लकडाउनमा स्थगित इभाङ-चतुरे सडक कालोपत्रे सुरु

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ-चतुरे सडकको कालोपत्रेको काम पुन: सुरु भएको छ ।

विश्वमहामारी कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित भएको काम करिब ६ महिनापछि सुरु भएको हो ।

नेपालटार-शान्तिडाँडा-मंगलबारे-धुसेनी-गजुरमुखी-इभाङ-चतुरेमोड-दमक खण्डमा पर्ने इभाङ-चतुरे सडक कालोपत्रेको काम अहिले तीब्र गतिमा अगाडी बढेको छ । लकडाउनका कारण स्थगित भएको काम पुन: सुचारु भएपछि स्थानीयबासी हर्षित भएका छन् ।

यसअघि वर्षातको पानीले सो सडक क्षतिग्रस्त बनाउँदा पनि कम्पनीले मर्मत नगरेको भन्दै आक्रोशित भएका थिए । गाउँगाउँमा कृषि सडक पुगेको भएपनि मुख्य सडक नहुँदा स्थानीय स्तरमा उत्पादित नगदे बालिले राम्रो मूल्य नपाउँदा किसानहरु दुखी थिए । तर अब सडकको काम तीब्र गतिमा अगाडी बढेसँगै माङसेबुङबासी हर्षित भएका हुन् ।

सो सडक कालोपत्रेका लागि भएको सम्झौता बमोजिम करिब ६२ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को तिखे गोलाईबाट वडा नम्बर ३ को  चतरे बजारसम्मको १३ दशमलव २७९ किलोमिटर किलोमिटर सडक कालोपत्रे हुँदैछ । निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले सो कामको ठेक्का पाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लगानीमा माङसेबुङ २ तिखे गोलाईदेखि माङसेबुङ ३ चतुरेसम्मको सडक कालोपत्रे भइरहेको छ । सो सडक चतुरेस्थित दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) सँग जोडिनेछ ।

निर्माण कम्पनीले ५ वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रुपमा कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । ५ वर्षमध्ये २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्को १ वर्ष दिइएको छ । बाँकी २ वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।

आयोजनाको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । गत २५ मङ्सिर २०७५ मा आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो ।

जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नाली बाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुनेछ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्र सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा सर्वसाधारणको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार