बिर्तामोड : आज दिउँसो बिर्तामोड-६ गिरी मन्दिरस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सख्त घाइते भएका छन् ।बिहान ११ः२५ बजेतिर पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकल एकापसमा जुध्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को ट्रकले किचेको थियो ।
दुर्घटनामा मे २ प ४८४७ नं को मोटरसाइकलका चालक बुद्धशान्ति ३ का २४ वर्षिय कुशल लिम्बु र पछाडि सवार सोही ठाउँका वर्ष ११ का दिप्सन कँडेलको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति ३ की ३९ वर्षिया सावित्रा कँडेल र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा ११ का २२ वर्षिय गगन तामाङ सख्त घाइते भएका छन् ।
घाइतेहरुलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । ट्रकले किचेपछि को१ च ९३१७ नं को स्कोरपियोले पेलेर भागेको थियो । दुर्घटनापछि ट्रक चालक ट्रक छोडेर फरार भएका छन् भने किचेर भाग्ने स्कोरपियोलाई बुधबारेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
























































