काठमाडौं : कोभिड–१९ महामारीका कारण विगत छ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ ।
बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् ।
स्वास्थ्य ‘प्रोटोकल’को पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।
यही असोज ५ गतेदेखि उडान सुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्सलगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एअरलाइन्सले बताएका छन् ।
अहिले अधिकांश एअरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।
सुरुआती चरणमा एअरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो ।
‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान सुरु हुँदैछन् । सुरुआती चरणमा बुकिङ उत्साहजनक छ । यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ’-उहाँले भन्नुभयो ।
एअरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा पनि नबढ्ने जनाइएको छ ।
सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने संघले जनाएको छ ।
सुरुको एक साता आन्तरिक उडानका एअरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान संख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् ।
नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एअरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।
बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान संख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ ।
यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
उहाँकाअनुसार यती एअरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । सुरुमा करिब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चितवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक/एक उडान गरिनेछ ।
सामान्यको तुलनामा २५ प्रतिशतमात्रै उडान गर्न भनेकाले कम उडान संख्या निर्धारण गरिएपनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गर्नुभयो ।
सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेपनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एअरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।
सुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।
महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आएको छ ।
असोज १ देखि अन्तर्राष्ट्रिय उडान संख्या बढाउनाका साथै सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा आएको छ ।
बन्दाबन्दीको छ महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय पनि सुरु भइसकेको छ ।
यसैबीच, वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णयको स्वागत तथा आभार प्रकट गर्दै आन्तरिक उडानका लागि शुक्रबार पर्यटन मन्त्रालयबाट भएको निर्णयअनुरुप पूर्ण परिपालना गरी सबै वायुसेवाहरुले उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।
संघका अध्यक्ष क्या. रामेश्वर थापाले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा संघले सबै वायुसेवाहरुको पूर्ण सहयोग रहने विश्वास दिलाउनुभएको छ ।