इलाम : प्रदेश १ मा आइतबार थप ४०९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । १ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङमा सबै भन्दा धेरै २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, हालसम्म प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय जना पुगेका छन् ।
यस्तै उपचार गराईरहेका मध्ये २५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा नोवेल मेडिकल कलेज विराटनगरबाट १८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । अहिलेसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ४ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १०२ पुगेको छ ।
हालसम्म २८ महिला र ७४ पुरुषको मृत्यु भएको हो । मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विसालले जानकारी दिए ।
सबै भन्दा धेरै मोरङमा ४५ जनाको मृत्यु भएको छ । यसपछि सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।