नेकपा नेतृत्व फेरि असफल

kp oli prachanda

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व पार्टी एकताका बाँकी काम टुंगो लगाउन फेरि असफल भएको छ ।

गएको भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले एकताका बाँकी काम सम्पन्न गर्न असोज मसान्तसम्मको समयसीमा दिएको थियो ।

तर, स्थायी कमिटीको ‘म्यान्टेड’अनुसार काम हुनुको सट्टा नेकपामा नयाँ–नयाँ विवाद देखिन थालेका छन् ।

विभाजनको संघारमा पुगेको पार्टीलाई जोगाउन सफल भदौ २६ गतेको स्थायी कमिटी बैठकले एकताका बाँकी काम असोज मसान्तसम्म टुंगो लगाउन समयसीमा तोकेको थियो ।

स्थायी कमिटीका निर्णय र सोही आधारमा भदौ २९ गते पार्टीको आन्तरिक एकताको लागि जारी १५ बुँदे सहमतिपत्रको मुख्य बुँदामध्येको एक पार्टी एकताका बाँकी काम टुंगो लगाउने समयसीमा नै गुज्रिएको छ ।

स्थायी कमिटीको उक्त बैठकको निर्णयहरुलाई नेताहरुले नयाँ ‘कोर्ष’को थालनीको संज्ञा दिएका थिए ।

तर, एक महिना बितिसक्दा पनि अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष दिनबाहेक कुनैपनि बुँदा कार्यान्वयनमा आउन सकेको छैन ।

स्थायी कमिटीले निर्णय कार्यान्वयनको जिम्मेवारी सचिवालयलाई दिएअनुसार असोज ६ गते बसेको सचिवालय बैठकले एकताका बाँकी काम टुंगो लगाउने गरी मस्यौदा ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दियो । तर, अध्यक्षद्वय र महासचिव पनि एकताको खाका ल्याउन असफल भए ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले निर्णय कार्यान्वयन नहुनुको जिम्मा सचिवालयले लिनुपर्ने जिकिर गर्नुभयो ।

अर्का स्थायी कमिटी सदस्य मणि थापा पनि मुख्यगरी नेतृत्वको इच्छाशक्ति र केही परिस्थितिजन्य कारण पनि एकता टुंगो लाग्न नसकेको बताउनुहुन्छ ।

हुन त एकता प्रक्रिया टुंग्याउनेबारे समय तोकेरै दिएको म्यान्डेट यो पहिलो भने होइन । २०७५ साल जेठ ३ गते पार्टी एकता घोषणा गरिरहँदा तीन महिनाभित्र एकताका सम्पूर्ण काम टुंगो लगाइसक्ने घोषणा गरिएको थियो ।

दोस्रोपटक गएको माघ १५–१९ गतेसम्म काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने म्यान्डेट दिएको थियो ।

तोकिएको समयसीमाभित्र म्यान्डेट कार्यान्वयन हुनुको सट्टा पार्टीमा एकपछि अर्को विवाद देखिन थालेको छ ।

हुन त अध्यक्षद्वय ओली र दाहालबीच हुने छलफलमा एकता टुंग्याउनेभन्दा मन्त्रिमन्डल पुनर्गठनका एजेन्डाले प्राथमिकता पाइरहेको छ ।

पार्टी एकीकरण भएको २८ महिनासम्म पनि एकताका सम्पूर्ण काम टुंगो लाग्नुको सट्टा पार्टीभित्र नयाँ विवाद देखिन थालेका छन् ।

स्थायी कमिटीको निर्णयअनुसार असोज ३० गते अर्थात् शुक्रबार एकताका सबै काम सम्पन्न भएको घोषणा गरिसक्नुपर्ने थियो । तर, त्यो असफल भएपछि शीर्ष नेतृत्वप्रतिको विश्वास र प्रतिबद्धतामाथि पुनः प्रश्न उठाउने मार्गप्रशस्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार