शान्ति निकेतन विव्यस अध्यक्षमा पुनः राई

  मिलन राई  401 पटक हेरिएको


रोङ : इलामको रोङ गाउँपालिका कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन भएको छ ।

अभिभावक भेलाले पुनर्गठन गरेको हो ।

रोङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रुतीकुमारी तामाङको संयोजकत्वमा विद्यालय व्यवस्थापन छनौट समितिका सदस्यहरू वडा नम्बर ३ का जनप्रतिनिधि प्रेमराज गुरूङ र शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक गीतामणी अधिकारीले व्यवस्थापन समितिका लागि अभिभावकहरूमध्येबाट एक पुरूष र एक महिला मनोनित गरेका हुन् ।

जसमा पूर्व अध्यक्ष दौलथकुमार राई र मेनुका भुजेल राई मनोनित भएका हुन् । छनौट भएका २ सदस्य तथा प्रधानाध्यापकको समूहले अन्य २ सदस्य छनौट गरेका हुन् । जसमा अभिभावक नरबहादुर खवास र पूर्णकला राई छनौट भएका छन् । शिक्षक प्रतिनिधि शिक्षक युवराज आचार्य छनौट भई सोही समितिले अध्यक्ष दौलथकुमार राईलाई छनौट गरेको हो । राई यसअघि पनि अध्यक्ष थिए ।

त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा पुरन राई छनौट भएका छन् । सदस्यहरूमा २ महिला रचना राई र पर्वता न्यौपाने, दुई पुरूषमा युवनाथ पौडेल र चुडामणी भुजेल छनौट भएका छन् ।

शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि शिक्षक मेगराज गड्तौला छनौट भएका छन् । सोही कार्यक्रममा आमा समूह र पूर्व विद्यार्थी मञ्चको अध्यक्ष पनि छनौट भएका छन् । आमा समूहमा गीता निरौला र पूर्व विद्यार्थी मञ्चमा प्रकाश राई छनौट भएका छन् ।

यो समूह १३/१३ सदस्यीय हुनेछन् । आमा समूहको शिक्षक प्रतिनिधि शिक्षिका लक्ष्मीदेवी राई र पूर्व विद्यार्थी मञ्चको शिक्षक प्रतिनिधि शिक्षक डम्बरप्रसाद न्यौपाने छनौट भएका छन् ।

कार्यक्रममा प्रधानाध्यापक हेमन्त आचार्यले पूर्व व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई धन्यवाद दिँदै विद्यालयको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । सहायक प्रधानाध्यापक भूपाल खड्काले विद्यालयले गरेका कार्य, विद्यालयको प्रगति  तथा भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष गणेशकुमार राईले विद्यालयको गुणस्तर सुधार गर्न तथा विद्यालयको हरेक कार्यमा आफू र आफ्नो टिमले इमानदारीपूर्वक काम गरेको र टिमलाई धन्यवाद र नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । शिक्षक खडानन्द ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक मेगराज गड्तौलाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा शिक्षक, अभिभावक तथा बुद्धिजीवी सरोकारवालाहरूको उपस्थिति थियो । कार्यक्रम पाथिभरा मन्दिरको सभाहलमा सामाजिक दूरी कायम गरी स्वास्थ मापदण्ड पूरा गरी सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार