कलिलैमा बजार पुग्छ कीवी, गुणस्तरहीन हुँदा समस्या

इलाम : इलाममा उत्पादन भएको कीवी कलिलैमा बजारमा पुग्दा समस्या हुने भन्दै तत्काल रोक्न कृषिज्ञान केन्द्रले निर्देशन दिएको छ । काँचो कीवी बजारमा आउनाले गुणस्तरीय नहुने भन्दै यस्तो काम तत्काल बन्द गर्न कृषि ज्ञान केन्द्रले सूचना निकालेर निर्देशन दिएको हो ।

कृषि ज्ञान केन्द्रका निमित्त कार्यलय टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयुक्त हुने कीवी अहिले नै बजारमा आउन थालेको छ । यति बेलाको कीवीमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्द गर्नुपर्ने बर्देवाको भनाइ छ । जिल्लामा कीवी खेती फस्टाएको र प्रतिबोट करिव दुई सय किलो सम्म उत्पादन हुने कीवी कलिलैमा टिपेर बजारमा पुर्याउनाले गुणस्तरीय नहुने भएकाले तत्काल नियन्त्रण गर्नुपर्ने बताइएको हो ।

विषादीको प्रयोग नगरी पाकेको कीवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ । यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य कीवी मानिने कीवी विज्ञहरु बताउँछन् । इलाम कीवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘कीवी जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई कीवी जोन क्षेत्र घोषणा गरिएको छ ।

इलामको कीवी इलाम बजार, राँके, झापाको बिर्तामोडदेखि काठमाडौंसम्म जाने गरेको छ । जिल्लाका तीन हजार भन्दाबढी किसानले इलाममा कीवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार