कसरी बाँचिरहेका होलान्, जीवन बिमा एजेन्टहरू ?

  निनाम कुलुङ ‘मंगले’  227 पटक हेरिएको

निनाम कुलुङ ‘मंगले’

‘जीवन बिमा’ गरेर जीविका चलाउँछु वा अतिरिक्त आम्दानी गर्छु भनेर एजेन्ट बनेकाहरूमध्ये कति जनाले आफ्नाे स्वयं ‘जीवन बिमा’ गरेका छन् ? कति जनाले आफ्ना परिवारभित्रका सदस्यहरूका ‘जीवन बिमा’ गराएका छन् ? कति जनाले आफन्त र नातागोताहरूका ‘जीवन बिमा’ गराएका छन् ? अहिले त्यतातिर नजाऊँ ।

लगभग डेढ वर्षअघिको तथ्यांकअनुसार नेपालमा ५ लाख ४७ हजार २ सय ७६ मानिसले ‘जीवन बिमा’ को एजेन्ट बन्नका तालिम लिएका छन् । यसरी नेपालमा चालु रहेका १९ वटा जीवन बिमा कम्पनीमा ५ लाख ४७ हजार २ सय ७६ जना मानिसले एजेन्ट बनेर अर्ध–रोजगारी गरेका छन् । हुन त ‘जीवन बिमा’ गरेर जीविका चलाउँछु वा अतिरिक्त आम्दानी गर्छु भनेर एजेन्ट बनेकाहरूमध्ये कति जनाले आफ्नाे स्वयं ‘जीवन बिमा’ गरेका छन् ? कति जनाले आफ्ना परिवारभित्रका सदस्यहरूका ‘जीवन बिमा’ गराएका छन् ? कति जनाले आफन्त र नातागोताहरूका ‘जीवन बिमा’ गराएका छन् ? अहिले त्यतातिर नजाऊँ ।

माथिको तथ्यांक डेढ वर्षअघिको भएको हो । त्यसपछि (अहिले) बढेर साढे ६ लाखदेखि सात लाखसम्म पुगिसक्यो होला, मानिसहरूलाई ‘जीवन बिमा’ गराएर जीविकोपार्जन गर्छु, भन्ने चाहाना राखेर एजेन्ट बन्नेहरूको संख्या । तर, तालिम लिएकामध्ये कति जनाले आफ्नाे पेसा सुचारु राखेका छन् त ? भनी भरपर्दो तथ्यांक प्रस्तुत गर्ने कुनै आधिकारिक संस्था नभएता पनि यो पंक्तिकारको विचारमा ‘मुस्किलले १०÷१२ प्रतिशतले आफ्नाे पेसा सुचारु गर्न सकेका होलान् ।’ त्यसमाथि हाल विश्वका प्रायः सबै देश (२२० मध्ये २१६ देश) मा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) संक्रामक महामारीका फैलिएको छ । यो महामारीका कारण प्रायः सबै देशमा पेसा र व्यवसाय सहज ढंगले गर्ने अवस्था छैन ।
कोभिड–१९ का कारण अनपेक्षित रूपमा जनधनको ठूलो र अकल्पनीय क्षतिका साथै विश्वभरिकै समग्र अर्थतन्त्र र आर्थिक कारोबार पनि चट् भएको स्थिति छ । धेरै मानिसहरूको घरपरिवार चलाउन गाह्रो भएको छ, कतिको त अँगेनामा आगो बल्न छाडेको छ । झन् नेपालजस्तो मानवीय पूँजीको महत्व नबुझेको सरकार र राजनीतिक दलहरूको भिड भएको देशका जनताहरूको हालत के भएको छ ? तपाइँ–हामी सबैलाई ज्ञात नै छ ।

कतिपय मान्छेहरू काम र माम नभएपछि काठमाडाैंको टुँडीखेलमा निःशुल्क उपलब्ध गराइने भात वा भनौँ खाना (एक छाक) खाएर पनि बाँचिरहेका छन् । यस्तो अवस्थामा कसैलाई ‘लौ न जीवन बिमा गरौँ !’ भन्दा संभावित ग्राहक वा भनौँ अरू जो कोही भए पनि उसले कस्तो प्रतिक्रिया जनाउँदो हो ? अनुमान मात्रै गर्न सकिन्छ । त्यसैले धेरैजसो एजेन्टहरूले आफ्नाे संभावित ‘क्लाइन्ट’ लाई पनि मुख खोलेरै लौ न ‘जीवन बिमा’ गरौँ ! भन्न सकिरहेका छैनन् । त्यसो त नेपालका शासकहरू पनि यस्तो संकटको बेला मानवीय पुँजीको महत्व बुझेर त्यसलाई व्यवस्थापन गर्नेतिर लाग्नु (राहत वितरण गर्नु, अति गरिब र निम्न आय भएका वा अहिले काम नगरे भरे खाने व्यवस्था गर्न नसक्ने निमुखाहरूलाई सहुलियत दरमा वा निःशुल्क खाद्यान उपलब्ध गराउनु) को सट्टा भावनामा नबग्नु ! भनी अर्ती, बुद्धि र उपदेश दिन्छन् । कुरो त ठीकै पनि हो, खानलाई त पहिले बाँच्नु पर्यो, नबाँचीकन त के खाने र । जे भए पनि कोरोनाको कहरले विश्वभरिकै उद्योग, कृषि, पर्यटन, होटल, बैंक, बिमा, सहकारी, लघु–वित्त, हवाई यातायात, जल यातायात, सडक यातायातलगायत सबै क्षेत्र चौपट बनाएको अवस्था छ ।

नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी, १९ वटा जीवन बिमा कम्पनी र एउटा पुनःजीवन बिमा कम्पनी गरी जम्मा ४० बिमा कम्पनीहरू चालु रहेका छन् । ती मध्ये पनि यहाँ खास चर्चा गर्न लागिएको चाहिँ कोरोनाको कहरबीच जीवन बिमा कम्पनीहरूले आफ्ना एजेन्टहरूलाई केही न केही (उनीहरूको व्यवसाय र आर्थिकलगायत शारीरिक अवस्था हेरेर) आर्थिक सहयोग हुने गरी प्याकेज ल्याए अझ राम्रो हुन्थ्यो कि ? भन्नेलगायत विषयमा केन्द्रित रहेर छोटोमा चर्चा गर्दै छु । कम्पनीले यस्तो वेलामा आफ्नाे एजेन्टहरूलाई लक्षित गरेर कुनै किसिमको आर्थिक प्याकेज ल्याए राम्रो हुन्थ्यो । उदाहरणका लागि कुनै एजेन्टले कम्पनीलाई दिएको व्यापार हेरेर, कुनै एजेन्टले कम्पनीलाई मनग्य व्यापार दिन नसकेता पनि उसको आर्थिक अवस्था हेरेर (लामो अवधिको लक डाउनमा खान बस्न गाह्रो भएकाहरूलाई) कुनै एजेन्टको अवस्था हेरेर, जस्तै बिरामी रहेका तर, लामो समयको लक डाउन र निषेधाज्ञाको अवधिमा कमाई गर्न नसकेर औषधि किनेर खान नसक्ने अवस्थामा रहेका, कुनै एजेन्टहरू तालिम मात्रै गरेका तर, विभिन्न कारणले आफ्नाेसमेत जीवन बिमा गर्न नसकेका ! लगायत आफ्ना एजेन्टहरूलाई चार वा पाँच वर्गमा छुट्याएर नेपालका जीवन बिमा तथा निर्जीवन बिमा कम्पनीहरूले धेरथोर आर्थिक सहयोग पुग्ने गरी अभैm पनि कुनै किसिमको आर्थिक प्याकेज ल्याउँदा राम्रो हुन्थ्यो ।’ हुन त सरकारले गठन गरेको ‘कोरोना कोष’मा मात्रै नभएर कुनै पनि विपत्ति र महाविपत्तिहरूमा कुनै पनि दानवीर व्यक्ति तथा संघ–संस्थाहरूले सहयोग गर्नु धेरै राम्रो कुरो हो । तर, यसपालि सरकारले गठन गरेको कोरोना कोषमा जम्मा भएको झण्डै साढे दुई अर्ब रुपैयाँ कहाँ गयो ?, कसरी खर्च भयो ? सो रकम के–कसरी वितरण गरियो ?

त्यसैले आगामी दिनमा बिमा कम्पनीहरू, सेयर दलाल कम्पनीहरूले आफ्ना एजेन्ट वा कामदारका लागि यस्तै (कोरोना जस्तै) आपत्–विपत् आई पर्दा भरथेग/आर्थिक रूपमा उद्धार गर्न मिल्ने गरी कोष खडा गर्नुपर्ने देखिन्छ । अहिले नै पनि ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी’को ८७ अर्ब रुपैयाँ ‘जीवन बिमा कोष’मा कुहिएर बसेको छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेनस कम्पनी/एलआइसी (भारतीय कम्पनीको नेपाल शाखा) लगायत केही जीवन बिमा कम्पनीहरूसँग पनि (सधैंभरि कुहिएर बस्ने अर्बाैं पैसो ! (जीवन बिमा कोष) रहेको छ । तर, त्यस्तो रकम ती कम्पनीहरूले कतिखेर र कसरी प्रयोग गर्न/खर्च गर्न मिल्ने हो ? यो पंक्तिकारलाई विषयगत रूपमा थाहा नभएकोले केही भन्न सक्ने अवस्था रहेन । तापनि यो महामारीका कारण प्रभावित भएका आफ्ना एजेन्टहरूलाई उनीहरूको आर्थिक अवस्था, शारिरीक अवस्था जस्तै, अशक्तता, विभिन्न रोगका बिरामीहरू जो औषधि खान धौधौ भएर बसेकाहरू छन्, त्यस्तै आर्थिक अवस्था साँच्चै नै कमजोर भएका आदिलाई साना–ठूला सबै जीवन बिमा कम्पनीहरूले आफ्ना जीवन बिमा कम्पनीको मेरुदण्डको रूपमा रहेका एजेन्टहरूका लागि केही न केही राहत पुग्ने किसिमले आर्थिक प्याकेज ल्याएदेखि अभै पनि ‘अति राम्रो हुन्थ्यो कि !’ भन्ने यो पंक्तिकारको सल्लाह/सुझाव मात्र हो ।

-सौर्यबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार