पुर्वी पहाडमा बढ्दो फुटसलको रौनक

  नयाँ बुलन्द  130 पटक हेरिएको


इलाम : भौगोलिक विकटता भएपनि पुर्वी पहाडी जिल्ला इलाममा पछिल्लो समय फुटसलको क्रेज बढ्दै गएको छ । जिल्लाका मुख्य बजारमा फुटसल मैदान निर्माण भएपछि अहिले बालबालिका देखि युवा पुस्ताको आर्कषण फुटसलमा बढदै गएको हो । कोरोना कहरका बाबजुद पनि फुटसल खेल्नेको कमी छैन् पुर्वी पहाडमा ।

फिक्कलका होटल व्यवसायी केशव प्रधान आजकाल विहान दैनिक फुटसल मैदानमा भेटिन्छन् । उनी जस्ता ३० बर्ष हाराहारी उमेर पुगेकाहरुको विहानी समय आजकाल फुटसल मैदान नै हो । पुर्वी पहाडमा फुटसल मैदान खुल्न थालेपछि फुटसल सिक्नेदेखि शारीरिकरुपमा तन्दुरुस्त रहन चाहनेको भिड लाग्न थालेको छ ।  खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिका देखि युवापुस्ताका लागि फुटसल खेल अभ्यास उपयुक्त विकल्प बनेको हो । फुटबलको मिनि संस्करणको रुपमा चिनिएको फुटसल नेपाल प्रवेश गरेको एक दशक पनि पुगेको छैन । तर फुटसल खेल्न धाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ ।

विश्व फुटबल महासंघ फिफाले मान्यता दिएपछि फुटसलका विभिन्न प्रतियोगिता हुँदै आएका छन् । नेपालमा पनि फुटसलप्रति आकर्षण बढ्दो छ । जसका कारण देशभर ३ सयभन्दा बढी फुटसल खुलेका छन् । फुटसलमा फुटबलमा भन्दा कम खेलाडी हुन्छन् । धेरैजसो कुरा फुटबलसँग मिल्ने यस खेललाई फुटसल मैदान र फुटसल बलबाट मात्र खेल्ने गरिन्छ, साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ ।

विश्वजगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गए पनि नेपालमा यो खेल भित्रिएको त्यति धेरै समय भएको छैन । यद्यपि छोटो समयमा नै युवा पुस्ताहरुबीच यसको लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ । इलाममा अहिले सम्म दुई स्थानमा फुटसल खोलीएको छ । जिललाको सदरमुकाम इलाम बजार र सुर्योदयको फिक्कलमा रहेको छ । फुटसल स्थापनाका लागि १ करोड लागत लागेको इलाम सदरमुकामका फुटसल संचालक रोसन राईले बताए ।

निकै छिटो फैलिएको र लगानी पनि एकाएक केन्द्रित भएको यो क्षेत्रले राम्रोसँग खुट्टा टेक्न नपाउँदै कोरोना महामारी र लकडाउनकाको धक्का बेहोर्नुपरेको छ । अहिले फुटसल संचालकहरुले चिनेजानेको बाहेकलाई मैदानमा खेल्ने अनुमति दिन सक्ने वातावरण बन्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार