आलुको भाउ आकासियो

  नयाँ बुलन्द  152 पटक हेरिएको

इलाम : माईजोगमाई गाउँपालिकाको लेकाली किसानको प्रमुख आम्दानीको श्रोत आलुको भाउ ह्वात्तै आएकोमा आलु किसानहरु खुशी भएका छ्न् । बिगत वर्षको तुलनामा तेब्बर आलुको भाउ आएकोले उनीहरु खुशी भएका हुन् ।

विगत वर्ष प्रतिमन १ हजार ३ सयदेखि १ हजार ५ सय रहेको आलुको भाउ अहिले प्रतिमन ३ हजार ५ सय पुगेको छ । सुरुमा १ हजार ३ सयदेखि १ हजार ५ सय प्रतिमन रहेको आलु २ महिनामै प्रतिमन २ हजार १ सय देखि २ हजार ४ सयसम्म पुग्यो । पुन २० दिनपछि लेकाली आलु निरन्तर भाउ आएसँगै प्रतिमन ३ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसरी निरन्तर भाउ बढेकोले लेकाली आलु भदौ १५ मा नै खनेर सकेतापनि थप भाउको पर्खाईमा धेरै किसानहरुले नबेची राखेको प्याङका आलु किसानकुमार बुढाथोकी बताउँछ्न् । बुढाथोकी केही दिनपछि प्रतिमन ४ हजार पुग्न्ने अनुमान गर्छन् । उनलाई भारतीय व्यापारीहरुले भारत र नेपालको सिमाना मानेभञ्ज्याङसम्म आलु ल्याइदिन आग्रह गरेको बताउँछन् । राम्रो दाम दिने भन्दै लगातार फोन गरेपनि लैजान असम्भव रहेको उनी बताउँछन् ।

बिगत वर्षमा घरघरमै आएर भारतीय ब्यापारिहरुले लेकाली किसानहरुको आलु किनेर लैजाने गर्दथे । तर यसवर्ष विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को कारण भारतीय व्यापारीहरु नेपाल आउन पाएनन् । उता भारतीय सब्जी पनि नेपाली बजारमा बन्देज भएसँगै तराईमा लेकाली आलुको माग ह्वात्तै बढेसँगै आलुको भाउ आकाशीएको हो । हिउँदभरी मेहेनत गरेर रोपेको आलुको भाउ भनेजस्तै पाएकोमा प्याङका अनप्रसाद राई खुशी व्यक्त गर्छन् ।

लेकमा आलु बाहेक अन्य बाली नहुने र यही आलुबाट आएको आम्दानीले सबै घर खर्च टार्नुपर्ने बाध्यता रहेको राई बताउँछन् । लेकमा आलुको भाउ अत्याधिक आएकोले यसवर्ष वीउको भाउपनि धेरै हुने अनुमानले लेकाली किसानले धेरै आलु बीउ जोहो गरेका छन् । कात्तिक लागेसँगै तल्लो भेग (औल) मा हिँउदे आलु रोप्ने भएकोले लेकको बीउ मात्र रोप्नुपर्ने भएकोले कम्तिमा प्रतिमन ५ हजारसम्म पुग्ने अनुमान किसानहरुको छ । विगतका वर्षमा २ हजार ५ सयदेखि ३ हजार प्रतिमन किनेका आलुको वीउ यो वर्ष महँगो हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार