लगायत भारत तथा भुटानका भूभाग देखिने गुगल पोइन्टको विकास र प्रवर्द्धन गर्न जरुरी रहेको स्थानीयबासीहरू बताउँछन् । यसको विकास गर्न सके यहाँको पर्यटन व्यवसाय धेरै फस्ट्याउने देखिन्छ ।