प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेर्पालुङ’ राख्न माग

  नयाँ बुलन्द  591 पटक हेरिएको

झापा : साविक समाजवादी पार्टीले प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेर्पालुङ’ प्रदेश राख्नुपर्ने माग गरेको छ । संविधान संसोधन गरि पहिचानका आधारमा १० जोड १ प्रदेशको माग गर्दै आएको समाजवादी पार्टी प्रदेश १ ले तत्कालका लागि प्रदेशको नामबारे आफ्नो धारणा सार्वजनिक गरको हो ।

शनिबार झापाको दमकमा सम्पन्न समाजवादी पार्टी प्रदेश १ को पदाधिकारी बैठकले प्रदेशको नामाङ्करणबारे त्यस्तो निर्णय गरेको हो । पार्टीले माग गर्दै आएको १० जोड १ प्रदेशमध्ये किरात, लिम्बुवान, मधेस र शेर्पालुङ प्रदेशका  भूभागहरु अहिलेको प्रदेशमा पर्ने भएकाले तत्कालका लागि ‘किरात-लिम्बुवान-मधेस-शेर्पालुङ’ प्रदेश नामाङ्करण गर्नुपर्ने निर्णय भएको प्रदेश कोषाध्यक्ष विनोद नेम्बाङले जानकारी दिए । संविधान संसोधन गरि पहिचानका आधारमा अलगअलग प्रदेश स्थापना नभएसम्म संयुक्त नाम लिएर अघि बढ्ने उनले बताए ।

समाजवादी पार्टीले संविधान संसोधन गरि ७ प्रदेशलाई पहिचान र सामर्थ्यका आधारमा १० जोड १ प्रदेश बनाउनुपर्ने माग गर्दै आएको छ । सो पार्टीले लिम्बुवान, किरात, शेर्पालुङ, मधेस, नेवा, ताम्सालिङ, तमुवान, मगरात, थरुहट/थारुवान, खसान र दलित (शिल्पी) विशेष प्रदेशको माग गर्दै आएको छ ।

हालसम्म प्रदेश १ र २ को नामाङ्करण हुन बाँकी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाई मत भएको अन्य प्रदेशको नामाङ्करण भएसकेको छ । तर कुनैपनि प्रदेशको नाम पहिचानका आधारमा राखिएको छैन ।

प्रदेश ३ को नाम बाग्मती, ४ को गण्डकी, ५ को लुम्बिनी, ६ को कर्णाली र ७ को सुदुरपश्चिम प्रदेश नामाङ्करण भइसकेको छ । प्रदेश १ को पनि नेकपाकै दुई तिहाई बहुमत भएपनि हालसम्म नामको विषयमा औपचारिक छलफल सुरु भएको छैन । प्रदेश २ मा भने कुनैपनि नाममा दुईतिहाई बहुमत नपुगेकाले नामाङ्करण हुन सकेको छैन । संविधानले प्रदेशको नामाङ्कन र राजधानी टुंङ्ग्याउने अधिकार प्रदेश सभालाई दिएको छ ।

दुई दिनसम्म चलेको बैठकले तत्कालिन राष्ट्रिय जनता पार्टीसँग समायोजनका लागि ७ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरुमा पार्टीका उपाध्यक्षहरु दीपक याख्खा, राजकुमार यादव, सविता यादव, मुख्यसचिव प्रभुराम श्रेष्ठ, सचिव भरत दाहाल र कोषाध्यक्ष विनोद नेम्बाङ रहेका छन् ।

जनता समाजवादी पार्टी, नेपाल समायोजन निर्देशिका २०७७ बमोजिम तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको समिति समायोजनका लागि कार्यदल गठन भएको हो । समायोजन निर्देशिकामा २०७७ मंसिर मसान्तसम्म समायोजन सम्पन्न गरिने उल्लेख छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएरु जनता समाजवादी पार्टी गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार