इलाम : जिल्लाको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्योदय नगरपालिका १३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारका ११ घरमा नगरपालिकाले सोर्यबत्ती जडान गरिदिएको हो ।
स्थानीयको लगानी बिना नै नगरपालिकाले सोमबार घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो ।
सौर्यबत्ती जडान भएपछि सो बस्ती झिलिमिली भएको छ । नगरप्रमुख रणबहादुर राईको उपस्थितीमा सौर्यबत्ती जडान गरिएको थियो । अन्धकार गाउँ उज्यालोमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् ।
विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाडा भएकोले त्यस ठाउँमा केन्द्रीय प्रशारणको विद्युत विस्तार हुन सकेको थिएन । विद्युत विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए । विद्यार्थीहरु समेत रातमा तीन पटकसम्म मट्टीतेल लगाएर टुकीकै भरमा आफ्नो समस्या समाधान गर्दै आएका थिए ।
झण्डै खानेभन्जाडदेखि १ घण्टा पैदलमा पुगिने त्यस ठाउँको स्थानीयहरू डोको लिएर ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठाउँसम्म आएका थिए ।
नगरपालिकाले केहि घरपरिवारहरूलाई सुरक्षित आवास निर्माण गरिदिने नगरप्रमुख रणबहादुर राईले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
तस्वीर : नगरप्रमुख रणबहादुर राईको फेसबुकबाट