मल नल्याउने कम्पनीकै पक्षमा अदालत !

  नयाँ बुलन्द  78 पटक हेरिएको

कालोसूचीमा राख्ने निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालय नपुग्दै उच्च अदालत पाटनले कालोसूचीमा नराख्न आदेश दियो

काठमाडौं : समयमै किसानलाई मल उपलब्ध गराउन नसकेका दुई कम्पनीको सरकारले धरौटी रकम जफत गरे पनि अदालतले सो प्रक्रिया रोकिदिएको छ । शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालीको ठेक्का सम्झौता रद्द गरेर ९ करोड ६० लाख धरौटी जफत गरेको थियो । तर, सो निर्णय कार्यान्वयन गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

किसानलाई कोरोना महामारीका बेलामा पनि लामो लाइन बसाउन बाध्य बनाएका कम्पनीलाई गरिएको कारबाहीमा अदालतले प्रश्न उठाएको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले सोमबार बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको हो । कृषि मन्त्रालयले जमानत जफतको निर्णय गरे पनि कालोसूचीका विषयमा भने पत्राचार गर्नु अगावै अदालतले कम्पनीका पक्षमा अन्तरिम आदेश दिएको छ ।

अदालतमा सुनुवाई भइरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गर्ने निर्णय कार्यान्वयन गर्न पत्र लेख्दै थियो । तर, सो निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालय नपुग्दै अदालतले रोकेको हो । आदेशमा शैलुङ इन्टरप्राइजेज कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न पनि भनिएको छ । त्यस्तै, दुवै पक्षलाई ३१ भदौमा छलफलका लागि बोलाइएको छ ।

कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिलाई २२ भदौमा बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सो निर्णय खारेजीको माग गर्दै शैलुङ इन्टरप्राइजेजले कम्पनीविरुद्ध २८ भदौमा उच्च अदालतमा मुद्दा दायर गरेको थियो । ३१ भदौमा दुवै पक्षको तर्क सुनेपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ । यही आदेशले निरन्तरता पाएमा यो मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म शैलुङको बैंक ग्यारेन्टी बापतको रकम जफत गर्ने र कालो सूचीमा राख्ने प्रक्रिया रोकिनेछ ।

लिमिटेडले अनुगमन कार्यालयलाई मंगलबार पत्र लेख्दै दुवै कम्पनीलाई कालोसूचीमा राख्न अनुरोध गरेको थियो । ‘यस कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट केपिएन १०५÷०७६÷०७७ अन्तर्गत युरिया २५ हजार मे.टन मल शैलुङ इन्टरप्राइजेजसँग र केपिएन १०६÷०७६÷०७७ अन्तर्गत युरिया २५ हजार मे.टन मल होनिको मल्टिपलसँग खरिद सम्झौता भएकोमा दुवै सप्लायरले सम्झौता बमोजिमको कार्य समयमा नगरेकोले सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखी कारबाही गर्नुपर्ने भएकोले आवश्यक कागजात यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ’, लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले लेखेको पत्रमा उल्लेख छ ।

सो निर्णय अब अदालतले बाटो नखोलिदिएसम्म कार्यान्वयनमा जाने छैन । शैलुङले कोरोना माहामारीका कारण समयमा मल ल्याउन नपाएको जिकिर अदालतमा गरेको छ । मल ल्याउने सम्झौतामा २० भदौभित्र ल्याउनुपर्ने स्पष्ट सर्त उल्लेख थियो । कम्पनीले ठेक्का टेन्डर लिँदा अन्तर्राष्ट्रिय बजारमा रहेको भाउभन्दा कम रकम कबुल गरेको थियो । कोरोनालाई कारण देखाए पनि बजारमा भाउ घट्ने समय कुर्दाकुर्दै मल ल्याउने समय अभाव भएको थियो । २० भदौसम्म यी कम्पनीले कुन कम्पनीबाट मल ल्याउने भनेर स्पष्ट जानकारी गराएका थिएनन् ।

निजी कम्पनीसँगै खरिद प्रक्रिया सुरु गरेको साल्ट टे«डिङले भने २० भदौ अगावै मल ल्याएर वितरण गरिसकेको छ । शैलुङले टेन्डरमा उल्लिखित म्याद सकिएपछि म्याद थप गरिदिन आग्रह गरेका थिए । तर, कृषि मन्त्री घनश्याम भुषालले समय थप गर्न अस्वीकार गर्दै कानुनी रूपमा अगाडि बढ्ने निर्णय गरेका थिए । सरकारले त्यसपछि प्रधानमन्त्रीस्तरमा टेलिफोन गरेर बंगलादेशबाट युरिया मल पैँचो माग गरेको छ । सो मल आउन अझै पनि केही समय लाग्ने बताइएको छ ।

शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेसनिकट व्यवसायी हुन् । उनीहरूले राजनीतिक आडमा ठेक्का लिने र अलपत्र पार्ने गरेका थिए । कम्पनीका अनुसार शैलुङले रसिया वा ओमान र होनिकोले चीनबाट मल ल्याउने जनाएका थिए । सस्तो रकम कबोल गरेर ठेक्का पारेका यी कम्पनीहरूले मल आयात नै गरेनन् । जसले गर्दा किसान मलका लागि घण्टौं लाइन बस्न बाध्य भएका थिए ।

०७६/७७ मा कोटाअनुसार आयात गर्न नसकेको शैलुङलाई ०७७/७८ का लागि थप ५५ हजार टन मल आयातको जिम्मा दिइएको छ । शैलुङले सस्तो दरमा कबुल गरेकै कारणलाई ठेक्का दिइएको हो । ०७७/७८ को ठेक्का भने यथावत् नै रहेको मन्त्रालयले जनाएको छ । तर, सो कम्पनी कालोसूचीमा परे सो ठेक्काका विषयमा पनि थप निर्णय गर्नुपर्ने हुन आउँछ । त्यसलाई रोक्न पनि कम्पनी अदालत गएको स्रोतले जानकारी दिएको छ ।

-सौर्यबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार