डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर

सारियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

  नयाँ बुलन्द
0 Shares


Dr gobinda kc hunger strike

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ ।

सत्याग्रहको छैठौँ दिन शनिबार डा. केसीको इच्छाविपरीत उहाँलाई प्रतिष्ठानमा सारिएको उहाँका सहयोगीले जानकारी दिएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएपछि डा. केसीलाई जबरजस्ती प्रतिष्ठानमा सारिएको हो ।
भदौं २९ गते जुम्ला बजारनजिकै सिंहचौरस्थित बाबिरा मस्ठो मन्दिरमा उहाँले सत्याग्रह थाल्नुभएको थियो ।

उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम थाल्न, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गरी पिसीआर परीक्षण व्यापक बनाउन, निषेधाज्ञा र लकडाउन अन्त्य गर्न माग गर्नुभएको छ ।

यसैगरी उहाँले भ्रष्टाचार प्रकरणहरुको विषय पनि उठाउनुभएको छ । राज्यलक्ष्मी गोल्छा घुसकाण्ड, आयल निगम जग्गा खरिदकाण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड जस्ता ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गर्नुभएको छ ।

ठूला भ्रष्टाचार प्रकरणमा उन्मुक्ति दिएको भन्दै डा. केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गर्नुभएको छ ।

अख्तियारका आयुक्तदेखि भ्रष्टाचार काण्डमा मुछिएकाहरुको सम्पत्ति शुद्धीकरणसम्बन्धमा छानबिन गर्नुपर्ने उहाँको माग छ । महामारीको समयमा नागरिक भोकै हुँदा राज्य सञ्चालक र तिनकानिकटका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप केसीले लगाउनुभएको छ ।

लकडाउन अघिदेखि नै जुम्लामा रहनु भएका केसीले सुदूरपश्चिमका दुर्गम जिल्लादेखि कर्णालीका विकट जिल्लामा उपचारविहीन नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनु भएको थियो ।

डा. केसीले सरकारसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल दिनुपर्ने माग उहाँले लगातार राख्दै आउनुभएको छ ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण प्रक्रिया अघि बढाउन पनि डा. केसीको माग छ ।

२०७५ साउन १० गते आफूसँग सरकारले गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायत माग डा.केसीले राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार