सिद्धान्त ज्योतिष र फलित ज्योतिष के हो ?

  ज्यो.एकराज दुलाल
0 Shares

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं स चराचरम् ।।

“ग्रहले राज्य प्रदान गर्छन्, ग्रहले राज्य हरण गर्दछ यसरी नै ग्रहद्वारा ब्रम्हाण्ड व्याप्त छ ।”

सामान्यतया ताराहरु प्रकाशद्वारा चम्कने आकाशीय पिण्डहरुको शूक्ष्मातिशूक्ष्म अध्ययन गरिने
शास्त्रलाई नै ज्योतिष भनिन्छ । यद्यपि यस्तो परिभाषाले यो महान् विषय ज्योतिष शास्त्रको परिचय हुदैन भनेर अध्यतनका नवीन ज्योतिषविदहरु भन्दछन् ।

उनीहरुका विचारमा यो समस्त ब्रम्हाण्डको रचना विकास प्रकृयालाई शूक्ष्मातिशूक्ष्म अध्ययन गर्ने शास्त्र हो । समस्त शास्त्रहरुको मूल आधार वेद हो । वेदमा ६ प्रकारका अंग छन् ।

शिक्षा,कल्प,व्याकरण,निरुक्त,छन्द र ज्योतिष । नाक,हात,मुख,कान,पाउ र आँखागरी ६ वटा अंग छन् वेदमा ।

यसैक्रमले ज्योतिष शास्त्र वेदको चक्षु मानिन्छ । वेदको मुख्यतया एउटा कार्य यज्ञ सम्पादन गर्नु पनि हो । यज्ञका लागि समय चाहिन्छ |उक्त समय ज्योतिषबिना कुनै शास्त्रले ठहराउन सम्भव हुँदैन ।

जसरी मानिसको हात,पाउ सम्पूर्ण अवयव भएर पनि आँखा नभएमा राम्ररी कार्यसम्पादन गर्न सकिँदैन त्यसरी नै ज्योतिष शास्त्र बिना कुनै शुभाशुभ कार्य यज्ञयागादि सम्पन्न गर्न सकिँदैन । त्यसैले अहिलेको समयमा ज्योतिषको महत्व अतिनै बढेको छ । प्राचीन अर्वाचीन ज्योतिषहरुले यस शास्त्रलाई दुई भागमा विभाजित गरेका छन् ।

१ सिद्धान्त ज्योतिष
२ फलित ज्योतिष

शिद्धान्त ज्योतिषमा देखिने नदेखिने गणित,ग्रहस्पष्ट,ग्रहज्ञान,अक्षांश,देशान्तर,दिनमान,दिशाज्ञान,कालज्ञान,घडी निर्माण,प्रयोग विधि आदि वर्णित गरिएको छ । सम्पूर्ण विज्ञानको मूल कारण नै सिद्धान्त ज्योतिष हो । फलित ज्योतिषमा ग्रह ताराको स्थिति ज्ञान त्यसबाट मनुष्यको जीवन तथा जगतको अध्ययन सम्पूर्ण विश्वघटना आदि फलादेश गर्ने तरिका रहेको पाइन्छ ।

फलितले मानव जीवनको समस्त घटना यथार्थ विवरण प्रस्तुत गर्दछ । संस्कार यात्रा विभिन्न कार्यका निम्ति सफल असफल फलादेश यसैबाट गरिन्छ ।

यसले गर्दा मूहुर्त अनुरुप कार्य गरे सफलता मिल्छ भन्ने पूर्ण विश्वास रही आएको छ । अत के साधारण मानिस,के राजनीतिज्ञ,के व्यापारी,के उद्योगी सबैले ज्योतिषशास्त्रलाई विश्वास गरेकै देखिन्छ ।

यति सम्म कि पाश्चात्य विद्वान दार्शनिकलेपनि यस शास्त्रलाई सहर्ष स्वीकारेका देखिन्छ । विकसित मुलुकमा भने फलित ज्योतिषको अपेक्षा शिद्धान्त ज्योतिषलाई नै प्राथमिकता दिएको प्रष्टिन्छ ।

यसैबाट वैज्ञानिकहरुले ठूलो उन्नति गरेका छन् वर्तमान युगका विकसित मुलुकमा रहेका आधुनिक ज्योतिषीहरुले यसको सहायताले ग्रहहरुको अध्ययन यन्त्र निर्माण नवीन गणित सिद्धान्तको विकास गरेर ग्रह ताराको आदिको स्थिति विषयमा अध्ययन अनुसन्धान गर्दछन् र उपग्रह प्रक्षेपण आदि पनि गर्दछन् ज्योतिषमा अनेक विभाग रहेका छन् ।

ग्रह रचना ज्योतिष,गोलीय ज्योतिष,उड्डयन् ज्योतिष,क्रियात्मक ज्योतिष,स्थल ज्योतिष,नाबिक ज्योतिष,भूमापन ज्योतिष,वर्णनात्मक ज्योतिष,ब्रम्हाण्ड विज्ञान ज्योतिष,सृष्टितत्व ज्योतिष आदि-आदि मुख्य विभाग रहेका छन् ।

हाम्रो नेपाल देशमा शिद्धान्त ज्योतिषको आधारमा नै पञ्चाङ्ग निर्माण गरिन्छ । पञ्चाङ्ग अनुरुप हाम्रा सबै कार्य एवं व्यवहार चल्ने गर्दछन् । पञ्चाङ्गको अभावमा त हाम्रो संस्कृति मात्र अवरुद्ध हुँदैन अपितु सबै धार्मिक,सामाजिक र सांस्कृतिक चाडपर्वहरु अव्यवस्थित हुन्छन् ।

परन्तु शुद्ध पञ्चाङ्ग निर्माण पछि गणित शास्त्र अध्ययन गर्नाले सम्पूर्ण जीवन जगतको गति अनुभव या फलादेश गर्न सकिन्छ ।

तसर्थ ज्योतिष शास्त्र आजको कोलाहलपूर्ण अव्यवस्थित समाजका निम्ति राष्ट्र,समाज र व्यक्तिलाई चरित्रवान् बनाउन सहयोग गर्ने शास्त्र ज्योतिष हो भन्दा अत्युक्ति नहोला । यद्यपि यसलाई प्रचारप्रसार,संशोधन,परिमार्जन र सर्वसाधारणको पहुँचसम्म पुर्याउनु आजको टड्कारो आवश्यकता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार