नमुना नगर बन्‍ने आधार तयार भएको छ : नगरप्रमुख राई (भिडियो सहित)

स्थानीय तहमा कोरोना भाइरस (कोभिड १९) को प्रभाव, बाढिपहिरोको जोखिम, संचालन भईरहेका गतिविधि, कार्यक्रमका योजना तथा कार्यान्वयन, स्थानीय पूर्वाधार निर्माणको प्रगति लगायतका विषयमा इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईसँग नयाँ बुलन्दका सम्पादक राम योङहाङले गरेको संवादको सम्पादित अंश :

नगर प्रमुखको रुपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?

अझैपनि धेरै काम गर्न बाँकी छ । जति हामीले समय व्यतित गरिरहेका छौं, त्यति नै धेरै कुराहरु सिक्दै, अनुभव गर्दै र थप व्यवस्थित गर्दै जाने क्रममा छौं । जतिजति दिनहरु बित्दै जायन्छ, त्यतित्यति नै नयाँ अनुभवहरु बढ्दै गइरहेको छ ।

तपाईको नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को अवस्था र त्यसले पारेको प्रभाव कस्तो छ ?

कोरोना भाइरसको प्रभाव विश्वमा नै परिरहेको छ । हामीले भर्खरै मात्र त्यका लागि बैठक बस्यौं । बैठकमा कोरोना भाइरसको कारणले सबै क्षेत्रमा पारेका प्रभाव के छन् भन्ने बारेमा एउटा प्रतिवेदन तयार गर्ने निर्णय गरेका छौं । त्यो प्रतिवेदन तयार गर्नुभन्दा पहिला नमुना प्रश्नोत्तर तयार गर्दै छौं । त्यो प्रश्नोत्तर दिएर सर्भेमा जान्छौं । त्यपछि मात्र ठ्याक्कै यसको प्रभाव के-केमा कत्ति परेको रहेछ भन्ने यथार्थ जानकारी आउँछ ।

अहिले जोखिमको अवस्था कस्तो छ ?

भारतसँगको खुल्ला सीमानाका कारण धेरै जोखिमहरु छन् । जोखिम भएतापनि त्यो जोखिम र चुनौतीसँग लड्नुको विकल्प छैन । जस्तोसुकै जोखिम र चुनौतीको पनि सामना गर्न तयार छौं ।

बाढि पहिरो लगायत प्राकृतिक प्रकोपको जोखिमको अवस्था कस्तो छ ?

यो साल धेर वर्षा भएको छ । वर्षाका कारण बाढी पहिरोले अधिकाशं बाटोहरुमा क्षति पुर्‍याएको छ । हामीसँग १४ वटै वडा तथा सबै टोलटोलमा जाने बाटोहरु छन् । नगरपालिकाभरी झण्डै ४ सय ५० भन्दा धेरै बाटोहरु छन् । एउटा बाटोलाई मर्मत सम्भार गर्न कम्तीमा पनि १० हजार दिनुपर्‍यो भने ४५ लाख, १ लाख दिनुपर्यो भने साढे ४ करोड जाने रहेछ । हाम्रो संरचना त्यस्तो छ । त्यस्तो संरचना व्यवस्थित गर्दै लानुपर्नेछ । त्यसो भएको हुनाले अहिले वर्षाका कारणले बाटोहरु अलि अव्यवस्थित नै छन् । कतिपय क्षतिग्रस्त भएका छन् । बढी हिलाम्य भएको छ । कुनैकुनै ठाउँमा अवरुद्ध समेत छ । त्यसको पनि व्यवस्थापन गर्दै जानुपर्छ भनेर नगरपालिका दीर्घकालीन सोंचमा अघि बढिरहेको छ ।

नगरपालिकाको समृद्धिका लागि ३ वर्षको अवधिमा भएका महत्वपूर्ण कामहरु के-के छन् ?

नमुना नगरका लागि ट्रयाक निर्माण भएको छ । अझै कामहरु बाँकी छन् । यो त्यति सजिलो छैन । सूर्योदय नगरपालिका नमुना नगरपालिका बन्छ । नमुना नगर बन्ने धेरै आधारहरु भएको नगरपालिका हो । पहिले वार्षिक कार्ययोजनामात्र बनाउँथ्यौ । तर अहिले आवधिक योजना र दीर्घकालीन योजनाका साथ अगाडी बढिरहेका छौं । त्यसका लागि आवश्यक डकुमेन्टेशनसहरु तयार गरेका छौं । नमुना नगरपालिका बनाउनका निम्ति आवश्यक पूर्वाधारहरु अगाडी बढाएका छौं । त्यसका निम्ति हामीसँग भएका खोलानालाको सही तरिकाले, बहुआयमिक तरिकाले प्रयोग गर्नका निम्ति नमुना सरोबर बनाउन प्लान तयार गरिसकेका छौं ।

सूर्योदय नगरपालिकामा पर्यटकलाई बस्न र कम्तिमा पनि केही दिन रहन सक्ने गरि त्यसको व्यवस्थापन गर्दैछौं । जस्तो, भर्खरै मात्र झण्डै ७२ किलोमिटरको साइकलिङको रुट तयार बनाउने कामको सर्भे गर्ने काम गरेका छौं । सूर्योदय नगरपालिकालाई नेपालकै पर्यटकहरु घुम्नैपर्ने पर्यटकीय स्थानहरु बनाउनुपर्छ भन्ने हाम्रो योजना थियो । त्यसलाई संघीय सरकारले समावेश गरिसकेको अवस्था छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी भनेर घोषणा गरिसकेको छ । अहिले हामी यसका निम्ति विस्तृत परियोजना अध्ययन (डिपीआर) गर्ने, तथा सर्भेहरु गर्ने कामहरु गरिरहेका छौं । केही ठाउँहरुमा नमुनाका रुपमा काम गरेका छौं । जस्तो, सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, त्यसलाई छुट्टै तरिकाले व्यवस्थापन गर्ने काम गरेका छौं । हामीसँग भएका साना खोलानालाहरुलाई व्यवस्थापन गरेका छौं ।

पर्यटकीय नगरलाई समृद्ध नगर र नमुना नगर बनाउन पर्यटकीय नगर बनाएर मात्र पनि हुँदैन  । कृषिको पनि एउटा हब्स बनाउनुपर्छ । किसानको आयश्रोत बढाउनुपर्छ । त्यसको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाएका छौं । कृषिलाई प्रमुख प्राथमिकता राखेर बजेट विनियोजन गरेका छौं । प्रत्येक कृषकको घरघरमा नगरपालिका पसेको छ र नगरपालिकाले सबैको ढोका ढकढक्याएको छ भन्ने अनुभूति गरोस् भनेर त्यस्तो प्रकारको कार्यक्रम अगाडी बढाइरहेको अवस्था छ । त्यसका लागि ‘एक घर एक उन्नत जातको गाई’ अभियान संचालन गरेका छौं । हामी भविष्यमा सूर्योदय नगरपालिकालाई गाईको महत्वपूर्ण श्रोत केन्द्र र सम्बन्धित विभिन्न कलकारखाना बनाउनका निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरु, प्रत्येक दिन दूध उत्पादन गर्नका निम्ति पूर्वाधारहरु तयार गरेर अगाडी बढेका छौं ।

यहाँ ६० प्रतिशत बढी किसानहरु चिया कृषक हुनुहुन्छ । चियालाई पनि विशेष प्राथमिकता दिनुपर्छ भनेर लागेका छौं । सूर्योदय नगरपालिकालाई नेपालकै नमुना टि टेस्टिङ सेन्टरको सुरुवात भइसकेको अवस्था छ । कन्याम जहाँ एउटा गाडी पनि छिर्न नसक्ने अवस्था थियो । त्यहाँ सडक विस्तार गरेका छौं । पर्यटकलाई आकर्षित गर्न त्यहाँ आगामी वर्ष त्यहाँ १८ प्रजातिको लालिगुराँसहरु रोप्नका निम्ति प्लान्टेशन गर्नका निम्ति विरुवारहरु ल्याएर हाम्रै नर्सरीमा राखिसकेको अवस्था छ । यस्ता धेरै कामहरु गरिरहेका छौं । तीमध्यै यहाँ कही प्रतिनिधि उदाहरण मात्र प्रस्तुत गरेको हुँ ।

तपाईको नगरपालिकामा यो वर्ष प्रमुख प्राथमिकतामा परेको विकास योजनाहरु के-के हुन् ?

हाम्रो विशेष प्राथमिकता कृषि हो । कृषिलाई प्राथमिकताका साथ राखेका छौं । त्यसैगरी समतामूलक समाज निर्माणका निम्ति दीगो विकासका लक्ष्यहरु प्राप्त गर्न चाहिने आवश्यक पूर्वाधारहरु, त्यसैगरी त्यहाँ पुग्नका निम्ति चाहिने विषयहरुलई विशेष प्राथमिकतामा राखेका छौं । दीगो विकासका लक्ष्यहरुलाई समेट्ने गरीको विकासका योजनाहरुलाई नै प्राथमिकतामा राखिएको छ ।

तपाईको नगरपालिकाको मुख्य केन्द्र मेची मार्गले छोएर गएको छ । ग्रामीण क्षेत्रमा सडक संजालको अवस्था कस्तो छ ?

सूर्योदय नगरपालिका नयाँ नगरपालिका भएकाले केही पनि पूर्वाधारहरु थिएन । केके भएमा नगरपालिका बन्छ? केके सुविधाहरु भए भने व्यवस्थित नगरपालिका हुन सक्छ भन्ने बारेमा कुनै अध्ययन गरिएको थिएन । सूर्योदय नगरपालिकाले प्रत्येक सडक संजालका निम्ति नगरपालिका यातायता गुरुयोजना (एमटीएमपी) तयार गरिसकेको अवस्था छ । त्यही अनुसार प्रत्येक टोलमा सडक संजाल विस्तार गर्दै अगाडी बढेका छौं । नगरपालिकाको श्रोत नक्सा तयार गरिसकेको छ । नगरपालिकाको वस्तुस्थिति विवरण तयार गरिसकेका छौं । त्यही अनुसार यो नगरपालिका कस्तो नगरपालिका हो र यसलाई कस्ता कार्यक्रम गर्दा समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिदैं अगाडी बढिरहेका छौं । नगरपालिकाले आफ्ना वास्तविक तथ्याङहरु तयार गर्दै  त्यहीअनुसार कार्यान्वयन गर्दै गइरहेको अवस्था छ ।

सिंहदरबार गाउँगाउँमा पुग्यो, निम्न वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको अनुभूति गर्न पाएनन् भन्ने गुनासो सुनिन्छ नि ?

अहिले हाम्रो संविधान अनुसार तीन तहको सरकार बनिसकेको अवस्था छ । संघीय संरचना अनुरुप स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सहकार्य गरेर अगाडी बढ्नुपर्छ । आफ्नो सहअस्तित्व पनि जोगाउनुपर्‍यो, र समन्वय गर्दै अगाडी बढ्नुपर्‍यो भन्ने सिद्धान्तको आधारमा चलेको हुनाले विगतमा केही समस्याहरु नभएका होइनन्, थिए । र कुन तहले कुन प्रकारका कार्यक्रमहरु गर्ने, कस्तो प्रकारका आयोजनाहरु गर्ने, कस्तो प्रकारका योजनाहरु बनाउने भन्ने द्विविधाहरु नभएका होइनन्, थिए । तर अहिले विस्तारै विस्तारै ती सबै अभ्यास, काम र आयोजनाको वर्गीकरण हुँदै गएको छ । अब ती तीनै तहका सरकारहरु मिलेर काम गर्नेछ । हामीसँग कानुनहरु प्रसस्त बनिएको अवस्था नभएकाले समस्या थियो । तर अहिले प्रसस्त कानुहरु बनाएका छौं । कानुन बनाइसकेपछि हामीले पाएका अधिकारहरु के हुन्, जनताका अधिकारहरु के हुन्, तल्लो तहका किसानहरुको अधिकार के हुन् भन्ने कानुनहरु तयार गर्दैछौं । अब केही कानुनहरु मात्र बन्न बाँकी छन् । ती सबै कानुनहरु तयार भइसकेपछि जनताले घरघरमा सिंहदरबार पुगेको अनुभूति गर्न सक्नेछन् । अहिले पनि जनता सन्तुष्ट नै छन् भन्ने विश्वास छ ।

केन्द्र र प्रदेश सरकारबाट सहयोग कस्तो पाइराख्नुभएको छ ?

अहिले राष्ट्रिय योजना आयोगले पनि एक प्रकारको वर्गीकरण गरेको छ काम र कार्यक्रमको । विभिन्न ठाउँहरुमा छलफल समेत हुने गरेको छ । जनप्रतिनिधले पनि बुझ्दै गइरहेको अवस्था छ । हामीले कानुनअनुसार हाम्रो अधिकार यो हो भन्ने प्रष्ट छौं । हाम्रो अधिकार हनन् भएमा तुरुन्त बोल्छौं । अहिले केही केही एकाध समस्यादेखि बाहेक सबै हल हुँदै गइरहेको अवस्था छ । खासै असहयोग छैन ।

तपाईको नगरपालिकामा बजेटको पर्याप्तता कस्तो छ ?

बजेट धेरै भएर सबै कुरा हुने होइन । बजेटको कार्यान्वयन सही तरिकाले भयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । बजेटलाई कार्यान्वयन गर्न सक्ने क्षमता हामीसँग छ की छैन ? त्यो प्रकारका प्रविधि र जनशक्ति  छ कि छैन त्यो महत्वपूर्ण हो । पक्कै पनि बजेटले प्रभाव पार्छ तर त्यसका लागि क्षमतावान जनशक्ति आवश्यक पर्दछ ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा समस्या भएका उदाहरणहरु प्रशस्तै छन्, तपाईको नगरपालिकामा कर्मचारीसँगको काम गर्ने वातावरण कस्तो छ ?

हामीले कानुनहरु दर्बिलो बनाएका छौं । ऐन, कार्यविधि र नर्देशिकाहरु बनाएका छौं । त्यही ऐन, कार्यविधि र नर्देशिकाभित्र रहेर काम गर्दा त्यत्रो समस्या छैन । हामीले त्यस्तो अनुभूति गरेको छैनौ । तर कुनैकुनै सानातिना कामहरुमा कहिलेकाँही गल्तीहरु हुन सक्छन् । त्यो देखि बाहेक कार्यपालिकामार्फत काग गर्ने गरेका छौं । बढी प्राथमिकता कार्यापालिकालाई नै दिएको हुनाले हामीसँग त्यस्तो कुनै समस्याहरु छैन ।

अब तपाईको कार्यकालमा गर्न बाँकी तपाईका योजनाहरु के-के छन् ?

हामीले आवधिक योजना बनाएका छौं । योजनाअनुसार चल्ने भएको हुनाले आवधिक योजना र दीर्घकालीन सोंचमा नै विशेष हाम्रो जोड  छ । त्यही अनुसार अगाडी बढ्छौं । आवधिका योननामा दीगो विकासलाई लक्ष्यहरुलाई विशेष प्राथमिकताका साथ उठाएका छौं । नगरलाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिन्छ र यहाँको प्रमुख आवश्यकता के हो भन्ने कुरालाई मध्यनजर गर्दै काम गर्छौं । हाम्रा लक्ष्यहरु पूरा गर्छौं र म नगरपालिको प्रमुख हने ५ वर्षका लागि हो । यो अवधिमा एउटा ट्रयाक बनाइसकेका छौं । त्यो ट्रयाकमा अनिवार्य अरु पनि हिँड्नै पर्छ । त्यसले गर्दा एउ६ नमुना नगरपालिका बनाउनका निम्ति त्यो ट्रयाकले काम गर्छ भन्ने हामीलाई आशा  र विश्वास छ ।

संचार क्षेत्रसँग कसरी समन्वय गर्दै हुनुहुन्छ ?

संचार क्षेत्रसँगको समन्वय राम्रै छ । संचार क्षेत्रबाट हामीले पर्याप्त मात्रामा सहयोग पाएका छौं । नगरले गरेका राम्रा कामहरु नागरिकसम्म पुर्‍याउन उहाँहरुले राम्रै प्रचार गर्नुभएको छ । र नराम्रा कामहरुके बारेमा प्रश्न उठाइदिनु पनि भएको छ । त्यसका लागि हामीले धन्यावद पनि दिएका छौं । त्यसले गर्दा हामीले सिक्ने मौका पनि पायौं । त्यलाई सुधार गरेर जानुपर्छ भन्ने शिक्षा लिदैं हामी अगाडी बढेका छौं । यदि सकरात्मक मात्र आउने हो भने त त्यसले त्यति काम नगर्दो रहेछ तर नकरात्मक पक्ष पनि आइदियो भने अझ सतर्क भएर हामीलाई काम गर्ने वातावरण बन्दो रहेछ भन्ने मेरो ३ वर्षे कार्यकालबाट अनुभव गरेको छु ।

भिडियो अन्तरवार्ता हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार