कोभिड १९ को बढ्दो जोखिम र अन्योलग्रस्त सरकारहरू

  अरुण नेपाल  166 पटक हेरिएको

कोभिड १९ को विश्वव्यापी महामारीलाई लिएर अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरका घटनाक्रमवीचमा ठूलो विरोधाभासपूर्ण परिस्थिति पैदा हुँदै गएको देखिन्छ । यस्तो विरोधाभासपूर्ण परिस्थितिकै कारण जनतामाझ ठूलै भ्रम पैदा हुँदै गएको छ । त्यसमा पनि यस्तो विरोधाभासपूर्ण परिस्थिति पैदा हुँदै जाँदा नेपाल कोभिड १९ को संक्रमणमा नराम्ररी फस्न सक्ने खत्तरा दिनप्रतिदिन बढ्दै गएको अनुभुति हुन थालेको छ । कोभिड १९ को संक्रमणका सम्बन्धमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरमा देखिएका यस्ता विरोधाभासपूर्ण परिस्थितिको अन्त्य गर्दै नेपाल र नेपालीलाई कोरोना भाइरसको बढ्दो जोखिमबाट जोगाउन नेपालका अन्योलग्रस्त सरकारहरू थप जिम्मेवार र सम्बेदनशील बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अन्तर्राष्ट्रिय अवस्था

कोरोना भाइरसको विश्वव्यापी प्रभावको कोणबाट नियाल्दा आज समग्र विश्व नै कोभिड १९ को शिकार भएको छ । संसारका शक्तिशाली भनिएका मुलुक अमेरीका, वेलायत, चीनदेखि लिएर इटली, जर्मन, भारत, ब्राजील आदि मुलुकलाई कोभिड १९ ले सताउनसम्म सताएको छ । कतिपय मुलुकमा त कोभिड १९ को दोस्रो लहर समेत शुरू भएका समाचार पनि सुनिदैछन् । यसरी कोभिड १९ को प्रभाव थप पेचिलो बन्दै जाँदा यो महामारीबाट बच्न र बचाउन सबैजसो मुलुक उच्च सतर्कता अपनाउने विषयमा एकपछि अर्को निर्णय गरि नै रहेका छन् । विश्व स्वास्थ्य संगठन यस महामारीबाट सुरक्षित रहने अनेक उपाय वताउँदै कोरोना भाइरसबाट बच्न र बचाउन संसारकै विशेष ध्यानाकर्षण गरेको गरेकै छ । त्यस्ता उपाय मध्ये पनि नाक र मुख दुवै ढाक्ने गरी मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबन पानीले पटकपटक हात धुने, आवश्यकता अनुसार सेनिटाइजरको प्रयोग गर्ने, आदिजस्ता सरल उपाय अवलम्बन गरेर कोरोनाबाट बच्न र बचाउन विश्व स्वास्थ्य संगठन र अन्य विभिन्न मुलुकका सरकारहरू दुनियाँलाई अपिल गरेका गरेकै छन् । विश्वव्यापी रूपमा गरिएका त्यस्ता अपीलबाट नेपाल पनि वेखवर हुने कुरै भएन ।

राष्ट्रिय अवस्था

राष्ट्रिय स्तरमा भन्नुपर्दा नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको अपीललाई गम्भीरतापूर्वक ग्रहण गर्दै कोभिड १९ बाट बच्न र बचाउन नेपाली जनतालाई पनि विभिन्न सञ्चारमध्यमबाट त्यस्ता सुचना जारी गरिरहेकै छ जस्तो लाग्छ । अनावश्यक भीडभाड गर्न छाडेर अत्यावश्यक काम बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत सबैजसो सरकारहरूले केहि न केहि प्रयास गरिरहेकै छन् जस्तो पनि लाग्छ । बढि भीडभाड हुन सक्ने विश्वविद्यालय, विद्यालय, सिनेमा हल आदिजस्ता स्थल ठप्पप्रायः छन् । मानिसहरूको अलिक बढि चहलपहल हुने होटल व्यवसाय त निकै धराशायी नै भइसक्यो भनिदैछ । यातायात क्षेत्र पनि अस्तव्यस्त नै छ भनिदैछ । कयौं नेपाली जनता भोकभोकै मर्ने अवस्था सिर्जना भइसकेको कुरा आकलन गरिदैछ । यो वा त्यो मुद्दामा हुने आन्दोलन, जात्रा वा अन्य यस्तै कारणले सडकमा पनि निकै चहलपहल बढ्न लागेजस्तो देखिदैछ । यहिवीचमा आत्महत्याका घटनामा थप बृद्दि भयो भनिदैछ । बलात्कार र हत्याका घटनामा बृद्दि भएको भएकै छ । खाद्यान्न लगायत अत्यावश्यक चीजवस्तुको बढ्दो अभाव र निराशाका कारण डिप्रेसनका विरामी बढेका बढेकै छन् भनिदैछ । खान नपाएर, डिप्रेशन भएर र कोरोना बाहेकका अन्य रोगको उपचार गर्न नपाएर के कति मानिसको मृत्यु भयो भन्ने कुराको कुनै लेखाजोखा नै छैन भन्ने निकै अकल्पनीय र कहालीलाग्दा कथाहरू पनि सुनिदैछ । यसरी खान नपाएर, डिप्रेसन भएर, आत्महत्या गरेर, बलात्कार भएर, अन्य रोगको समेत उपचार नै नभएर वा अन्य यस्तै कुनै पनि कारणले मर्नु नै छ भने अब कोरोनाबाट मर्न चाहिँ किन डराउने त ? भन्ने प्रश्न राष्ट्रव्यापी रूपमै उठ्न थालेको हो कि जस्तो भान हुन थालेको छ । सायद यस्तैयस्तै दवाव थेग्न नसकेर हो वा सरकारहरूको कार्य क्षमता अभावको कारण हो सरकारहरूले विश्व स्वास्थ्य संगठन र आफैंले जारी गरेका कोरोनाबाट बच्ने उपायलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुभन्दा पनि परिस्थिति थप खुकुलो बनाएर कोरोना संक्रमणको जोखिम बढाउन स्वयं सरकारहरू नै अग्रसर भएका हुन् कि जस्तो अनुभुति हुन थालेको छ । जुन तर्कलाई पुष्टि गर्ने संघीय सरकारको पछिल्लो कदमका रूपमा उसले लामा दुरीका सवारी साधन सञ्चालन गर्न दिएको छुटलाई लिन सकिएला ।

सरकारको यो निर्णय किन पनि निकै जोखिमपूर्ण छ भने आज काठमाण्डौ उपत्यकालाई कोभिड १९ ले सबभन्दा बढि गाँजेको छ । लामा दुरीका अधिकांश यातायात साधनको उपत्यकासँग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध जोडिएको छ । जानेर वा नजानेर कोभिड १९ को कोहि पनि विरामी कोभिड १९ बाट सुरक्षित भनिएका नेपालका कुनै पनि स्थानमा पुगे भने मुलुकका सबैजसो स्थान चाँडै नै कोरोनामय बन्न सक्ने जोखिम बढ्न सक्ने देखिन्छ । यसरी कोहि पनि कोरोना संक्रमित विरामी त्यस्ता सुरक्षित भनिएका स्थानमा पुगे भने समाजमा कोरोना द्रुत गतिले फैलन सक्ने वातावरण सिर्जना गर्न कतिपय स्वयं स्थानीय सरकारहरूकै निर्णय नै सहयोगी बन्न सक्ने अर्को सम्भावना पनि उत्तिकै देखिदैछ ।

नेपालका सरकारहरूले पनि विश्व स्वास्थ्य संगठनको अपीलसँग मिल्दाजुल्दा सुचना जारी गरेजस्तो पनि लाग्छ । तर अर्कातिर नेपाल सरकारले लामा दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएको अवस्था छ । स्थानीय सरकारहरू यो वा त्यो विकल्प अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिदैछन् । अनलाइन कक्षाको विकल्प अपनाउन सक्ने क्याम्पसहरूमा समेत त्यस्ता विकल्प अपनाउन छाडेर अनावश्यक भीड जम्मा गरी गैरकानुनी र अप्राज्ञिक कृयाकलाप गर्न मैदानमा उत्रने प्रवृत्तिलाई नै कतिपय स्थानीय सरकारहरूले संरक्षण गर्ने निकै आपत्तिजनक र लज्जाजनक दृश्य पनि देखिदैछ । यसरी कोभिड १९ को जोखिम कम गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सरकारहरूका यस्ता विरोधाभासपूर्ण गतिविधिले सर्वसाधारण जनतामाझ ठूलो भ्रम उत्पन्न हुँदै गएको अन्योलग्रस्त अवस्थाप्रति सबै सरकारहरू र जिम्मेवार निकायहरूको गम्भीर ध्यानाकर्षण होस् । 

स्थानीय अवस्था

स्थानीय सरकारहरू मध्ये पनि इलाम नगरपालिकाकै कुरा गर्ने हो भने इलाम नगरपालिकाले विद्यालय सञ्चालनका सम्बन्धमा विद्यालयहरूलाई विभिन्न विकल्प दिदै कुनै पनि एक विकल्प रोज्न नगरपालिकाका सबै विद्यालयहरूलाई निर्देशन जारी गरेछ । उक्त निर्देशन बमोजिम विद्यालयहरूका बैठक बस्न थालेछन् । कतिपय विद्यालयहरूले ती विकल्पको प्रयोग गर्दै विद्यालय सञ्चालन नै गर्न थालेका समाचार समेत सुनिन थालेका छन् । अब यहाँ जोड्न खोजिएको प्रसंग के हो भने, एकातिर सबै सरकारहरू भीडभाड हुने कुनै पनि कृयाकलाप नगर्न अपील गर्दैछन् भने अर्कातिर तिनै सरकारहरू लामा दुरीका यातायात र विद्यालय सञ्चालन गर्न पनि निर्देशन दिदैछन् । लामा दुरीका सवारी साधनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध काठमाण्डौ उपत्यकासँग जोडिएको छ । उपत्यकामा कोरोना संक्रमित विरामीको संख्या तीव्र गतिमा बृद्दि हुँदैछ । उपत्यकामा बसोबास भएका कोहि पनि कोरोना संक्रमित विरामी जानेर वा नजानेर कोरोना संक्रमणबाट सुरक्षित भनिएका कुनै पनि स्थानमा पुग्न सक्ने सम्भावना बढ्न सक्छ । त्यसरी घरमा पुगेका व्यक्ति घरपरिवारमा घुलमिल हुँदा परिवारका सदस्य समेत कोरोनाको शिकार हुन सक्छन् । त्यहि परिवारका सदस्य शिक्षक, कर्मचारी वा विद्यार्थीको रूपमा स्थानीय सरकारहरूको निर्णयको कार्यान्वयन गर्दै खुलेका विद्यालय जाँदा विद्यालय परिवारमा कोरोना फैलन सक्ने जोखिम बढ्न सक्छ । त्यस्तै अनलाइन कक्षाको विकल्प अपनाउन बढि सम्भव हुने विश्वविद्यालयका क्याम्पसमा समेत त्यस्ता विकल्प अपनाउन अनिच्छुक प्रवृत्तिलाई कतिपय स्थानीय सरकारहरूले संरक्षण गरिदिदा त्यस्ता क्याम्पसहरूमा समेत यो वा त्यो निहुँ र बहानामा भीड बढ्ने र मुठभेडको वातावरण सिर्जना हुन सक्ने निकै दुर्भाग्यपूर्ण वातावरण समेत बन्दै गइरहेको छ । भीडभाडलाई कम गरेर वा नियन्त्रण गरेर कोरोनाबाट बच्न र बचाउन अपील गर्ने सरकारहरू नै यसरी भीडभाड बढाउन सक्ने यातायात, विद्यालय र विश्वविद्यालय सञ्चालन गर्दा हुन सक्ने भीडभाडकै कारण कोरोना फैलन सक्ने सम्भावनाप्रति उदासिन बन्दै जाने कुरालाई सर्वसाधारण जनताले कसरी बुझ्ने ? त्यति मात्र होइन, सर्वसाधारण जनतालाई मास्क लगाउन, भौतिक दुरी कायम गर्न, सावन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न आव्हान गर्ने सरकारी कार्यालयहरू, अस्पतालहरू, विद्यालयहरू, विश्वविद्यालयहरू तथा सरकारी प्रतिनिधिहरू उपस्थित कार्यक्रमहरूमा नै उक्त सतर्कता अपनाएको देखिदैन । यदि सरकारी अधिकारीहरूले नै आफैंले जारी गरेका सुचनाको उल्लंघन गर्दै उनीहरूले सर्वसाधारण जनतालाई मात्र त्यस्ता सतर्कता अपनाउन अपील गर्ने कुरालाई सर्वसाधारण जनताले कसरी बुझ्ने ? त्यो भन्दा पनि गम्भीर कुरा त विद्यालय सञ्चालन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालय र गृह मन्त्रालयका परस्पर विरोधी सुचनाका कारण जनतामाझ ठूलै अन्योल सृजना भएको छ । शिक्षा मन्त्रालय र स्थानीय सरकारहरू विद्यालय सञ्चालन गर्न सुचना जारी गर्छन् भने गृह मन्त्रालय त्यसो नगर्नु भन्छ । अनि कुन सुचनालाई आधिकारिक मान्ने होला भन्ने कुराले सरोकारवालाहरू नै अन्योलग्रस्त बनेको देखिन्छ । यसरी संघीय सरकारकै दुइ मन्त्रालयवीच समेत आवश्यक समन्वय हुन नसक्नु निकै दूर्भाग्यपूर्ण कुरा हो । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने सवालमा देखिएका सरकारहरू र सरकारी अधिकारीहरूका यस्ता विरोधाभासपूर्ण कृयाकलापले कतै जनतामाझ नै झन् ठूलो भ्रम र अन्योल पैदा हुँदैछैन र ? कोरोना संक्रमणको जोखिम कम गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सरकारहरू स्वयं यसरी अन्योलग्रस्त बनिदिदा कोभिड १९ को महामारी झन् अनियन्त्रित बन्ने खत्तरा बढ्दैन र ?

निश्कर्ष

एकातिर विश्वभर फैलिएको कोभिड १९ को महामारीकै कारण विश्वकै महाशक्ति राष्ट्र हौं भन्नेहरू समेत थला परेर उनीहरूले सतर्कताका थप कडा उपाय अवलम्बन गर्दै गएको अवस्था छ । विश्व स्वास्थ्य संगठनले समेत थप सतर्कता अपनाउन बारम्बार अपील गरिरहेको छ । नेपालका सरकारहरूले पनि विश्व स्वास्थ्य संगठनको अपीलसँग मिल्दाजुल्दा सुचना जारी गरेजस्तो पनि लाग्छ । तर अर्कातिर नेपाल सरकारले लामा दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएको अवस्था छ । स्थानीय सरकारहरू यो वा त्यो विकल्प अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिदैछन् । अनलाइन कक्षाको विकल्प अपनाउन सक्ने क्याम्पसहरूमा समेत त्यस्ता विकल्प अपनाउन छाडेर अनावश्यक भीड जम्मा गरी गैरकानुनी र अप्राज्ञिक कृयाकलाप गर्न मैदानमा उत्रने प्रवृत्तिलाई नै कतिपय स्थानीय सरकारहरूले संरक्षण गर्ने निकै आपत्तिजनक र लज्जाजनक दृश्य पनि देखिदैछ । यसरी कोभिड १९ को जोखिम कम गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सरकारहरूका यस्ता विरोधाभासपूर्ण गतिविधिले सर्वसाधारण जनतामाझ ठूलो भ्रम उत्पन्न हुँदै गएको अन्योलग्रस्त अवस्थाप्रति सबै सरकारहरू र जिम्मेवार निकायहरूको गम्भीर ध्यानाकर्षण होस् ।

(लेखक मरब, क्याम्पस, इलामका सहप्राध्यापक  हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार