नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु


नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं : नेपालमा थप चार जनाको कारोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही,अर्घाखाँची,तनहुं र चितवनका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

कात्तिक १ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका रुपन्देहीका पुरुषको गएराति मृत्यु भएको हो ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएका अर्घाखाँचीका पुरुषको हिजो राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

योसँगै रुपन्देहीमा कोरोनाका कारण ५३ जना र अर्घाखाँचीमा ५ जनाको मृत्यु भएको छ । उता, चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।

तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन । यस्तै चितवन रत्ननगर नगरपालिका १३ बस्ने ८५ वर्षीय बृद्धको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

गत मंगलवार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका उनमा हिजो संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार