मलमास अर्थात अधिकमासको महत्व !

मलमास विचार -

  नयाँ बुलन्द  251 पटक हेरिएको

के हो मलमास?

के गर्नुहुन्छ के हुँदैन अधिकमासमा ?

मलमासमा वर्जित कर्म के के हुन ?

मलमास विचार –

निर्णयसिन्धुअनुसार संक्रान्ति रहित शुक्लादि चान्द्रमासलाई मलमास भनिन्छ।
क्षयमास र अधिकमास दुई प्रकारको हुन्छ।

काठकगृह्यसूत्र अनुसार जुन मासमा संक्रान्ति पर्दैन वा दुई संक्रान्ति पर्दछन त्यसलाई मलमास भनिन्छ। संक्रान्ति नपर्ने मासलाई अधिकमास र दुई संक्रान्ति पर्ने महिनालाई क्षयमास भनिन्छ।

अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् ।

यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै हुन्छ । एक चान्द्रमहिनामा तीस ३० तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया १२ चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् ।

तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या त १३ र पक्षको संख्या पनि छब्बीस २६ हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।

अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । विकारका रूपमा वा मलका रूपमा आउने भएकाले यसलाई मलमास भनिन्छ भने यस महिनाको अधिपति पुरुषोत्तम भगवान् भएकाले यसलाई पुरुषोत्तम महिना वा पुरुषोत्तममास
पनि भनिन्छ ।

पुरुषोत्तम महिनामा कुनकुन कार्य गर्नु हुँदैन ?

पुरुषोत्तम महिनामा विशेष यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू निषिद्ध छन् । जस्को अर्को कुनै गति हुँदैन त्यस्ता नित्य नैमितिक कर्महरु भने मलमास र क्षयमासमा पनि गर्नुपर्ने निर्णयसिन्धुमा उल्लेख गरिएको छ । तर जुन कर्मको अर्को उपाय हुन्छ वा जुन कर्म अरुबेला पनि गर्दा हुन्छ त्यस्ताकर्म हरु मलमासमा गर्नुहुँदैन ।

निर्णयसिन्धुमा काठकगृह्यसूत्रको वचनमा भनिएको छ “मलेनन्यगतिं कुर्यात् नित्यां नैमित्तिकीं कृयाम् “ अग्निहोत्र आदि नित्यकर्म ग्रहणस्नान मलमासमा पनि गर्नुपर्दछ । चूडा, उपनयन (व्रतबन्ध) काम्यकर्म विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू, गृहप्रवेश, मुण्डन, उपनयन, तीर्थयात्रा, वास्तु पुजन ,देव प्रतिष्ठा, अपूर्वदेवदर्शन पनि अधिकमासमा गर्नुहुँदैन ।

तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।

नैमित्तिक,प्रायश्चित्त, नित्यश्राद्ध, ऊनमासिकश्राद्ध, मलमासमा पनि गर्नुपर्दछ । शुद्ध मासमा मरेका मानिसहरुको श्राद्ध भने मलमासमा गर्न हुँदैन शुद्ध मासमा नै गर्नु पर्दछ। मलमासमा मरेका मानिसहरुको सन्दर्भमा कदाचिद् फेरि मलमास नै पर्यो भने त्यसमा नै श्राद्ध गर्नुपर्दछ। फेरि अर्को श्राद्ध चैं मलमास नपरेको बेला शुद्ध मासमा अनिवार्य गर्नुपर्दछ मलमासमा मृत्यु भएका मानिसहरुको श्राद्ध मलमास नै पर्खेर मात्रै गर्नुपर्छ भन्ने भ्रम निराधार रहेको छ । अर्थात बार्षिक रुपमा श्राद्ध गर्नै पर्दछ।

पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू (काँसको भाँडामा रोखेर गरिने मालपुवा दानजस्ता कर्महरू) भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले गर्न हुन्छ र हामी सनातन धर्मावलम्बीहरूले गर्नुपर्छ पनि ।

सामान्यतया सौरमहिना र चान्द्रमहिना सँगसँगै हुन्छन् । दिनका हिसाबले एक चान्द्रमहिनामा लगभग साढे उनन्तीस (२९.५) दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन जान्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनजान्छ । त्यो बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

महिनालाई मास पनि भनिन्छ । अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औंसीसम्म)मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित महिनालाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिएको हो । त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छ ।

त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।
सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई (२) वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ ।

सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ ।
नोट-मलमासमा रतिकृडा बर्जित गरिएकाले भर्खरै विवाह भएका नव दुलहीहरु एक महिना सम्म माईती घरमा बस्ने चलन पनि छ।

                                                                                                                                                लेखक
                                                                                                                                           पं .कृष्ण प्रसाद घिमिरे

                                                                                                                                             अध्यक्ष

वैदिक सनात धर्म संरक्षण समिती इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार