एउटैमात्र मिर्गौला भएका बालकद्वारा सहयोगको अपिल !

अस्पताल अस्पताल चहार्दा चहार्दै ३ लाख सकियो

  राम योङहाङ  443 पटक हेरिएको

इलाम : एउटामात्र मिर्गौला भएका बालक गणेश लिम्बूको उपचारका लागि सहयोग गर्न आफन्तले अपिल गरेको छ ।

जिल्लाको देउमाई नगरपालिका ५ धुसेनीका १२ वर्षीय लिम्बूको भएको एउटा मात्र मिर्गौलामा समेत समस्या उत्पन्न भएपछि उपचारमा सहयोग गर्न आफन्तहरुले अपिल गरेका हुन् ।

खेल्ने क्रममा घर छेउमा लडेका गणेशको मिर्गौला र फोक्सोमा ब्लड जमेपछि समस्या भएको हो । हाल  शल्यक्रिया गर्नुपर्ने भएको र त्यसका लागि मोटो रकम लाग्ने भएकाले आर्थिक सहयोगको अपिल गर्नुपरेको बालक गणेशका मामा हेमराज लोरिन्देनले बताए ।  गणेश गत साता घरछेउमा खेल्ने क्रममा लडेका थिए ।

उनको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । उनको सोमबार विहान पौने १२ बजे शल्यक्रिया गर्ने समय तय भएको लोरिन्देनले जानकारी दिए ।

शल्यक्रियाका लागि आवश्यक रकम जुटाउन गाउँमा अभियान थालिएको छ । गणेशका साइनोमा काका पर्ने राजन लिम्बूको संयोजकत्वमा आर्थिक समिति र मामा हेमराज लोरिन्देनको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरि आर्थिक संकलन अभियान तीब्र पारिएको छ । बालकको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र शल्यक्रियाका लागि करिब ३ लाख आवश्यक पर्ने भएकाले सहयोगको अपिल गरि आर्थिक संकलन सुरु गरिएको लोरिन्देनले बताए ।

‘बिरामी अस्पतालमा छटपटाइरहेको छ, घरमा केही छैन । आमा सुस्त मनस्थितीको हुनुहुन्छ । बिरामीको दाजु १४ वर्षको बालक नै छ’ लोरिन्देनले नयाँ बुलन्दसँग भने, ‘बचाउन अन्तिमसम्म प्रयास गरौं भनेर आर्थिक संकलन अभियान सुरु गरेका छौं । सबैले सक्दो सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

लोरिन्देनले आफ्नो भान्जा समेत रहेका बालक गणेशको उपचारमा सहयोग गर्न समाजसेवी, उद्योगी, व्यापारी, व्यवसायी, बुद्धिजिवी एवम् संचारकर्मीहरुसँग अपिल गरेका छन् ।

गणेशको बाबुको पहिले नै निधन भइसकेको र एक दाजुको पनि ३ महिनाअघि मात्र हाइड्रोशिलको शल्यक्रिया गरेकाले आच्छ्यानमा नै छन् ।

अस्पताल अस्पताल चहार्दा चहार्दै ३ लाख सकियो

खेल्ने क्रममा घरछेउमा लडेर घाइते भएका बालक गणेश लिम्बूको उपचार गर्न अस्पताल चहार्दा चहार्दै ३ लाख सकिएको छ । लडेर बेहोस् भएका गणेशको पिसाब नै रोकिएपछि उपचारका लागि पूर्वका विभिन्न ५ अस्पतालमा पुर्‍याइका थिए । खर्च झण्डै ३ लाख भयो । तर कुनै रोग पत्ता लागेन । झापाको विर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताल, वि एण्ड सी टिचिङ अस्पताल, विर्तासिटी अस्पता, धरानको विपी कोइराला विज्ञान प्रतिष्ठान घोपा र विराटनगरको नोवेल अस्पताल पुर्‍याउँदा समेत रोग पत्ता लाग्न नसकेको गणेशका मामा लोरिन्देनले बताए ।

नाम चलेका अस्पतालमा डुलाउँदा समेत समस्या पत्ता लगाउन नसकेपछि एक सातापछि मात्र टिचिङ अस्पताल पर्‍याएका थिए । त्यहाँ पुगेपछि मात्र थाहा भयो, गणेशको मिर्गौला एउटा मात्र रहेछ । त्यही भएको एउटै  मिर्गौलासँगै फोक्सोमा समेत ब्लड जमेपछि गणेशको अवस्था गभ्मीर भएको पत्ता लाग्यो । शल्यक्रिया गर्ने टुङ्गो पनि लाग्यो । तर आर्थिक अभावमा शल्यक्रिया हुन सकेको  छैन । आर्थिक संकलन सुरु भएपछि सोमबारका लागि शल्यक्रिया गर्ने समय निर्धारण भएको गणेशका मामा लोरिन्देनले जानकारी दिए ।

‘सुरुमा नै काठमाडौं लगेको भए त्यत्रो खर्च नहुने र यतिबेला बिरामी निको पनि भइसक्थे’ लोरिन्देनले भने, ‘पूर्वका ५ अस्पतालले पैसा मात्र लुट्यो, रोग पत्ता लागेन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार