‘हल्ट प्राइज’ प्रतियोगितामा मरव क्याम्पस इलामका विद्यार्थीहरु

इलाम : विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ प्रतियोगिता त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ ।

त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुको लागि बर्सेनि आयोजना हुने प्रतियोगितामा विश्वभरीका विद्यार्थीहरुको प्रतिस्पर्धा हुनेछ ।

विद्यार्थीहरुमा रहेका इनोभेटिव आइडियालाई व्यवसायिक र सामाजिक उद्यमशीलताको रुपमा विस्तार गर्न योगदान गर्ने र विद्यार्थीहरुको उद्धमशीलताको क्षेत्रमा नविनतम सोच र विचार विकास गर्न टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

इलामबाट महेन्द्र रत्न बहुमुखी क्याम्पस, बागवानी संकायले प्रतिष्पर्धा गर्नेछ । मरब क्याम्पसमा कार्यक्रम संचालनको लागि क्याम्पस निर्देशक स्वस्तिका सुवेदीको नेतृत्वमा १८ सदस्य कमिटि गठन गरिएको छ ।

हल्ट प्राइज मरब क्याम्पस टिमले कोरोना महामारीको विषम परिस्थितिमा अनलाइनको माध्यमबाट बिभिन्न जानकारी मुलक कार्यक्रमहरू गर्दैछ ।

विश्वभरका २ हजारभन्दा बढी विश्वविद्यालयका ३ लाख भन्दा बढी विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् ।

विद्यार्थीहरुलाई कुनै एउटा सामाजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले एक लाख अमेरिकी डलर जित्न सक्ने छ ।

खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । त्रिभुवन विश्वविद्यालमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् ।

स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा हुने यस कार्यक्रममा त्रिविका सम्पूर्ण आङ्गिक तथा सम्बधनप्राप्त क्याम्पसमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षा संकायमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।

विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् ।

डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार