संविधान दिवस : कतै उत्सव, कतै विरोध !

असन्तुष्ट पक्षले कालो दिवस मनाउँदै

इलाम : आज असोज ३ गते । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो । जनताबाट चुनिएका प्रतिनिधिको संविधानसभाबाट यो संविधान २०७२ असोज ३ गते घोषणा गरिएको थियो ।

हरेक वर्ष सो दिनलाई संविधान दिवसका रूपमा निकै हर्षोल्लासका साथ मनाइँदै आएको छ । यस वर्षपनि संविधान दिवस भव्य रुपमा मनाउन सरकारले निर्देशन दिएको छ ।

नेपाली जनताले लामो समयसम्म गरेको त्याग, तपस्या र बलिदानबाट वर्तमान संविधानमा प्रतिबिम्बित भएको र जननिर्वाचित ऐतिहासिक संविधानसभाबाटै संघीय संविधान घोषणा भएको महत्त्वपूर्ण दिनलाई संवधान दिवसका रुपमा भव्यताका साथ मनाउन संघीय सरकारले निर्देशन  दिएको हो ।

सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण यसवर्ष सतर्कताका साथ संविधान दिवस मनाउन समेत आग्रह गरेको छ ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गर्दैछ । सो विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनेछन् ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भएको थियो ।

असन्तुष्ट पक्षले कालो दिवस मनाउँदै

तर संविधानप्रति असन्तुष्टी जनाउँदै आएका अर्को पक्षले असोज ३ लाई विरोध स्वरुप कालो दिवस मनाउँदैछन् । संविधान जारी भएदेखि नै विरोध जनाउँदै आएको पहिचान पक्षधर राजनीतिक दल र उत्पीडित समुदायले कालो दिवस मनाउँदैछन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीसहित नेपालका आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायतले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदैछन् । विभेदकारी संविधान संशोधन गरी उत्पीडितहरुको अधिकार स्थापित नगरिएसम्म हरेक साल असोज ३ लाई कालो दिनकै रुपमा मनाउने उनीहरुको भनाई छ ।

विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गरि कालो दिवस मनाउने भएका हुन् ।

जनता समाजवादी पार्टी तटस्थ

तेस्रो ठूलो दल जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ । उसले सरकारको निर्णय अनुसार संविधान दिवसको खुसीयालीमा दिपावली नगर्ने र विरोधमा कालो दिवस समेत नमनाउने भएको छ ।

तर विरोधका कार्यक्रमहरु भने गर्ने भएको छ । उसले सरकारले आयोजना गर्ने संविधान दिवसका कुनै पनि सार्वजनिक कार्यक्रममा पनि भाग नलिने घोषणा गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले शुक्रबार अबेर एक प्रेस विज्ञप्ति जारी गरी संविधान संशोधन गरी संविधानका विभेदकारी व्यवस्था सच्याउनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पार्टी संगठन तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोहलगायत विभिन्न आन्दोलनका क्रममा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानका प्रावधानहरु र पहिलो संविधानसभामा सहमति भइसकेका विषयहरुलाई समेत उपेक्षा गरी जबरजस्ती विभेदकारी, अपुरो र त्रुटिपूर्ण संविधान जारी गरिएको र उक्त संविधानले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारु लगायत उत्पीडित समुदायले उठाउँदै आएको राजनीतिक मुद्दा सम्बोधन नगरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधान दिवसका दिन जनता समाजदावदी पार्टीका विभिन्न पार्टी संगठनहरुले असोज ३ गते विरोध तथा भर्चुअल कार्यक्रमहरु गर्ने तयारी गरेका छन् ।

यसवर्ष ‘नेपालको संविधानबारे जनता समाजवादी पार्टी नेपालको धारणा’ विषयक भर्चुअल कार्यक्रममा पार्टीका पदाधिकारीले धारणा मात्र राख्नेछन् । जनता समाजवादी पार्टीको जनसंगठन संघीय कानुन व्यवसायी एसोसिएसन केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोले धारणा राख्ने कार्यक्रम तया भएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले भने ‘असोज ३ कालो दिन र लिम्बुवान आन्दोलन विषयक’ भर्चुअल कार्यक्रम आयोजना गर्दैछ । प्रदेश १ का प्रदेशसभा सदस्य आरसी तुम्बाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मुख्य वक्ताका रुपमा अधिवक्ता शंकर लिम्बू तथा वक्ताका रुपमा अधिवक्ता यामप्रसाद लिम्बू र कृष्णराज लावतीले धारणा राख्नेछन् ।

मस्यौदा संविधानको नै विरोध गर्दै नयाँ संविधान जलाएर कालो दिवस मनाएको तत्कालिन समाजवादी पार्टी सरकारमा सहभागी भएपछि भने कालो दिवस मनाउन छोडेको हो । तर खुसीयालीमा दिपावली समेत गरेको छैन । दुवै खालका कार्यक्रममा सहभागी नभई तटस्थ भूमिकामा छ ।

दुवै कार्यक्रम संविधान दिवसकै अवसरमा आयोजना गरिएकाले असोज ३ लाई जनता समाजवादी पार्टीले समेत संविधान दिवसको रुपमा मनाउन थालेको अधिकाशंको टिप्पणी छ । नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसहित पहिचान पक्षधर पार्टीहरुले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो । संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दी समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार