‘नयाँ सडक बनाउँदैनौं, भएकालाई बाह्रमासे बनाउँछौं’ : वडाअध्यक्ष राई

  नरेन इलामेली  455 पटक हेरिएको

लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताले जनप्रतिनिधि पाएका छन् । आफैंले चुनेको प्रतिनिधिबाट आफ्ना समस्या सुल्झाउन पाउँदा जनतामा खुसी छाएको छ । जनताका तमाम समास्या र आकांक्षा पूरा गर्दे आएको स्थानीय तह विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट अछुतो छैन । कोरोना भाइरस (कोभिड-१९) को प्रभाव, वडामा भइरहेका गतिविधि, कार्यक्रम, योजना तथा कार्यान्वयन लगायतका विषयमा इलामको माईजोगमाई गाउँपालिका ४ का वडाअध्यक्ष गणेशकुमार राईसँग नयाँ बुलन्दकर्मी नरेन इलामेलीले गरेको कुराकानीको सम्पादित अंश :

गाउँपालिकाको स्थनापना भए पछि जनप्रतिनिधीको रुपमा आउनु भएको तीन बर्ष भयो कस्तो महसुस गरिरहनु भएको छ ?

मैले दुई पटक जनप्रतिनिधीका रुपमा काम गरेँ , तत्कालिन नामसालिङ्ग गाविसको उपाध्यक्ष र हाल वडा अध्यक्ष भएर काम गरिरहेको छु । पहिले गाविस उपाध्यक्ष हुँदा र अहिलेमा धेरै फरक पाएको छु । पहिले गाविस हुँदा एकदमै थोरै कामहरु हुन्थ्यो, बजेट पनि सानो हुन्थ्यो । जब देशमा संघियतामा लागू भयो, स्थानिय सरकार निर्माण भयो, आम नागरिकको चेतनाको स्तर पनि बढेको पाएको छु । विकास निर्माणका काममा पनि मानिसहरुको चासो बढेको छ । पहिले गाविस हुँदा खासै काम पर्दैन्थ्यो तर अहिले दैनिक जसो कामको चाप हुन्छ । समग्रमा तीन बर्षमा मलाई चाहिँ वडा अध्यक्ष एउटा जनताको दिनदैनिकीसँग जोडिएको विभागको हाकिम हो कि भने जस्तो महसुस गरेको छु । कामको चाप एकदमै धेरै छ फुर्सदको समय नै हुँदैन् ।

यो तीन बर्षमा विकास निमार्णका गतिविधीका आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?

म यस अघि पनि यस क्षेत्रका् नेतृत्वदायी भुमिकामा रहेको थिएँ । त्यस बेला पनि विकास निर्माणका कामहरु त भएका थिए । तर संघियता लागू भएपछि स्थानिय तहहरु पनि अधिकार सम्पन्न भएका छन् ।विकास बजेट पनि बढेको छ । त्यो समयमा सडक विद्युत जस्ता विकासका पूर्वाधारको अभाव थियो । तर अहिले हाम्रो शिक्षा, स्वास्थ्य , यातायात र विद्युत जस्ता पूर्वाधारहरुको विकास भएको छ । हिजो घोडेटो र गोरेटो बाटो भएका ठाउँहरुमा आज कच्ची भए पनि मोटर बाटो पुगेको छ । विजुली र खानेपानी पुगेको छ । धेरै स– साना योजनाहरु संचालनमा छन्, केही ठूला योजनाहरु संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै छौँ । समग्रमा सन्तोषजनक स्थितिमा छौँ ।

निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पुरा भए ?

हामी चुनावमा जाँदै गर्दा हामीले जनतामा त्यत्रा ठूला सपनाहरु बाँडेका थिएनौँ , जनताका दिन दैनिकीसँग जोडिएका कुराहरुलाई प्राथमिकतामा राखेर गएका थियौँ । हामीले गाउँगाउँमा सडक सञ्जालले जोड्छौँ , खानेपानी गराउँछौँ, विद्युत विस्तार गर्छौ भन्ने थिए ती पुरा हुने चरणमा छन् । वि. सं २०५४ सालमा म तत्कालिन नामसालिङ्ग गाविसिको उपाध्यक्ष हुँदै यहाँ विजुली आएको हो । यहाँ विजुलीको ठूलो समस्या छैन तर अलि टाढाबाट तानेर बाल्नु परेको छ र केही पोलहरु काठका छन् । काठका पोलहरु हटाएर फलामे पोल लगाउने र विद्युत विस्तारलाई निरन्तरता दिइरहेका छौँ । यो समस्या हामीले आगामी बर्ष सम्ममा अन्त्य गर्न सकिन्छ भन्ने अपेक्षा रहेको छ ।

यहाँको शिक्षा र स्वास्थ्यको अवस्था के छ ? यहाँ त स्वास्थ्य संस्था पनि छैन ?

एकदमै राम्रो कुरा उठाउँनु भयो , हरेब वडामा स्वास्थ्य संस्था हुनुपर्छ भन्ने राज्यको पनि मान्यता छ । यसैलाई मध्यनजर गर्दै हामीले यस वडामा पनि स्वास्थ्य संस्था निर्माणका लागि जग्गा खरिद गरिसकेका छौँ । तत्कालका लागि यहाँ स्वास्थ्य सेवा उपलब्ध गराउन हामीले माइजोगमाई गाउँपालिका भित्रको कुनै एक स्वस्थ्य संस्थामा दरबन्दी बढाएरु यस वडामा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय गरेका छौँ । यस क्षेत्रको प्रायः सबै स्थानमा शिक्षाको पहुँच त पुगेकै छ तयसलाई थप व्यबहारिक र समय सापेक्ष बनाउन लागिरहेका छौँ ।

वडालाई समृद्ध बनाउन यहाँका सरोकारवाला र प्रतिपक्षी दलहरुसँग कतिको सहकार्य गर्नु भएको छ ?

इसम चाहिँ कतिपय साथीहरुले हामीलाई संलग्न गराइएन भनेर गुनासो पनि गर्नु भएको छ । तर हामीले वडाको योजना तर्जुमा गर्नु अघि, बार्षिक बजेट आउनु अघि सबैलाई बोलाएर छलफल गर्ने गरेका छौँ । उपभोक्ता समिति निर्माण र आयोजना संचालन गर्नु अघि पनि कसरी गरौँ भनेर छलफल गर्ने गरेका छौँ । कतिपयलाई पत्र काटेरै बोलाउने गरेका छौँ । जसमा कति आउनुहुन्छ कतिले वास्ता गर्नुहुन्न, यो उहाँहरुकै ठाउँमा छ ।

विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो तीन बर्षमा जनताले महसुस गर्ने गरी कामहश्र के के भए ?

महसुस हुने गरी कामहरु थुप्रै भएका छन् । यहाँका प्रायः सबै घरहरु सडक सञ्जालले जोडिएका छन् । विद्युत र खानेपानीको विस्तार भएको छ । हामीले धेरै घरहरुमा खानेपानी पुर्याएका छौँ नपुगेका केही घरहरुमा पूर्याउन लागिरहेका छौँ । इलाम जिल्लाकै प्रख्यात माइबेनी धाम सम्म्म विद्युत पुर्याएका छौँ । भौतिक विकासका कामहरु धेरै भएका छन् । अब आर्थिक विकासलाई जोड दिनुपर्छ भन्ने मेरो बुझाई छ । यहाँका अधिकांश मानिसहरु कृषिमा आवद्ध छन्, पसका लागि हामीले पर्याप्त बजेट छुट्याएर कृषिमा नयाँ र आधुनिक प्रकारका कार्यक्रमहरु संचालन गर्नुपर्छ भन्ने लागेको छ ।

विकासका निर्माण गर्ने कुरामा तपाईको वडाको प्रमुख प्राथमिकता के हो ?

विकासका पूर्वाधारहरु सबै उतिकै महतवपूर्ण छन् । तैपनि जनताको स्तरबाट हेर्दा सडक नै पहिलो प्राथमिकतामा पर्छ । त्यसैले हामीले टोल टोललाई सडक सञ्जालले जोड्ने कामलाई नै प्राथमिकताका साथ संचालन गर्यौँ । अब हाम्रा दुईवटा मुख्य प्राथमिकताहरु छन् – फिक्कल प्रेमेजुङ्ग माङचोक हुँदै इलाम सदरमुकाम जोड्ने सडक र हात्तीटार शुक्रबारे हुँदै नयाँबजार जोड्ने सडक । तर यी सडक निर्माणको कार्य हाम्रो पहुँच भन्दा बाहिर छ जसका लागि हामी संघिय सरकार र प्रदेश सरकारसँग समन्व्य गरेर काम गर्दै छौँ ।

बर्षेनी नयाँ सडकहरु खनिन्छ, मर्मत र स्तरोन्नती हुँदैन यसरी दिगो विकास तिर पुगिन्छ ?

एकदमै राम्रो विषय उठाउँनु भयो । हामीले लगभग सबै क्षेत्रमा सडक खन्ने काम सकेका छौँ । अब हामी नयाँ सडक खन्दैनौँ , भएका सडकहरु मर्मत र स्तरोन्नती गर्दै बाह्रमासे सडकका रुपमा रुपान्तरण गर्छौा । साथ निर्माण कार्यमा ै वडाको पहुँच बाहिर रहेका सडकहरु प्रदेश र संघिय सरकारलाई जिम्मा लगाउँछौँ ।

तपाईको वडामा आउने बजेटको पर्याप्तता कस्तो छ ?

बजेट पर्याप्त आएको छ भन्ने अवस्था त छैन । गर्नुपर्ने कामहरु धेरै छन् त्यस्लाई हेर्दा त बजेट कमै छ । तर हिजो आउने बजेटसँग तुलना गरेर हेर्दा सन्तोष गर्ने ठाउँ छ । धक फुकाएर काम गर्न सक्ने गरी बजेट त छैन तर हरेका वडाको भौगोलिक अवस्था, जनसंख्याको अवस्था , राजस्व संकलन जस्ता कुराहरुलाई आधार मानेर बजेट विनियोजन हुन्छ । समग्रमा सन्तोषजनकनै छ ।

यस वडामा केही महत्वपूर्ण धार्मिक पर्यटकिय गन्तव्यहरु छन, तिनीहरुको विकास र प्रवर्दनमा के कस्ता कामहरु गर्नुभयो ?

यो एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । हाम्रो यस वडामा नेपाल कै उक महत्वपूर्ण र प्रसिद्ध धार्मिक स्थल माइबेनी धाम छ । यो ऐतिहासिक क्षेत्र पनि हो । यहाँ बर्षमा एक पटक मेला लागे पनि नेपालका विभिन्न जिल्ला सहित भारत, श्रीलंका, भुटान देखिका भक्तजनहरु आउँने गरेछन् । वेनी मेलामा गएर मकर नुहाएर पूजा अर्चना गर्दा मनोकांक्ष पुरा हुन्छ भन्ने जनविस्वास रहेको छ । यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम गर्ने गरी लागेका छौँ । त्यस्तै यस वडामा काली गुफा भन्ने ठाउँ छ जुन एकदम ठूलो ओढार छ। त्यसको पनि डिपिआर भएर काम हुँदै छ । यहाँ विभिन्न यस्ता ठाउँहरु छन् जसलाई पिकनिक स्पटका रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि पनि काम भइरहेको छ ।

तर अषेक्षा अनुसार काम भएन भन्ने जनताको गुनासो छ नि ?

यो चाहिँ स्वभाविक हो , मानिसहरुको आकांक्षा ठूलो छ । विकास निर्माणका कामहरु छिटो सम्पन्न होस भन्ने चाहना हुन्छ । सडकहरु अहिले नै कालोपत्रे होस भन्ने चाहना छ , त्यो सम्भव हुदैन । विकास निमार्णका लागि कुनै जादुको छडी हुँदैन एकै पटकमा सबै काम समपन्न गर्न । विकास चरणबद्ध रुपमा हुन््छ । चाहना धेरै छन् तर श्रोत साधनहरु कम छन् । यो निरन्तर भइरहने प्रक्रिया हो । मानिसमा काम टिछो सम्पन्न होस भन्ने चाहनाका कारण निराशा आएको हो कि भन्ने मैले पनि महसुस गरेको छु । अब चाहिँ हामीले विकास निर्माणका कामहरु वर्गीकरण गरेर संचालन गर्नुपर्छ कि भन्ने महसुस भएको छ । हरेक योजनाहरु कुन वडाले गर्ने, कुन स्थनिय तहले गर्ने, कुन प्रदेश र संघिय सरकारले गर्ने भनेर बर्गीकरण गरेर काम गर्दा चाहिँ कामले छिटो पूर्णता पाउँछ र प्रभावकारी हुन्छ । साथै जनताको निराशा पनि कम हुन्छ भन्ने मैले महसुसु गरेको छु ।

धेरै ठाउँमा जनप्रतिनिधी र कर्मचारी बीच तालमेल नहुँदा समस्या उत्पन्न भएका थुप्रै उदाहरणहरु छन्, यहाँको अवस्था कस्तो छ ?

यहाँ अहिले सम्म त्यस्तो समस्या आएको छैन । यहाँ मात्र हैन गाउँपालिका भरी नै कहिँ पनि त्यस्तो समस्या भएको महसुस गरेका छैनौँ । हाम दोहोरो समन्वय मै काम गरिरहेका छौँ ।

यस वडालाई समृद्ध बनाउन तपाईँ कै कार्यकालमा गर्नैपर्ने कामहरु के के छन् ? तपाईँका योजनाहरु के के छन् ?

हाम्रो कार्यकाल रहँदै गर्नुपर्ने ठानेको काम भनेको फिक्कल प्रेमेजुङ्ग माङचोक हुँदै इलाम सदरमुकाम जोड्ने सडक स्तरोन्नति गर्नुपर्छ भन्ने हाम्रो प्रमुख प्राथमिकता नै हो । साथै यहाँ रहेका काठे पोल विस्थापन गरेर फलामे पोल हाल्ने र खानेपानीलाई पूर्णता दिने हाम्रो योजना हो । यसलाई पूरा गर्न हर सम्भव कोषिस गर्छु ।

यहाँ कोरोना भाइरसको प्रभाव कस्तो छ ?

कोरोनाको प्रभाव समग्रमा सबै क्षेत्रमा परेको छ । भाग्यको कुरा भनौँ यस गाउँपालिकामा नै अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन । तैपनि सरकारले जारी गरेको लकडाउन खुले पनि जनजीवन सहज भने छैन । सबै भन्ला धेरै प्रभाव शिक्षा क्षेत्रमा परेको छ । बालवालिकाको भविष्य नै अन्धकार तिर धकेलिएको छ ।

कोरोनाका कारण शिक्षा क्षेत्रमा धेरै समस्या छ भन्नु भयो , यसको समाधानका लागि वडाले के गर्दै छ ?

हाल यहाँका विद्यालयहरुले विभिन्न सिकाई केन्द्रहरु र बैकल्पिक शिक्षा संचालन गरेका छन् । तर बैकल्पिक शिक्षा विभेदकारी छ भन्ने मेरो बुझाई छ । कतिको द्धरमा रेडियो टेलिभिजन ता मोवाइलहरु छैन । भए पनि सके जना इन्टरनेटको पहुँचमा छैनन् । सिकाइ केन्द्रहरु पनि प्रभावकारी छैनन् । हामीले यसको विकल्पमा एक दिनमा एउटा कक्षाका विद्यार्थीहरुलाई विद्यालय मै बोलाएर संचालन गर्ने , अर्को दिन अर्को कक्षलाई पढाउने यसरी संचालन गर्नुपर्छ भनेर तयारी गर्दै छौँ ।यसो गर्दा विद्यार्थीमा सिकाइ उपलब्धी पनि हुन्छ र शिक्षकहरु प्नि बेरोजगार बन्नु पर्दैन विशेष गरी निजी विद्यालयका शिक्षकहरु प्नि पेशाबाट बञ्चित हुनुपर्दैन । एक दिनमा एउटा कक्षाका विद्यार्थी मात्र पढाउने हो भने सामाजिक दुरी कायम गर्न पनि सकिन्छ । यदि कोरोना लाग्नु छ भने सिकाइ केन्द्रमा पनि लाग्छ, विद्यालय जाँदा मात्रै लाग्ने त हैन । त्यसैले दशैँ तिहार पछि पनि कोरोनाको अवस्था यस्तै रहिरहे स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय संचालन गर्छौ ।

वडाबाट संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रममा आफ्ना कार्यकर्ताहरु मात्र सहभागी गराउँनुहुन्छ भन्ने आरोप छ नि तपाईँहरु माथि ?

यो चाहिँ एकदमै अस्विकार गर्छु म ।यो कार्यक्रम संचालनका लागि आफ्नै विधान छ । पहिलृ फारम भर्नुपर्छ । कतिपयले फारम भर्दा नै गल्ती गर्नुहुन्छ । भरिएको फारम सम्बन्धित निकायमा पठाउँर्छाैँ र उतैबाट छनोट भएर आउँछ । योग्य कामदार नपाएर बर्षेनी बाहिरबाछ कामदा। मगाउँनुपर्छ भने कसरी हामीले विभेद गर्यौ भन्न मिल्छ र ? कामदार नभएकै कारण बजेट समेत समयमा सकिन्दैन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा हाम्रा महान चाडहरु आउँदै छन् । जिल्ला भन्दा बाहिर रहेका दाजुभाई दिदीबहिनीहरु गाउँमा आउने सम्भावना धेरै छ । बाहिरबाट मानिसहरु आउँदा कोरोनाका संक्रमण पनि आउँछ कि भन्ने मानिसमा त्रास छ यस विषम परिस्थितिमा आफू छौँ त्यहीँ बस्नु राम्रो हुन्छ ।तर चाडबाडमा परिवारसँग रहने सबैको चाहना हुन्छ । गाउँ आउनै परे पनि चहलपहल नगरौँ सचेत बनौँ भन्न चाहन्छु । साथै विकासका पूर्वाधार निर्माण गर्ने कार्यमा धेरै जसो काम भएका छन् । केही कामहरु हाम्रो पहुँच भन्दा बाहिर पनि छन् । विकासका कामहरु चरण्बद्ध रुपमा हुन्छन् । एकै चोटी सबै कामहरु समपन्न हुँदैनन् । हाम्रो पहुँच बाहिर रहेका कामहरु पनि सम्बन्धित निकायमा पहल गरी संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु र धैर्य गर्न पनि आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार