बलात्कर निषेधका लागि समाजले बुझ्नै पर्ने केहि कुरा

  खेमराज अधिकारी  466 पटक हेरिएको

‘यहाँ मान्छेहरुको आफ्नै चाहना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ’ । यस गजलका शेरहरुले भने झैं हाम्रो समाज घटिरहेका जघन्य अपराधहरु मनिसका चाहानाले भएका छन् की जमानाले त्यो अर्को बहसको कुरा हुन सक्ला तर खराब चाहनाहरुले नै खराब जमाना पनि खराव वनाउने गर्दछ । मति भ्रष्ट चाहानावालहरुको बिगविगि हुनु नै जमाना विग्रनु हो ।

चाहना खराब हुदा एउटाले असर पार्ला तर जमाना खराब भएमा त्यस जमानाका सबै दोशी हुन्छन् । हो हालका परि घटनाहरुले हाम्रो जमाना र सभ्यतालाई नै खराब बनाइ राखेको छ । आज विश्वले हामीलाई कुरीकुरी गरिरहेको छ । हामीले कति लाज मानेका छौं त्यो त हामीले नै स्वमूल्यांकन गर्ने कुरा हो ।

पछिल्ला दिनमा जघन्य बलात्कारका घटनाहरु ,बलात्कार र हत्याका घटनाहरु, विभिन्न प्रकृति र परिवेशमा अन्य महिला हिंसाका घटनाहरु बाहिर आइरहेका छन् ।हाम्रो सामाजिक परिवेशका कारण जति घटनाहरु बाहिर आएका छन् यस्ता घटनाको दर अझ उच्च रहेको अनुमान गर्न सकिन्छ र यो पनि अनुमान गर्न सकिन्छ कि यस्ता घटना कुन दरले घटिरहेका छन् र कसरी छिपीरहेका छन् । 

मुलुकी अपराध (संतिता) ऐन, २०७४ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार बर्षभन्दा कम उमेरको कनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भनि उल्लेख गरेको छ । यहि जवर्जस्ती करणीलाई अहिलेको चल्तीको भाषामा बलात्कार भनिन्छ । जुन जघन्य महिला हिंसा हो ।

प्रथमतः महिला मानिस हो । मानिसले मानिस भएर बाँच्न पाउने अधिकार मानव अधिकार हो । जुन अन्यले पाए सरह महिलाले पनि पाउनु उनीहरुको अधिकार हो । यस्तै महिला भएका कारण पाउने अधिकार जुन महिलाको प्राकृतिक, साँस्कृतिक, राजनीतिक आदिसँग जोडिएका हुन्छन्, ती पाउनु उसको अर्को अधिकार हो । जसका विरुद्धमा हुने सम्पूर्ण कृयाकलाप नै महिलाविरुद्धको हिंसा हो । संयुक्तराष्ट संघवाट पारित घोषणपत्रले महिला भएका कारणले गरिने सबै प्रकारका नकारात्मक व्यवहार जुन महिलाको अस्तित्व,आत्मसम्मानलाई ह्रास पु¥याउँछ । शारीरिक, मानसिक, सामाजिक, यौनिक वा अन्य कुनै प्रकारले हानी पु¥याउँछ वा डर, धाक–धम्की, त्रास देखाइन्छ भने त्यो महिलामाथि हुने हिंसा हो भनी परिभाषित गरेको छ । यसरी हेर्दा पनि बलात्कार महिला हिंसाको अतिनै निकृष्ट अवस्था हो ।

नेपालमा हाल देखिएका श्रृखलाबद्ध बलात्कार तथा अन्य महिला हिंसाका घटनालाई सतही रुममा मात्र हेरेर समस्याको चुरोमा पुग्न सकिदैन । भनिन्छ, महिलाले छोटा लुगा लगाएर पुरुमा यौन उत्तेजन बढेर यस्ता घटना बढेको तर भन्नेले यो कुरा बुझ्नु पर्छ कि विज्ञानले प्रमाणित गरेको कुरा यौन उत्तेजना पुरुषमा भन्दा महिलामा बढि हुन्छ । अनि बलात्कारी चाहि पुरुष बढि कसरी हुन्छ । आज छोटा लुगा लगाउने भन्दा गोलीगाठा छोपेर लुगा लगाउने हजुर आमा देखि नातिनी सम्म बलात्कृत भएका छन् । कुरा उठ्ने गर्छ बलात्कारीलाई नपुंसक वनाएर बलात्कार घटाउने तर समस्या लिंगमा हैन सोचमा छ, सोको बन्ध्याकरण गर्नु पर्छ । अब हामी यसरी जघन्य अपराधले हाम्रो देश आक्रान्त पारिरहेको बेला सतही रुपमा यसको मुल्यांकन नगरी गम्भिर रुपमा यस्ता घटना घट्नुका कारक तत्वका वारेमा चार्चा गरौं ।

कारक तत्वहरु

हाम्रो समाज सामान्यतया हिन्दु धर्म संस्कार संस्कृति सँग गासिएर पूर्वीय दर्शनमा आधारित छ जहाँ महिलालाई उच्च सम्मान दिएको पाइएता पनि सम्पूर्ण इज्जतको जिम्मा महिलाको मात्र हो भन्ने तवरले व्याख्या गरेको पाइन्छ । जहाँ सीताले मात्र पटक पटक आफ्नो चरित्र शुद्ध प्रमाणित गर्नु अग्नी कुण्डमा हाम फाल्नु पर्छ तर कृष्णले पर्दैन । यस्तै बौद्ध धर्ममा पनि बहुपति प्रथा तथा झुमा प्रथा परम्रागत रुममा कतै न कतै अझै पनि रहिरहेको छ । अरु धर्महरुमा पनि यौनलाई व्यभिचार भनि व्याख्या गर्ने तर छद्म रुपले यौन प्यास मेटाउन विभिन्न ताण्डव गर्ने प्रवृत्तिहरु पटकपटक बाहिर आइरहेका छन् । अनि कति पिडाहरु भित्र भित्रै गुम्सी रहेका छन् ।

यसरी महिलालाई मात्र नैतिकताको पाठ सिकाउने धर्म शास्त्रहरु पुरुषलाई जन्मसिद्ध चरित्रवान बनाउन चुकेको छैन । यसले कतै न कतै मनोवैज्ञानिक रुपमा महिला हिंसा गर्न भूमिका खेलेको मान्न सकिन्छ । पुरुष चरित्रवान हुने हाम्रो सामाजिक सोचकौ कारण बलात्कृत हुने भन्दा बलात्कार गर्ने बढि चोखो छ । समाजले बलात्कारीलाई जति छिटो समाजमा समायोजन हुन दिन्छ बलात्कृतलाई समायोजन हैन तिरस्कार गर्छ ।

एउटी छोरीलाई पटक पटक नैनिकताको पाठ पढाउने घरले एउटा छोरालाई नैतिकता सिकाउँछ कि सिकाउदैन अनी आफ्नी छोरी यौन हिंसामा पर्छेकी भनेर चिन्ता लिने आमाबाबुले आफ्ना छोराले यौन हिंसा या बलात्कार गर्छ कि भनेर कति चिन्ता गर्ला रु यो कुनै अविभावकको चिन्ताको विषय भित्र पर्दैन । चरित्रवान छोरी खोज्ने आमा बाबुले किन चरित्रवान छोरो खोज्दैन रु जति छोरीको निगरानी गर्छ समाज त्यहि दरले छोराको निगरानी गर्ने हो भने यौन हिंसामा घटनामा यसले धेरै हद सम्म रोक आउँछ ।

यसरी हेर्दा सामाजिक संरचनामा हामी कुन सभ्यतामा छौ यसैले प्रस्ट पार्छ ।समाजमा महिला प्रति हेर्ने दृष्टिकोण नै खराब छ । महिलाका बारेमा सोच्नु या मूल्याङकन गर्नु पर्यो भने आम मानिसले म महिला बाट जन्मिएको व्यक्ति हुँ भन्ने कुरा कहिल्यै सोच्दैन , महिला हाम्री आमा, हजुरआमा, दिदी, बहिनी, श्रीमती हुन् या सासु हुन् अनि यस्तै यस्तै अरु सबै साईनु सम्वन्ध भित्रका यावत सम्वन्धहरु, तर महिलाको मूल्यांंकन गर्दा परचक्रिर्र्र्की तरुनी’ छोरीको रुपमा हेरेर गरिन्छ । जसलाई आफू वा आफ्ना सन्तानले दुव्यवहार गर्दा जोगाउन सकियोस । यो घातक मनोविज्ञाले पनि यस्ता घटना बढ्न मलजल गरिरहेको छ ।

गाडीको भिडभाडमा ठोकीएको, चोक वजारमा आँखा झिम्क्याएको देखि लिएर लिभिङ टुगेदरमा बर्षौ देखि रहेर अन्त्यमा बलात्कृत भएको, बैवाहिक बलात्कार ,बलात्कार अनि बलात्कार पछि हत्या आदी सबै घटनालाई एकै टोकरीमा राखेर विषयको उठानमा तहल्का मच्चाइन्छ र बैठान सामान्य फितलो तरिकाले गरिन्छ । जसले गर्दा गम्भिर घटनाहरु पनि कालान्तरमा समान्यीकरण हुन्छन् । यसले समग्र महिला हिंसाका घटनालाई फितलो बनाइरहेको छ ।

निश्चित उमेर पगे पछि पृथ्वीका अन्य जिवजन्तु जस्तै मानिसमा पनि यौन चाहाना बढ्ने अवश्थामा पुग्छ । यो स्वभाविक प्राकृतिक कुरा हो तर यो विषयमा आवश्यक छलफल गर्ने स्थानमा घरपरिवार र समाज पुगेको छैन र विद्यालयमा पनि यस विषयमा खुला रुपले छलफल तथा अध्ययन अध्यापन हुदैन । जसले गर्दा यौन मनोकांक्षाको सहि रुपले व्यवस्थापन हुन पाउदैन यसले विष्फोटन ल्याउँछ र बलात्कार जस्ता घटना घटाउन प्रेरित गर्छ ।

हामीले विश्वका अपवादलाई छोडेर हेर्ने हो भने पितृसत्तालाई प्राकृतिक रुपमा स्वीकारिएको अवस्थाले प्रायशः धर्म, संस्कृति, संविधान, नियम कानुन, गीत–संगीत, साहित्य ,सञ्चारक्षेत्र आदिमा यसको प्रभाव परेको देखिन्छ । कहीं न कहीं पितृसत्ताको वरिपरि विश्व घुमिरहेको भान हुन्छ । विश्वमा हरेक कुनामा स्त्रीलिङ्गका चिन्हहरु जन्मन नपाई मर्ने गर्दछन् । विकसित भनिएका मुलुकमा यस्ता कृयाकलापले झनै प्रश्रय पाएको तथ्याङ्कले बताउँछ । यसको प्रभाव छिमेकी मुलुक भारत र क्रमश नेपालमा पनि परिरहेको छ । यस्तै, विश्वमा प्रचलित केही धर्महरुमा महिला र पुरुषका मृत्युसंस्कारहरुमा पनि फरक पाइन्छन् ।

यी कुरालाई अर्को शव्दमा भन्नु पर्दा गर्भबाट शुरु हुने महिला हिंसाको श्रृंखला चिहानमा पुगेर पनि अन्त्य हँुदैन । यसले पनि महिला हिंसा र बलात्कारका घटना घटाउन नेपथ्यवाट कारक तत्वको रुममा भुमिका खेलेको मान्न सकिन्छ ।

आज विश्व भरिनै महिला हिंसा विभिन्न कारणले बढ्ने गरेको पाइन्छ । धेरैजसो महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनु, महिलालाई समाजमा मनोरञ्जनको साधनका रुपमा लिइनु, अशोभनीय रुपमा विज्ञापनमा महिला प्रस्तुत हुनु, महिलामै हुने पुरुषवादी सोच, समान काममा पनि समान पारिश्रमिक नहुनु, महिलाहरु बिना ज्यालाका कामदारका रुपमा हुनु, महिलाहरुकै कतिपय चरित्रका कारण महिलाका मुद्दा कमजोर हुनु र केही महिलाले पाएका स्वतन्त्रताहरु दुरुपयोग गरी पुरुषलाई सास्ती दिएका प्रतिनिधि घटनाले अरु महिलाहरुको स्वतन्त्रता संकुचित भएर महिला हिंसा बढाउन प्रश्रय मिलेको पाइन्छ ।

यसैगरी, कतिपय अवस्थामा महिलामाथि भएका जघन्य घटनाहरु समेत गुपचुप पार्नु,अन्धविश्वास ,कुसंस्कार ,कुरीति ,कानुनको अनभिज्ञता ,कानुनका जटिल प्रकृया आदि कुराहरु बलात्कार तथा महिला हिंसा बढ्नुका कारक तत्वका रुपमा रहेको पाइन्छ । अनेकन समस्याका कारण शिक्षित, अर्ध शिक्षित, अशिक्षित सबै प्रकारका चेलीबेटीहरु दिनानुदिन बेचिएका छन् । बेचिएका धेरै जसो यौनजन्य भूँमरीमा फस्न पुग्दछन् ।
अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्तिका कारण पनि बलात्कारका घटनाका समस्या हट्न नसकेको तथ्यहरुले देखाउछ ।

कुनै पनि राजनीतिक दलले हाल सम्म यसका विरुद्धमा स्पस्ट राजनीतिक एजेण्डा प्रस्तुत गर्न सकेका छैनन् । हाम्रा समुदायमा देउकी, बादी, कम्लरी आदि प्रथा रहेको र जसले बलात्कारले प्रश्रय दिइरहेको कुरालाई नकार्न सकिदैन । नेपाली समाजमा महिला प्रतिको धारणा अझै पनि सकारात्मक हुन सकेको छैन, आदि पूर्वकाल देखि नै महिलालाई भोगविलास र मनोरञ्जनको साधनको रुपमा हेरीने दृष्टिकोण हाल झन् बढेको पाइन्छ जसका कारण यसलाई प्रश्रय मिलेको छ ।

नेपालमा राज्यका महत्वपूर्ण स्थानमा महिला पुग्नु, राज्यका हरेक निकायमा ३३ प्रतिशत हिस्सा कायम हुनु नेपाली महिला आन्दोलनको महत्वपूर्ण उपलब्धी मान्नु पर्छ तर पनि समग्र महिलाहरुको अवस्था र दैनिकीमा भने तात्विक भिन्नता भएको अझै पनि पाइँदैन । नेपालमा दिनानुदिन महिला हिंसा वढेको देखिन्छ । चेलीवेटी बेचविखन ,बलात्कार, हत्याका घटनाहरु भइरहेका छन् । ‘बिधवा’ र ‘बोक्सी’का नाममा निमुखा महिलाहरुले अपहेलित हुनु परेको छ , यहाँ दाइजो नल्याएको नाममा जिउँदै जलाइन्छन् महिलाहरु ।

पुरुषमात्र दर्शक, पाठक र स्रोता हुन जसरी सञ्चार सामाग्री बनाइन्छ, विज्ञापन बनाइन्छन् । यो महिलामाथि सकारात्मक रुपले गरिने नकारात्मक बिभेद हो । कतिपय अवस्थामा महिला आफँैले आफूहरुले पाएको अधिकारलाई दुरुपयोग गरेको कारणले गर्दा समाजमा जघन्य घटनाहरु पनि ओझेलमा परेका छन् । बलात्कारको घटनाका विषयमा छापा तथा श्रब्य दृश्य सामग्री प्रस्तुत गर्दा पीडितलाई अति लाचार र पीडकलाई कथित ‘शत्तिमान’का रुपमा दलवलका साथ प्रस्तुत गरिन्छ ।

जसले पिडित पक्षलाई झन पिडित वनाउने र पिडकको मनोवल बढेको पाइन्छ । विश्वमा नै आक्रामक रुममा बढिरहेको विभिन्न प्रकृति र स्वरुपका सामाजिक संजालको बजार नेपालका कुना कुना सम्म पुगेको छ जसको उपयोग सँगै दुरुपयोग पनि बढेको छ । जसले पनि नेपालमा बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु बढ्नुमा कारक तत्वका रुपमा काम गरेको मान्न सकिन्छ ।

माथि उठाइएका विषयहरुका तत्तत पक्षको मिहिन तरिकाले अध्ययन गरेर सोही बमोजिम सोहि ठाउँवाट सुधार गरे मात्र दिर्घकालिन रुपमा बलात्कार तथा अन्य हिंसाका घटनाहरु न्यूनिकरण गर्न तथा रोक्न सकिन्छ । नेपालमा ऐन कानुनको खाँचो नभए पनि यसको कार्यान्वयन पक्ष सधैं फितलो रहने गरेको पाइन्छ ।

यस्तै एउटै विषयमा दोहोरो कानुनी व्यवस्था र कार्यान्वयनमा स्वमर्जीको अवस्था रहने गरेको जगजाहेर नै छ । अत,समय सापेक्ष, एकिकृत र कठोर कानुन बनाई ससक्त रुपमा कार्यान्वयन गरि पीडित पक्षलाई न्याय र पीडक पक्ष लाई सजाय दिएमा मानव सभ्यता प्रति नै हित हुन्छ,जहाँ हामी सवैको कल्याण हुन्छ । यसैमा छ– तपाईं मेरा आमा दिदीबहिनीको हित, जहाँ हाम्रो हित पनि सँगै जोडिएको छ ।

 

                                                                                                                          अधिवत्ता : खेमराज अधिकारी, इलाम

                                                                                                                                 ९८५२६८०३६०
                                                                                                                                          adhikarikhem98@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार