जनता समाजवादी पार्टी : न संविधान दिवस, न कालो दिन !

इलाम : असोज ३ गते संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरुले दिवप प्रज्वलनका साथ विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विगतदेखि नै हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको छ ।

तर संविधान जारी भएदेखि नै विभेदकारी भन्दै संविधान नै पुनर्लेखन गर्नुपर्छ भन्दै चर्को विरोध गर्ने दल यतिबेला अलमलमा छ । संघीय व्यवस्थापिका संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले संविधान दिवसको बारेमा यो समाचार तयार पार्दासम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । संविधान जारी भएको दिन असोज ३ लाई संविधान दिवस कि कालो दिनको रुपमा मनाउने भन्ने अन्यौलतामा छ ।

२०७२ असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै संविधान जलाएर आन्दोलनमा होमिएको तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकतापछि बनेको जनता समाजवादी पार्टीले निर्णय नगर्दा कार्यकर्तामा अन्यौलता छाउको छ ।

एकताअघि विगतका सबै वर्षमा राष्ट्रिय जनता पार्टीले संविधान दिवसको दिनलाई कालो दिनको रुपमा मनाएको थियो । तत्कालिन समाजवादी पार्टीले भने सुरुका २ वर्ष संविधान दिवसलाई कालो दिनको रुपमा मनाएपनि पछिल्लो २ वर्ष सरकारमा सहभागी भएका कारण कालो दिनको रुपमा मनाएन । पार्टीका अध्यक्ष उपेन्द्र यादन नै उपप्रधानमन्त्री बनेपछि संविधानको विरोध गर्न सकेको थिएन ।

गतवर्ष समाजवादी पार्टी केन्द्रीय समितिले संविधान दिवसको सन्दर्भमा खुसीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई सर्कुलर जारी गरेको थियो । सो पार्टीले सातै प्रदेशको राजधानीमा संविधान संसोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रिया गरेको थियो । सरकारमा सहभागी भएकै कारण समाजवादी पार्टीले खुलेर संविधानको विरोध गर्न सकेको थिएन । त्यतिबेला ‘सत्ताबाहिर कादो दिन, सत्ताभित्र सेतो दिन’ भनेर समाजवादी पार्टीको आलोचना समेत भएको थियो ।

संविधान दिवस : सत्ताबाहिर कालो दिन, सत्ताभित्र सेतो !

तर यसवर्ष सरकारमा सहभागी नभएपनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने निर्णय नगर्नुले महत्वका साथ हेरिएको छ । उसो त जनता समाजवादी पार्टीले हर्षोल्लासका साथ संविधान दिवस पनि मनाएको छैन । गत वर्षझैं देशैभरी अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छैन । कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । यसलाई कतिपयले ढुलमुले प्रवृतिको संज्ञा समेत दिएका छन् ।

यसवर्ष ‘नेपालको संविधानबारे जनता समाजवादी पार्टी नेपालको धारणा’ विषयक भर्चुअल कार्यक्रममा पार्टीका पदाधिकारीले धारणा मात्र राख्नेछन् । जनता समाजवादी पार्टीको जनसंगठन संघीय कानुन व्यवसायी एसोसिएसन केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोले धारणा राख्ने कार्यक्रम तया भएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले भने ‘असोज ३ कालो दिन र लिम्बुवान आन्दोलन विषयक’ भर्चुअल कार्यक्रम आयोजना गर्दैछ । प्रदेश १ का प्रदेशसभा सदस्य आरसी तुम्बाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मुख्य वक्ताका रुपमा अधिवक्ता शंकर लिम्बू तथा वक्ताका रुपमा अधिवक्ता यामप्रसाद लिम्बू र कृष्णराज लावतीले धारणा राख्नेछन् ।

दुवै कार्यक्रम संविधान दिवसकै अवसरमा आयोजना गरिएकाले असोज ३ लाई जनता समाजवादी पार्टीले समेत संविधान दिवसको रुपमा मनाउन थालेको अधिकाशंको टिप्पणी छ । नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसहित पहिचान पक्षधर पार्टीहरुले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो । संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दी समेत भएको थियो ।

यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी,  नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्थाहरुले भने असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएका छन् । विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गरि कालो दिवस मनाउने भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार