थोरै गफगाफ इलामको पर्यटकीय आधारको बारेमा

  अन्वेश राई थुलुङ्ग
0 Shares

डिस्केल्मरः
कथाजस्तो देखिए नी नझुकिनुहोला । यो कथा हैन ।

कुरा ७५ सालतिरको हो क्यार । हामी गोर्खाको खोर्ला गाउँ आएका थियौँ । बुढीगण्डकी किनारमा रहेको खोर्लाबेसिँ मनास्लु ट्रेकिङ्ग रुटमा पर्ने एउटा गाउँ हो । अजंग पहाडहरु बुढी गण्डकीको किनारछेउबाट उम्रेर आकाशको जरासम्म पुगेजस्तो देखिन्थ्यो । हुनलाई यो लेख लेख्दासम्म पक्का सडक खोर्ला बेसी सम्म पुगिसक्यो होला । वा पुगेर पनि कटिसक्यो होला । र यो लेखको सुरुवात त्यहिँ स्थानबाट सुरु हुन्छ ।

खोर्लाबेसिँमा रहँदा मैले एक युवतीलाई सोधेको थिएँ । ‘‘कतिवटा बाख्रा पाल्नुहुन्छ ?’’ आफ्नै शैलीमा ती गुरुङ्गसेनी (त्यो वस्तीमा गुरुङ्ग मात्र थिए ।) ले पनि मुस्कान सहित जवाफ दिइन् । ‘‘धेरै त पाल्देन है ।’’ ऋषि धमला जसरी मैले पनि थपिहालेँ । ‘‘कतिवटा ?’’ तर जनता जान्न चाहन्छन् भने मुखबाट फुत्काइभने हालिन । उनले आफैँलाई गम्भीर बनाउँदै भनिन् । ‘‘पच्चीस वोडा मात्र पालेगो छ ।’’ मैले आश्चर्यचकितम् मुद्रामा अविश्वासमा हेरेँ । मुस्कानले फ्याक्ट पुनः चेक पनि गरि हेरेँ । तर त्यहाँका उकालो हेर्दा हेर्दै, थकाउने पहाडहरुजस्तै उनी अटल रहिन् । र यसरी मलाई उनको उत्तर मान्न बाध्य नै बनाइयो । ‘‘पाल्नेले त तीन चार सय वोडा सम्म पाल्छ नी ।’’ यसबाट मैले बुझेँ वास्तवमा उत्तर नपत्याएको मेरो ठाउँको सापेक्षताले रैछ । इलामे हुनाले मैले उनलाई पत्याइन । मनमनै ‘गफ लाइन सोल्टिनीले’ जस्तो लाग्या हो सुरुमा । तर त्यताको सिस्टम नै त्यस्तो रछ । ‘इट्स ह्यापन अन्ली अन दिस एरिया’ भन्ने कुरा वास्तवमा मीठो कुरा रछ ।

उनैले भनेकी थिइन् खोर्लासम्म दुइ घण्टामा पुग्नुहुन्छ । त्यसबेला रातो बर्किमाथिको गालाहरु राता भए पनि चहकिला भएका थिए । मुस्कान भन्ने कुरा टर्चलाइट नै होला । मेरो मनभित्रको साह«ै अँध्यारो कुना पनि उज्यालो भइहाल्यो । र उनले बताएजसरी खोर्ला पुग्न हामीलाई ठ्याक्कै दुइमा तीन घण्टा थपेर पाँच घण्टा लाग्यो । सामुन्ने रहेका नाङ्गो बस्तीहिन डाँडाहरु तल देखिरहेको बुढीगण्डकी अनि गहिरा पहराहरु हेर्दै हामी खोर्ला पुगेका थियौँ । लगभग तीस चालिसवटा खच्चरहरु बाटोमा भेट भए । हतार भएर होला न नाम ठेगाना उनीहरुले सोधे न हामीले ।

लेकको गाउँ । त्यहिँ भेटेका थियौँ एक युवा जसले मेरो ठेगाना इलाम भन्ने थाहा पाएपछि उसको सानो कहानी सुनाएको थियो । फेसबुकमा उसको इलामे चेलीसँग भेट भएको रहेछ । प्रेमको मामिला हो कि के हो थाहा भएन । तर घुमराडीमा बेरिएका ती युवाले इलामको बारेमा एक कुरा सोधे । ‘‘इलामको माटोमा त बिउ थुके पनि फल्छ रे हो ?’’ म हाँसे मात्र । यस्तो बखान त मैले सुनेकै रैनछु । गम्भीर भएर सोच्दा हो जस्तो पनि लाग्यो फेरी त्यो इलामे बैनीले यस्तो सोझो मान्छेलाई तर्काउन खोज्या हो जस्तो पनि लाग्यो । (मैले इलामे चेलीलाई कुराले उडाउन खोज्या चैँ हैन ।) यद्यपी उनको आउने चाहनालाई मारिन । लेख लेख्ने सुर यहि दिनबाट चलेको थियो तर सकिएन । यहि प्रसंगले हौस्यायो पनि नभनौँ । यहाँबाट लेख्न मन भको चैँ हो ।

डिस्क्लेमरः अब फ्रेसहुन भको हो भने केहि सिरियस गफमा जाऔँ ।

दोस्रो घटना भने म काठमाँडौ रहँदाको हो । विश्वमा कोरोना महामारी फैलन अघि, पर्यटन वर्ष २०२० को बेला नेपाल सरकार २० लाख पर्यटक नेपाल भित्र्याउने सुरमा थियो । यस्तोमा मेरो विचार भने अलि आफ्नै पराको भइगयो । भनुम न् जता बसे पनि हजुर इलाम रमाइलो खालको । यदि २० लाख पर्यटक नेपाल भित्रे कति इलाम जिल्लामा पुग्लान् ? १ लाख ? २ लाख ? पचास हजार ? कति ? यतिमा नी इलाम नगरपालिकाभित्र कति पर्यटक भित्रेलान् ? यहि सवाल मैले अन्य जिल्लाका साथीहरुलाई पनि सोधेँ । उनीहरु पनि यसमा आफ्नो जिल्लाको पर्यटन मोडललाई विश्वास गर्न असमर्थ थिए ।

हरेक पर्यटनको आ–आफ्नो पर्यटकीय आधार हुन्छ । कर्ण शाक्य आफ्नो पुस्तक सोचमा बताउँछन् विश्वको पर्यटन पाँच ‘एस’ (सेन्ड, सन, सेक्स, स्पोस्र्टस र सि ) मा आधारित छ । पहिलो प्रश्न यहिँबाट गरौँ ? नेपालमा यसका आधारहरु कति छन् ? नेपालको पर्यटनलाई विभाजन गर्ने हो भने अधिकांश पर्यटक पर्वातारोहणको कारणले आएको देखिन्छ । अब यसलाई अलिकति स्थानिय बनाऔँ । इलामको पर्यटकीय आधार यी मध्ये केमा पर्छन् ? अझ इलाम नगरपालिकाकै सवालमा आत्मासात् गरौँ ।

इलामको पर्यटनलाई मध्यनजर गर्दा मैले दुइ आधारबाट फाइदा लिन सक्ने प्रचुर सम्भावना देखेको छु । जुन अनयत्रका जिल्लाहरुले स्थापित गर्न वा कपि गर्न सम्भव छैन । यहि दुइ आधारलाई सम्भावनाको रुपबाट लिएर जाँदा कसो होला ? र ती दुइ आधार हुन् ।
१) ऐतिहासिकता
२) जलवायु
१) ऐतिहासिकताः
पर्यटनको मामलामा विशेष रहनुले एकदम महत्व राख्छ । यस मानेमा इलामसँग अग्ला हिमाल छैन । ठूला तालतलैया छैन । ठूलो नाम चलेको तिर्थस्थल छैन । त्यसैले इलामको पर्यटनलाई हामीले यहाँबाट सुक्ष्मगरि हेर्न जरुरी छ जस्तो लाग्छ । इलामको शक्तिशाली पक्ष के हो ? चियाबारी छाडी हामी अरु के के कुरालाई मान्न सक्छौँ । धेरै कुराहरु हाम्रा आँखा अगाडी भएर पनि हामी देख्न असमर्थ छौँ । जुन कुराले इलामलाई अन्य स्थानहरुको तुलनामा विशेष बनाउँछ ।
पहिलो कुरा इलाममा आउने पर्यटक कस्ता खाले छन् भन्ने प्रसंगबाट जाऔँ । विशेषतः इलाम आउने पर्यटकहरु आन्तरिक रहेका छन् । यसमा धेरै अध्ययन भ्रमण र सहकारी भ्रमण गर्नेहरु देखिन्छ । उनीहरुको लागि हामीले दृश्यावलोकलाई फरक केहि गर्न सक्छौँ ?

दृश्यावलोकनमा ऐतिहासिक पृष्ठभुमीः

यदि पाटन र भक्तपुरबाट हामीले उनीहरुको इतिहासलाई झिकिदिने हो भने त्यो कस्तो स्थान बन्छ होला ? देशमा भएको विभिन्न राजनैतिक, सामाजिक कालखण्डले इलामको इतिहासलाई झण्डै दुइ सय वर्ष पुरानो बनाउँछ । तर त्यसभन्दा अघि पनि इतिहास हेर्ने हो भने इलाममा लिम्बू, लाप्चा जातिहरुको बसोबासलाई अझ पुरानो मान्न सकिन्छ । यस्तोमा इलामले यी सांस्कृतिक, राजनैतिक, सामाजिक कालखण्डहरुलाई टेकि पर्यटनका पुर्वाधारहरु निर्माण गर्न सक्छ जस्तो लाग्छ ।
जस्तो उदाहरणको लागि, इलाम सुगौली सन्धीपछि खलंगाको रुपबाट परिचित थियो । यहि खलंगालाई हामीले पर्यटनको आधार बनाएर एक घुम्न लायक ठाउँको रुपबाट निर्माण गर्न सक्छौँ । जस्तो इलाम दरवारलाई हाल म्युजिम बनाईएको छ यसरी नै अन्य पुराना भवनहरुलाई पनि हामीले इलामको सम्पदाको रुपबाट महत्व दिन सक्छौँ । यद्यपी नामाकरणको सन्दर्भमा हामीले इतिहासलाई स्थानियकृत गर्नै पर्छ जस्तो लाग्छ ।
माइस्थान छेवैमा एक धारा छ । यो धाराको ढुङ्गाहरु इलामविद् युद्धप्रसाद वैधका अनुसार करफोकबाट वडाहाकिमले बोकाएर ल्याएका थिए । हेर्दैमा पनि अजंगका ती ढुङ्गाहरु कसरी त्यहाँबाट यहाँसम्म बोके ? यो आफैँमा ऐतिहासिक घटना हुनसक्छ । यहि कुरालाई हामीले नोटिस राखिवरि एउटा साइटको रुपबाट निर्माण गरिदिन सक्छौँ । इलाम वरिपरि रहेको मठमन्दिरहरुको पनि राम्रो व्यवस्थापन गरि पुजाको सामाग्रीहरु मन्दिरमै उपलब्ध हुने व्यवस्था गर्न सके यसले धार्मिक पर्यटकहरुलाई आर्कषित गर्ने थियो । इलाममा रहेका मन्दिरको घण्टी, छेउछाउका धाराहरु समेतले पर्यटनको निम्ति ऐतिहासिक उत्खनन् सहित व्यवस्थापन गर्ने हो भने राम्रो साइटहरु बन्न सक्छन् ।

 पर्यटनभित्र सामाजिक पृष्ठभुमी

सामाजिक रुपबाट जुन बेला नेपाल वर्णिय र लैगिंक रुपले विभेदको चरमता थियो । त्यसबेला इलामले कन्या पाठशाला खोलिसकेको थियो । जुन आफैँमा एक गौरवपुर्ण इतिहास हो । सरस्वती कन्या स्कुलको त्यो गौरवपुर्ण इतिहासलाई हामीले विश्वसामु नै राख्न सक्छौँ । जुनबेला नेपालको साक्षरता २ प्रतिशत थियो त्यसबेला इलाममा कन्या स्कुल खोल्नको लागि नाराजुलुस लगाइएको थियो । यति मात्र हैन जातिय छुवाछुतको चरमताको बेला काले दमाईले बनाएको पुल र उसको सामाजिक गतिविधिको चर्चा हामीले प्रतिमै बनाएर गर्न सक्छौँ । यसमा इलामका धेरै समाजसेवी र व्यक्तित्वहरु छन् । जस्तो धनरुप थेबे, रणवीर गुरुङ्ग, रघुवीर बुढाथोकी आदि जस्ता सामाजिक व्यक्तिहरुको इतिहासलाई मात्र बताउन सके त्यो आफैँमा इलामेहरुको छवि उचो बनाउने इतिहासहरु हुन्छ जस्तो लाग्छ । यस्ता कुराहरुको उचित खोज अनुसन्धान गरि हामीले इलामको ऐतिहासिक प्रचार गर्न सक्छौँ । यसले हाम्रो स्थानको ब्रान्ड बनाउन धेरै मद्दत गर्छ जस्तो लाग्छ ।
यस्तै इलामको सांस्कृतिक पक्ष पनि एकदम बलियो छ । जातिअनुसारका पुराना घरहरुलाई मात्र मध्यनजर गर्ने हो भने पुवाखोला पारी र माईखोला पारी अनि इलामका घरहरु धेरै फरक छन् । यी घरहरुलाई पनि हामीले संरक्षण गर्न सकेको खण्डमा पर्यटनहरुको आधार यी पनि बन्न सक्छन् जस्तो लाग्छ । लाइभ म्युजियमलाई यी समाजशस्त्रिय अध्ययनसँगै अगाडी बढाउन सकिन्छ ।

इलाम नगरपालिका

इलाम बजार तात्कालिन गोर्खाली सेनाहरुले बसाएको बजार हो । (इलाम जिल्ला भनेर नबुझियोस् ।) सिलिखान, भीमसेनस्थान, टुँडिखेल, आदि स्थानहरुको राम्रो सोध हुन सके आन्तरिक अध्ययन पर्यटकहरुको लागि घुम्ने स्थानहरुको रुपबाट यी विकसित हुन सक्छन् । पुरानो बसाईको स्थितिलाई केलाउने हो भने त्यसबेलाको समाज र सामाजिक मानसिकताको चित्र प्रष्ट आउँछ । यसले इलाम बजार वरिपरि जात विशेषको क्लष्टर बनाएको छ । यस्तोमा ती स्थानहरुमा बसोबास गर्ने सबैभन्दा पुरानो र प्रभावशाली मानिसको प्रतिमा बनाउन सके यसले पनि स्थानको गरिमा बढाउँथ्यो होला । र यसले भावी पुस्तामा समेत आफ्नो इतिहासको विषयमा चासो रहिरहन्थ्यो होला । यसले वर्णीय रुपबाट इलामको छविलाई उदाहरणीय बनाउने थियो जस्तो लाग्छ ।
बजारमा रहेका घरहरुको आयु हेरि पुराना रहेको घरलाई संरक्षण गरि कलर कोड गरि संवर्दन गरेर यसैलाई पनि ऐतिहासिक महत्वको धरोहर बनाउन सकिन्छ । पाल्पाको भैरव मन्दिर हेर्न जाँदा ती कुराहरु देख्न सकिन्छ । बनावटको हिसावले इलामका पुराना घरहरु केहि विशिष्ट देखिन्छन् । इलाममा ऐतिहासिक समाजसेवी र स्रष्टा नामक पुस्तकमा महेन्द्र थेवेद्धारा लेखिए अनुसार इलाममा बजारका अधिकांश घर र भौतिक संरचनाहरु दावाछिरिङ्ग र आलुपासाङ्गले बनाएका हुन् । यदि ती घर आजसम्म पनि भए ती घरहरुको आयु निकै हुनसक्छ । यसभित्र राम्रो इन्टेरियर र सजावट गरि इलामे मौलिकतालाई कायम राखि होमस्टेहरु सञ्चालन गर्न सकिन्छ ।
 

ऐतिहासिकता सहितको साइट निर्माण

इलामको सवालमा साइट निर्माणको एक राम्रो उदाहरण हो । भालुढुङ्गा । यसको एक मिथक छ । मिथक अर्थात इतिहास । कसैले सोधेको खण्डमा हामी सहजै बताउन सक्छौँ । हामी यो कुराको आधार बनाएर यसलाई प्रचार गरिहेका छौँ । विकास गरिरहेका छौँ । हरि गुरुङ्ग, प्रविण श्रेष्ठ लगायत केहि इलामेहरु यसलाई ज्यान दिएर लाग्नुभएको छ । यो सह«ायनिय कुरा हो । यससँगै यहाँभित्र वहाँहरुले पर्यटनको आयाम पनि थपिरहनु भएको छ । इतिहासलाई टेकेर बनाएको यो साइटको महत्व के भनेर सोध्दा उत्तर आफैँ पाइन्छ ।

 इलाम विशेष खेल, उत्सवहरुमा ऐतिहासिक पृष्ठभुमी

माइबेनी स्थापनाको कुरामा सन्तवीर लामाले आफ्नो पुस्तकमा यसको स्थापना इलाम सदरमुकामको स्थापना पुर्व भनेर जनाएका छन् । धार्मिक रुपले स्थापित यो मेलालाई हामीले अझ बलियो बनाउन सक्छौँ र पर्यटनको लागि आकर्षक पर्वको रुपबाट बनाउन सक्छौँ । इतिहासलाई नियाल्ने हो भने कुनै समय नाम्सालिङ्ग, सोयाङ्ग, इलाम बजार लगायतबाट मानिसहरु यहाँ मेला भर्न आउँथे । नाङ्गो खुट्टा, खाँडीको खास्टो, आदि पुराना कुराहरुलाई हालको समय हामी मेलामा पाउन सक्दैनौँ तर यो मेलालाई हामीले फेरी पुरानो संरचना जसरी नाङ्गो खुट्टा, खाँडीको खास्टो ओड्ने पुरानै शैलीबाट बनाउने हो भने यसले पर्यटनको सम्भावनाहरुलाई फेरी बढाउन सक्छ । जस्तो युरोपमा टमाटर फ्याल्ने पर्व मनाइन्छ । वा भारतको गंगामा महाशिवरात्री । इलाम बजारमा पनि महोत्सवको बेला हामीले पुरानो मेला जसरी नै संरचना गर्दा यसको मौलिकता झल्कन सक्छ । सजाइम् फोटोहरु राखिदिम्, पहिरनहरु लाइदिम् भने यसले सिर्फ पर्यटक मात्र जोड्दैन । इलामेहरुलाई आफ्नो इतिहाससँग वर्षौँसम्म जोड्नेछ ।

इलामका हाउजी, फुटबलको इतिहास पनि चाखलाग्दो छ । यसलाई पनि हामीले उत्सव सरह बनाउन सकेको खण्डमा यसले पर्यटनलाई अवश्य नै बढाउनेछ ।
समग्रमा हेर्ने हो भने कतिपय कुरामा इलामले नेपालभित्रका धेरै जिल्लाहरुभन्दा पुरानो इतिहास बोकेको छ । यसमा हामीले हाम्रो ऐतिहासिक मिथक र कथाहरुलाई राम्रोसँग अध्ययन गरेर हालको समय संरचना गरेको खण्डमा पर्यटकीय रुपबाट धेरै ठाउँहरुलाई साइटको रुपबाट विकास गर्न सक्छौँ जस्तो लाग्छ ।

२) जलवायु

भौगोलिक हिसावले बंगालको खाडीसँग इलाम नेपालको सबैभन्दा नजिक रहेको पहाडी जिल्ला हो । प्रायः हुस्सु लागिरहने इलाम आफैँमा कुनै बादलपारीको देश जस्तो बनिदिन्छ । जलवायुको हिसावले अन्य जिल्ला भन्दा धेरै नै पृथक छ इलाम । भनौँ न इलामको जस्तो मौसम अरु जिल्लाले बनाउने कुरा आउँदैन । प्राकृतिक ‘एडभान्टेज’ हो यो ।

वर्षा पर्याप्त हुनाले यहाँ खोला, खोल्साहरु प्रसस्त छन् र यसको कारण इलामको माटो मलिलो छ । यसले गर्दा यहाँ विभिन्न किसिमका गुणस्तरीय वस्तुहरु उत्पादन गर्न सकिन्छ । सन्तवीर लामाले समेत आफ्नो पुस्तक इलाम दर्पणमा इलामको मिलेको जमिन र मलिलोपनाबाट पर्याप्त उत्पादन लिई विदेशी मुद्रा आर्जन गर्न सक्ने बताएका थिए, उतिबेलै । जतिबेला कलकत्ता भारतको राजधानी थियो । यद्यपी जमिन फेरी पनि सिमित रहेको हुँदा इलामले ‘मास प्रडक्सन’ गर्न सक्दैन तर ‘गुणस्तरीय प्रडक्सन’ गर्न सक्छ कि । यसमा रणनैतिक रुपबाट विज्ञहरुलाई साथमा लिएर हामी जान सक्छौँ ।

 पृथक किसिमका वनस्पति र प्राणीहरु

इलामको माइपोखरीमा एकखालको झ्याउ पाइन्थ्यो । जसलाई गलैँचे झ्याउ भनिन्थ्यो । त्यहाँका स्थानिय अनुसार त्यो झ्याउमा बसाईँ सरि आउने हाँसहरु बस्ने गर्थे तर अहिले त्यो लोप हुने अवस्थामा छ । अध्ययन गर्दै जाँदा त्यो इलाममा मात्र पाइने झ्याउ थिएछ । त्यस्तै डा. के.आर खम्बूले पत्ता लगाए अनुसार इलाममा उसले इलाममा मात्र पाइने विशेष प्रजातिको भ्यागुतोहरु पत्ता लगाए । जस्तो ‘लेकाली टिकटिके पाहा’(न्यानाराना पाटेनागिेन्सिस), ‘मालिङ्गे पाहा’(पा–पाटेनागेन्थिस) । यी दुइ प्रजातिमा इलामको पाटेनागी भनेर नामाकरणमा स्पष्ट राखिएको छ । जो इलाममा पर्छ । माइपोखरीमा पाइने पानी कुकुर भन्ने एक किसिमको सालामाण्डर इलाममा मात्र पाइने प्रजाति भनेर भनिएको थियो ।

कमल कुमार साङ्गपाङ्गको पुस्तक डब्लुडब्लूएफको सहयोगमा लेखिएको पुस्तक माईपोखरीमा लेखिएअनुसार इलाममा १८ प्रजातिका सुनाखरी पाइन्छ । यसै पुस्तकमा स्थानियहरुका अनुसार एक गाढा रातो खालको सुनाखरीको प्रजाति भने देखिन छाडिएको लेखिएको छ । त्यस्तै इलामको मंगलबारेमा विश्वकै अग्लो लालीगुँरासको प्रजाति पाइने कुरा हामीले हाजिरीजवाफमा कतिपल्ट सुनेका छौँ । यसैको समेत प्रचार हामीले राम्ररी गर्न सकेका छैनौँ ।

हाम्रा अध्ययनहरुको अभावमा अझै यस्ता रैथाने कति प्रजातिहरु हाम्रै वरिपरि फुलिरहेका वा डुलिरहेका होलान् । अथवा पौडिरहेका होलान् । राम्रोसँगले वातावरणीय अध्ययन गर्न सकेको खण्डमा विश्वको अध्ययनकर्मीहरुलाई इलामले आकर्षित गर्न सक्छौँ । यसमा यो लेख रिसर्च गर्ने क्रममा एउटा एकदम दुःखद इतिहास मैले पढेको थिए । त्यो के भने, इलामको एक स्थानिय जातको गाई थिएछ जसले उत्पादनको हिसावले धेरै दुृध दिन्थेछ ।

‘सिरि गाई’ जो इलाममा मात्र पाइन्थ्यो । अघिल्लो चोटी १०८ वर्ष पुगेका टंकनाथ भुर्तेलसँग बातचित गर्न जाँदा उनले आफ्ना अुनभव सुनाएका थिए । त्यसबेला दुइ किसिमको गाई पाइन्थ्यो । एउटा बेलायती अर्को सिरि । सिरिले बढि दुध दिन्थ्यो । उचित ज्ञानको अभावमा हाल इलाममा मात्र पाइने उक्त नश्ल इलामभरि कतै छैन । सभ्यताको ‘इन्फेरियेरिस कम्प्लेक्स’ भनुँ न यसलाई ।
हाल पनि हामी विकासे जात भनेर स्थानिय जातका पशुप्राणीहरुलाई कम आँकीरहेका छौँ । तर जुन प्राणीले यो माटोमा वर्षौँसम्म संघर्ष गरेर आफ्नो शरिरलाई यो वातावरण अुनुकल बनाइसक्यो उसलाई हामीले किन अध्ययन गरिरहेका छैनौँ ।
सर डा.योगेन्द्र मान श्रेष्ठका अनुसार, ‘‘वोयर भन्नुबित्तिकै लाख रुपैयाँ परेको बाख्रा भनेर हामी त्यहि अनुसारको व्यवहार गर्छौँ । त्यहि अनुसारको स्यहार पनि । दुइ हजारको नेपाली लोकल बाख्राहरुलाई उति वास्ता गर्दैनौँ तर यदि हाम्रै बाख्राहरुलाई हामीले त्यसरी नै स्याहार गर्ने हो भने ?

हाम्रो फोकस किन त्यता छैन के ?’’

नेपालकै प्रडक्ट थियो रामसाई, गोलसाई लगायतका चार जातहरु । जसलाई भारतले कहिले ब्लायक कार्डामम त कहिले के को नाममा ब्रान्डमै राजनिति गरिदिए । अहिले पनि अंग्रजी डिक्सनेरीमा नेपाल कार्डामम भनेर बनेको ब्रान्ड छ । यसमा अध्ययन अनुसन्धान खै ?
यसमा एउटा सुन्दर उदाहरण जापानी ‘वाइयु बिफ’ हुनसक्छ । विश्व बजारमा जापानको रैथाने बिफको मूल्य संसारकै महंगो हो । हावापानीको कारणले त्यहाँको गोरु र गाईको मासुको नश्ल विश्वका अन्य जातका बिफ भन्दा धेरै फरक छ । कल्पना गर्नुस् न एउटा गोरुको मुल्य ३०,००० अमेरिकी डलर पर्छ । मासु एक पाउन्डको २०० अमेरिकी डलर । अझ ‘मात्सुका वाइगु’ त ४,००,००० अमेरिकी डलर ।

स्पेनमा सुगुँरको एक प्रजाति छ ‘स्पेनिज इबेरिया’ जसको एउटा खुट्टाको मुल्य ४,५०० डलर छ । फ्रान्सको ‘ले बोनोटिइ’ विश्वकै महंगो आलु हो । धेरै पर किन जाने कश्मिरकै ‘केशर’ संसारकै महंगोमा गनिन्छ । अब यहाँबाट सिक्ने कुरा के हो भने उनीहरुले यहाँ अरु देशबाट विकासे जात आयात गरेर ल्याएका हैनन् । आफ्नै ठाउँमा भएको स्थानिय जातका पशुप्राणीको अध्ययन गरेका हुन् । अझ यसमा भियतनामको जंगली बाख्राको महंगो मासु, जापानकै कोइ माछा आदिको त कुरा नै गरिएको छैन ।

जे होस् इलामले आफ्नो चेतनालाई खोलाहरुमा अनियन्त्रित जलविद्युतहरुको लर्को लगाएर ल्याएको विकासले ल्याउन सक्ने विनास र त्यहि सुकेको पानीमा रहेको पर्यावरणलाई पनि हेर्न सक्नुपर्छ । हालकै समयलाई हेर्दा पनि जलविद्युत निकाल्नको लागि गरिएका प्रयासहरुले इलामका धेरै गाउँमा पहिरोहरु गएको छ । पानीको मुहानहरु सुकेको छ । यसमा बुझ्नु पर्ने कुरा के हो भने हर्जनाले व्यक्ति वा जग्गाधनीलाई पैसा त आउला तर प्राकृतिक क्षति पुनः आफ्नो स्थितिमा आउन सक्दैन । हामीले शंका गर्नुपर्छ ‘सिरि गाई’ जसरी हामीले हाम्रै प्राकृतिक सम्पदाको विनास त गरिरहेका छैनौँ ?

 कृषि मेलाहरुको आयोजना

जलवायुको कारणले इलाममा उत्पादन हुने सब्जी, बालीहरुको स्वाद अन्य जिल्लाको तुलनामा केहि फरक हुनसक्छ । काठमाँडौ बसाईँको क्रममा इलामबाट आएका सब्जीहरु अरु जिल्लाको तुलना केहि मीठा हो की जस्ता लाग्ने गर्थे । यो शंका एकदम हाइपोथेसिस मात्र हो यद्यपी इलाममा उत्पादन भएको कृषि सामाग्रीहरुको उचित बजारको लागि हामीले कृषि मेलाहरु आयोजना गर्न सक्छौँ । यसमा हामीले गुणस्तरीयताको वर्गिकरण गरेर उत्पादनको प्रकारहरु पनि साथै राखिदिन सक्छौँ । यसले के गर्छ भने इलामको उत्पादनको छ्ुट्टै ‘ब्रान्ड’ बनेर जान्छ ।

कृषिबाट राम्रो योजना बन्न सके र इलामे उत्पादनहरुको अध्ययन अनुसन्धान, उत्पादन, व्यवस्थापनमा यदि स्थानिय सरकारको प्रत्यक्ष उपस्थिति हुने हो भने इलामका धेरै उत्पादनले नेपालभित्रै ‘इलामे’ ब्रान्ड बोकेर आफ्नो महंगो मोलमलाई गर्न सक्छ जस्तो लाग्छ । । इलाममा उत्पादन भएको दुधजन्य उत्पादनहरु अन्य जिल्लाको दाँजोमा उच्च स्तरको भए हामीले ‘इलामको ब्रान्ड’ भनेर त्यसको आर्थिक लाभ लिन सक्छौँ । चिया, अलैँची, लगायत अन्य धेरै कुरालाई गुणस्तरीयता हेरि पर्याप्त अध्ययन अनुसन्धान गर्न सके इलामका धेरै कृषि उत्पादनहरु ब्रान्ड बन्न सक्छन् । यसमा इलामको पृथक जलवायुले हामीलाई मद्दत गरेको छ ।

नेपालको सवालमा अहिले उपलब्धीमुलक छवि बोकेको कृषि उत्पादन भनेको डग च्यु हो । जसको नाम ‘हिमालयन डग च्यु’ छ । यसमा पनि इलामले आफ्नो गुणस्तरीयताको राम्रो रिसर्च गरेर ‘इलाम डगच्यु’ नामक उच्चस्तरको छुर्पी उत्पादन गरिदिए विश्वबजारमा इलामको उत्पादनको छवि बढेर जान्छ । ब्रान्ड फेरी पनि व्यापारको बलियो आधार हो ।

इलामको सवालमा उसको भौगोलिक बनावट र पृथक जलवायुको आधार कृषिको लागि हब बन्न सक्छ । हाम्रो स्थानीय उत्पादन मास प्रडक्सनमा नजान सक्छन् तर गुणस्तरीय बन्न सक्छन् । यसले कृषि पर्यटनलाई त्यसै पनि बढावा दिन्छ जस्तो लाग्छ ।

 केहि पर्यटनका गफहरुः

हरि गुरुङ्गसँग वहाँको अफिसमा भेट भएको थियो । चियाको सवालमा वहाँको ब्रान्डिङ्ग र बुझाई गज्जव लाग्छ । ‘‘चिया भनेको भाइ सब समयको कुरा रहेछ । यहि चियालाई हामी ह्वाइट, ग्रिन, ब्लायक बनाउने कुरा भनेको फर्मेन्टेसनको समयलाई नियालेर रहेछ । हामीले यसलाई सयपत्री खुल्ने गरि पनि ब्रान्ड गर्दैछौँ ।’’ प्याकेजिङ्गको सवालमा आर्कषक रहनुपर्छ भन्ने मान्यता सुरेन राईले पनि धेरै समय अघि इलाम चौतारीमा भन्नुभएको थियो । ‘‘साग हामी त्यतिकै बेचिदिन्छौँ । त्यसलाई राम्रो प्याकेजिङ्ग गर्ने हो भने त्यसको दाम पनि त्यहि अनुसार हामीले बनाउन सक्छौँ नी ।’’

एक इलामे होटल व्यवसायीले एक समय मसँग आफ्नो विचार पोख्नुभएको थियो, ‘‘इलामले फिक्कल वा कन्यामलाई, हाम्रोतिर तैँले पर्यटक पठाईनस् भनेर भन्छौँ । सम्पर्क त हामीले स्थापित गर्ने हो ।’’ एक तहसम्म यो तर्क पनि सहि नै छ तर इलाम आफैँ पर्यटक थेग्न सक्ने गरि वा घुमाउन सक्ने गरि तयारी गरेको छ छैन प्रश्न यो रहन्छ । हामीले पर्यटकहरुलाई कहाँ कहाँ घुमाउन सक्छौँ ? यसको लागि हामीले हाम्रा मठमन्दिर, जंगल, तालतलैया र अन्य के कति साइटका विकास गरेका छौँ ती कुरा महत्वपुर्ण हुन आउँछन् जस्तो लाग्छ ।

पाटन वा भक्तपुरले आफ्नो इतिहासलाई छाड्ने हो भने के पर्यटक त्यहाँ जानको लागि औचित्य रहला ? पर्यटकहरु खाल खालका हुन्छन् तर पर्यटककै कारण हामी हाम्रो स्वाभिमान र इतिहासप्रति वेवास्तापुर्ण बन्न सक्दैनौँ । उसको रुची नहुनसक्छ तर यसको मतलब हामी हाम्रो ऐतिहासिक मान्यताहरुलाई सम्पुर्ण बदलेर आफ्नो समाजलाई ‘लश भेगास’ बनाइहाल्न वा ‘पटाया’ चैँ बनाउन सक्दैनौँ । उनीहरु माग चैँ गर्छन् नै । यो उपभोक्ताको चरित्र नै हो तर यसो भन्दैमा हामीले दिने कुरा ‘स्थानिय कुरा चखाउने’ या ‘उनीहरुकै ढर्रा’ पछ्याउने हो । कसैलाई जनजीवन मनपर्न सक्छ, कसैलाई वनजंगल मनपर्न सक्छ त कसैलाई अरु केहि एडभेन्चर तर यसो भन्दै गर्दा केहि सिमित प्रतिक्रियाको भरमा हामी आफैँले आफ्नो ऐतिहासिक आधार वा इलामे पहिचानलाई जरैबाट फ्याल्न चैँ सक्दैँनौ ।

भारतको नरेन्द्र मोदी भलै ‘हिन्दु राष्ट्रवाद’को आधार लिएर बोल्छन् । उनको आधार पनि कतै न कतै ऐतिहासिक सौन्दर्यको जगमा अडिएको छ । चीनका राष्ट्रपति समेत आफ्नो कुरा बोल्दै गर्दा भन्छन् । हामी पाँच हजार वर्ष पुरानो सभ्यता हो । युरोपको पुर्नजागरण ग्रिक सभ्यताबाट जोडिन्छ । फरक आयामका अभियान्ता जितेन मुस्कानसँगको एक वार्तालाप सम्झन्छु, ‘‘एप्पल कम्पनीको लोगोको सेन्टिमेन्ट कतै न कतै उसको धर्मसँग पनि जोडिएको छ । आदम र इभको कथामा स्याउको प्रसँग छ ।’’ यसमा अमेरिकाले प्रतिबन्ध लगाउन खोजिरहेको चिनिया कम्पनीको हुवावेको लोगोलाई हेर्दा पनि त्यो चिनियाँ हाते पंखा जस्तो देखिन्छ । इतिहासको आधारमा उनीहरुले आफ्नो प्रडक्टलाई ब्रान्ड गरिरहेका छन् । र त्यसमा कतै न कतै ऐतिहासिक आधार देखिन्छ ।

अन्त्यमा, वैचारिक रुपबाट इलाममा उर्जाशील समुहहरु नभएको हैन तर समस्या सोच्ने प्रवृत्तिमा देखिन्छ । बजारमा रहेको कुनै नयाँ पसलले मेरो पसलको महत्व घटाउँछ भन्दै डराएर नयाँ आउनेको पसल सुकाउनु भनेको आफैँमा दरिद्र चिन्तन हो । (यहाँ बजार भन्नाले इलाम जिल्ला नै बुझिदिनुहोला ।) बरु बजार कसरी बिस्तार गर्न सकिन्छ भनेर कल्पना गरौँ न । यसले दुवैमाझ प्रतिस्पर्धा मात्र हैन समग्र इलामकै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार