युनियन लाइफद्वारा मृतक राईको परिवारलाई मृत्यू दावी रकम हस्तान्तरण

  नयाँ बुलन्द  545 पटक हेरिएको

माङसेबुङ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाले मृत्यु बीमा दाबी भुक्तानी बापत १४ लाख प्रदान गरेको छ । कम्पनीले जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ नाँगी टोलका मृतक बीमित सुरेन्द्रकुमार राईको परिवारलाई शुक्रबार माङसेबुङ गाउँपालिकामा एक कार्यक्रम गरि दाबी रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र युनियन लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख गोपाल दाहालले मृतककी पत्नी पंचु राईलाई बीमाङ्क दावी रकम १० लाख ५ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरे ।

त्यसैगरि मृतकका छोराहरु निरज राईको २ लाख ६० हजार र निशान राईको २ लाख ५५ हजार बराबरको सीमित भुक्तानी एकल बिमा शुल्क बिमा योजनापत्र कम्पनीका एजेन्सी म्यानेजर कैलाश श्रेष्ठले हस्तान्तरण गरे ।

कम्पनीले मृतकको परिवारले पाउने क्रिया खर्च बापतको १ लाख, शव ल्याउँदाको खर्च बापतको १ लाख र आय नोक्सानी बापतको २ लाख गरि ४ लाख बराबरको रकमबाट १० वर्षे अवधिको लागि मृतकका छोराहरुको सीमित भुक्तानी एकल बिमा शुल्क बिमा गरिएको हो । सोही रकमबाट  निरजको २ लाख १ हजार ७ सय ८ र निशानको १ लाख ९७ हजार ७ सय १४ रुपैयाँ भुक्तानी गरिएको हो ।

१४ वर्षीय निरजले २४ वर्ष पुगेपछि र १२ वर्षीय निशानले २२ वर्षपछि ४ लाख १० हजारका दरले बीमाङ्क रकम प्राप्त गर्ने कम्पनीका इलाम शाखा प्रमुख दाहालले जानकारी दिए ।

गत फागुन २०७६ मा वैदेशिक रोजगारका क्रममा बीमित राईको मलिसयामा निधन भएको थियो । उनी यसअघि पनि ३ वर्ष मलेसिया बसेर १ वर्ष अघि मात्र विदामा घर आएर पुन: मलेसिया फर्किएका थिए ।

चेक रकम हस्तान्तरणपछि गाउँपालिका अध्यक्ष इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले मृतकको परिवारलाई समवेदना व्यक्त गर्दै परिवारले पाएको रकमको सही दुपयोगमा जोड दिएका थिए । जतिसुकै रकमले पनि मान्छेको जीन्दगी किन्न नसकिने भएतापनि दुखद घटना वापतको राहतस्वरुप पाएको रकमको सदुपयोगमा जोड दियो । उनीहरुले बिमा गर्दा सजिलो भएजस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर प्रवेश पराजुली समेतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार