इलाम : देशमा भएको बन्दा बन्दी र मौसम एक साथ खुलेसँगै इलाम जिल्लाको प्रमुख पर्यटकीय एवं धर्मिक स्थल माईपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन फाट्टफुट्ट देखिन थालेको छ । सधा झैँ यस बर्ष पनि माइपोखरी घुम्न आउनेको संख्या चार्डपर्वसगै बढ्न थालेको हो । इलाम सदरमुकामबाट बरबोटे हुँदै १३ किलोमिटर कच्चिसडक पार गरेर पुगिने माइपोखरीमा गएका बर्ष यो सिजनमा झापा, मोरङ्गलगायत भारतका बिभिन्न स्थानबाट घुम्नका लागि दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेको स्थानीयहरुको भनाइ छ । तर यस पटक भने विश्वलाई नै आक्रात्त पारेको कोरोना भाइरसका कारणले आन्तरिक पर्यटक फाट्टफुट्ट देखिए पनि बाह्य पर्यटक आगमन ठप्प प्राय छ ।
सन्दकपुर गाँउपालिका १ मा रहेको माइपोखरी, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ । माइपोखरी २८ अक्टोबर २००८ मा विश्व रामसार सूचिअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा भएको थियो । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एवं धार्मिक सुन्दरताले भरिपूर्ण पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ ।
माई अर्थात् आमा र पोखरी अर्थात् तलाउ जसबाट माइपोखरी भन्ने विश्वास रहेको रामसार क्षेत्रमा सुचिकृत माईपोखरीमा विश्वमै लोपोन्मुख गलैँंचे झ्mयाउ, अनौंठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइने भएकाले पर्यटकको रोजाइमा परेको हो ।
सडक हिलाम्य दर्शनार्थीलाई सास्ती
प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा देश बिदेशमा परिचित माईपोखरी पुग्न दर्शनार्थी र पर्यटकहरुले सास्ती व्यहोर्नु परेको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर १ र ३ को सीमानामा पर्ने माइपोखरी पुग्न सडक हिलाम्य भएका कारण यात्रीले सास्ती व्यहोर्नु परेको हो । माईपोखरी पुग्न व्यवस्थित सडक नबन्दा सोचेजस्तो दशर्नार्थी र पर्यटकहरु भित्रिन सकिरहेका छैन । जैविक विविधताले सम्पन्न माईपोखरी विश्व रामसार क्षेत्रमा नवौं स्थानमा सुचिकृत तथा मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र भएपनि सडकको राम्रो व्यवस्था अहिले सम्म हुन सकेकको छैन । हिउँदमा सहज रुपमा त्यस स्थानमा पुग्न सकिने भएपनि बर्खायाममा भने कस्टकर यात्रामा मात्र पुग्न सकिने गरेको छ । स्थानीय सरकार आएको यतिका लामो समय भएपनि बाह्रमासे सडक अझै बन्न सकेको छैन ।
प्राकृतिक रूपमा सुन्दर, नौकुनामा फैलिएको मापोखरी विश्व रामसार क्षेत्रमा सुचिकृत भएर पनि कच्ची सडक भएकै कारण माइपोखरी अझैपनि ओझेल परेको सन्दकपुर गाउँपालिकाका वडानम्बर १ का वडाध्यक्ष नन्दकुमार राई बताउनुहुन्छ ।
पोखरी छेउमा विभिन्न खालका फूलहरु रोप्ने, शिवको मूर्ति निर्माण गर्ने, पोखरीसम्म पुग्ने कच्ची सडकलाई कालोपत्रे सडकको रूपमा परिणत गरेर दैनिक हजारौ भन्दा बढी पर्यटकहरु भित्राउने लक्ष्य रहेको अध्यक्ष राईले सुनाउनुभयो । माईपोखरीको नजिकै रहेको जोरपोखरीलाई डुङ्गा शयरलाई अझै थप व्यवस्थित गर्ने, त्यसै पोखरीको छेउमा आकासे पुल निर्माण गरेर आकर्षक र मनमोहक बनाएर पर्यटकहरुलाई आकर्षित गर्ने योजना समेत रहेको वडाध्यक्ष राइले बताउनुभयो । हरिबोधनी एकादशीका दिन पोखरी छेउमा भब्य मेला लाग्ने गरेको छ । मेलामा इलामसहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरीलगायतका जिल्ला र भारत बाट समेत भक्तजनहरु आउनेगरेका छन् ।