जाति/भाषामा ‘लिम्बू’ धर्ममा ‘किरात’ लेख्‍न किरात याक्थुङ चुम्लुङको अपिल

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात/जाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न/लेखाउन लिम्बु समुदायसँग अपिल गरेको छ ।

चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत तथ्यांक महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात/जाति र मातृभाषाको महलमा हालसम्म स्थापित तथा परिचित ‘लिम्बु’ नै लेख्नुपर्ने उल्लेख गरेको छ ।

लिम्बु समुदायका कतिपयले जातिको महलमा ‘याक्थुङ’ लेख्नुपर्ने तर्क गरिरहेको अवस्थामा चुम्लुङले जनगणनामा संख्या घट्ने वा घटाउने खालका कुनै तर्क वा बहसमा अहिले नलाग्न अपिल गरेको छ । चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमले सोमबार ३ पेजको अपिलपत्र जारी गरेका छन् ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष रहेको वनेमले उल्लेख गरेका छन् ।

‘अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ,’ उनले लेखेका छन्, ‘जनगणना विकासको आधार हो, पहिचानको आधार हो । जनसंख्या शक्तिको स्रोत हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष हो । जनसंख्या संकलनको समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अल्मलियौ भने परिणामतः जनसंख्या कमजोर बन्छ ।’

चुम्लुङले ‘मजबुद विश्वसनीय लिम्बु जनसंख्या निर्माणको लागि जनगणनामा सहभागी बनौ’ बोलको नारा समेत निर्माण गरेको छ ।

२०६८ सालको जनगणनाको तथ्यांक अनुसार नेपालमा लिम्बुहरुको जनसंख्या ३ लाख ८७ हजार ३०० छ ।  जनसंख्याको आधारमा लिम्बुहरु १४औं स्थानमा छन् ।

नेपालमा किरात धर्म मान्नेहरुको संख्या भने ३.१ प्रतिशत मात्र देखिएको छ । किरात धर्म नेपालको धर्महरुमा चौथो स्थानमा छ ।

नेपालमा पछिल्लो दशक मात्र किरात लगायत आदिवासी समुदायमा जातीय तथा सांस्कृतिक चेतना बढ्न थालेको हो । अहिले पनि नेपालका ग्रामिण क्षेत्रका आदिवासीहरुले चेतना अभावमा आफूहरु हिन्दु नै भएको ठान्दछन् ।

अपिल-पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार