बालसंगठन पाँचथरको सदस्यमा बिश्वकर्मा र आचार्य नियुक्त

 

इलाम : नेपाल बालसंगठन तदर्थ जिल्ला कार्यसमिति पाँचथरको सदस्य पदमा सहमान बिश्वकर्मा र मनिषा आचार्य चयन भएका छन ।

बुधबार बसेको बैठकले बाल संगठन केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम दुई जना नियुक्त गरेको हो । बैठकले संगठनका नाममा रहेको चलअचल सम्पतिको अभिलेख राख्ने र संरक्षण गर्ने कामलाई बढाउने निर्णय समेत गरेको छ ।

बाल संगठनको बिधान २०४९ को धारा ३६ को १ (ङ) बमोजिम सदस्य पदमा मनोनयन गर्ने प्रावधान भएकाले मनोनयन गरिएको बाल संगठन पाँचथरका सभापति कृष्ण ओझाले बताउनुभयो । ओझाको सभापतित्वमा भएको बैठकलाई प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले प्रमुख आतिथ्यता गर्नुभएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा भएका बालबालिकाको अवस्था, स्थानीय तह स्तरबाट तथ्याङ्क संकलन गर्ने र जिल्लाको गुरुयोजना बनाएर बालबालिकाको संरक्षण र न्यायका लागि रणनीतिक योजना बनाई अघि बढ्न संगठनलाई सुझाव दिनुभयो ।

यता बाल संगठन केन्द्रले जिल्ला सभापतिको मनोनयन गरेको यतिका समय बितिसक्ता पनि संगठनको कार्यविधि र योजना, शंसोधित बिधान, संगठन सञ्चालनका अन्य ब्यवस्था तथा आधार नहुँदा अन्यौल भएको जिल्ला सभापति ओझाले वताउनुभयो ।

सदस्यमा नियुक्त विश्वकर्मा लामो समयदेखि मानवअधिकार तथा बालअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने सामाजिक, शैक्षिक तथा लेखनमा समेत सक्रिय आचार्य अनेरास्ववियूको केन्द्रीय सदस्य हुनुहुन्छ ।-मेची पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार