कोदो खेती लोप हुँदै

बाँझिदै कोदो फल्ने जमीन- लोप हुँदै कोदो खेती

पाँचथर : पाँचथर जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कृषकको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो ।

प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले बाँझिदै गएका छन् । जिल्लाका डाँडाभेगमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हँुदै गएको हो ।

कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रयोजनका लागि मात्र गरेको पाइन्छ ।

पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् ।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिलो वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हँुदै गएको मिक्लाजुङ २ का कृषक पुराहाङ शेर्माले बताउनुभयो ।

कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण भने घट्दै गएको छ ।

खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउनसमेत प्रयोग हुन थालेको छ ।

धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो ।

जिल्लामा दुई हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्वन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।

कोदोको विभिन्न परिकार बनाएर खाँदा सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले फाइदा पुग्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार