इलाम : नेपाल सरकारले घोषणा गरेको नेपालका एकसय पर्यटकीय स्थल मध्ये इलाम जिल्लाको सन्दकपुरमा पछिल्लो समय हिमाल हेर्ने पर्यटकको रोजाइ बन्न थालेको छ । सूर्योदय तथा हिमश्रृंखलाहरुको दृष्यावलोकनका लागि उत्कृष्ट स्थान मानिने सन्दकपुर दशैँ तिहार नजिकिए संगै आकाश पनि खुलकोले पर्यटकको मन सन्दकपुर डाँडाले तान्न थालेको हो ।
इलाम जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको पर्यटकीय हिसावले उत्कृष्ट मानिने सन्दकपुरमा आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको छ । समुद्र सतहबाट तीन हजार छ सय ३६ मिटर उचाइमा रहेको नेपालकै महाभारत पर्वतको सर्वोच्च शिखरमा पर्ने सन्दकपुरबाट तीन देशका हिमशृङ्खलाको दृष्याअवलोकन गर्न पर्यटकहरु उक्त स्थानमा पुग्ने गरेका छन् । सन्दकपुरबाट देखिने सूर्योदयको दृष्य कुनै अक्षरबाट वर्णन गर्न सकिँदैन जुन त्यहाँ पूगेर सूर्योदयको दृष्यावलोकन गरेपछि जोकोहीले मनन गर्ने गर्दछ । क्षितिजबाट उदाउने सूर्य, ताँती लागेर उभिएका हिमालहरुमा घामको झुल्को पर्दा देखिने सुनौलो आकृति र सफा नीलो आकाश देख्दा आनन्दको अनुभुति हुने स्थानीय दिनेश ढकालको भनाइ छ ।
ढकालका भन्नुहुन्छ “सन्दकपुरमा बर्शेनी हजारौ पर्यटक आउने गरेका छन् तर यस पटक भने कोरोना कहरका कारणले खासै पर्यटकहरु भित्रन सकेको छैन्न । पछिल्लो समय लकडाउन खुलेसगै मौसम पनि खुलेपछि आन्तरिक पर्यटकहरु भने सन्दकपुर फाट्फुट्ट जान सुरु गरेका छन् । ”
यहाँ विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुर जस्ता पशुपक्षी पाइन्छन् । सन्दकपुरले सूर्योदय ,सूर्यास्त तथा प्रकृतिको अनुपम छटाहरुको दृष्यावलोकनका गर्नका लागि पछिल्लो समय विश्वभर प्रसिद्धि कमाउँदै गएको छ । यहाँबाट अत्यन्तै मनमोहक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण लगायतका हिमालहरु आँखाभरी हेर्न सकिन्छ भने भारत,भुटानका हिमशृङ्खलाको दृष्याअवलोकन समेत सजिलै गर्न सकिन्छ ।
नेपालका हिमाल, पहाड, तराईका कैयौँ जिल्लाहरु आफ्नै वरिपरि भएको भान हुन्छ । विहान देखिने सूर्योदय र साँझमा देखिने सूर्यास्तको दृष्य, रातको समयमा खुला आकाशमा देखिने तारापुञ्जहरु नियाल्न सकिने बत्ती नै बत्तीका शहरहरु प्रकृतिले कुदेका पत्थरहरु अनि हिउँद याममा प्रशस्त मात्रामा पर्ने हिउँ खेल्न समेत पटकपटक बाह्य तथा आन्तरिक पर्यटकहरु सन्दकपुर पुग्ने गरेको पर्यटकहरुको भनाइ छ । यहाँ नेपाली भूभागमा कम होटल छन् । भारतीय भूभागमा धेरै होटल छन् । इलाम–दाजिलिङ सीमामा रहेको सन्दकपुरमा नेपालतर्फ व्यवस्थित २ वटा होटल छन् भने पाँचथरको सिमा क्षेत्रमा होमस्टेको प्रयास थालिएको छ ।
भारततर्फ पश्चिम बंगाल क्षेत्रमा पर्यटकलाई आवासगृह, होटलसमेत छन् । नेपाली भूभागको बाटोसमेत चुस्त नभएका कारण अधिकांश नेपालीहरु समेत भारतीय बाटो हुँदै सन्दकपुरसम्म पुग्न बाध्य छन् ।
नेपाल भारतको सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलो मीटरमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा समेत पर्यटक रोकिने गर्छन । नेपालकै बाटो भएर पनि सन्दकपुर पर्यटकहरु पुग्ने गरेका छन् । सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । कन्काई माईको उद्गमस्थल सन्दकपुर तीन हजार ६ सय ३६ मिटरको उचाइमा रहेको छ ।