राष्ट्रिय बाल दिवसको अवसरमा प्रदेशस्तरीय वक्‍तृत्वकला हुँदै


इलाम : राष्ट्रिय बाल दिवसको अवसरमा २९ भदौमा बालबालिकाहरुको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन हुने भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामले पहिलोपटक ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला आयोजना गर्न लागेको हो ।

भर्चुअल प्रविधिमार्फत संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार भेटघाट गरि मानव अधिकार मञ्च नेपालले जानकारी दिएको छ ।

प्रतियोगितमा प्रदेश १ का १४ वटै जिल्लाबाट १÷१ जना गरी १४ जना बालबालिकाको सहभागिता रहने ‘बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजना’ संयोजक रुद्र थेवेले जानकारी दिए । संयोजक थेवेका अनुसार यसअघि नै प्रत्येक जिल्लाबाट सहभागी छनौट भइसकेका छन् ।

प्रतियोगितामा सहभागी हुनका लागि पहिलो चरणमा जिल्ला स्तरीय छनौट प्रतियोगिता गरिएको थियो । जिल्लाबाट प्रथम हुनेले प्रदेशको प्रतियोगितमा भाग लिन लागेका हुन् । जिल्लास्तरीय छनौट प्रतियोगितामा १४ जिल्लाका २ सय ८ जना बालबालिकाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायककर्ता आयोजक संस्थाका १, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयका १ र बाल अधिकारको क्षेत्रमा कार्यरत १ जना रहनेछन् । सहभागीलाई विचार राख्न ५ मिनेट समय तोकिएको छ । सो समयमा नेपाली भाषामा विचार राख्नु पर्नेछ ।

कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको मंचले जनाएको छ ।

विपदको समयमा बालबालिकाले समस्या मात्र नभई समस्याले सृजना गरका अवसरलाई बुझाउँदै घरमै बस्न बाध्य विद्यार्थीका प्रतिभा खोजी गर्ने बानी बसाल्न प्रतियोगिता आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष माहनसिंह थेवेले बताए । ‘विद्यार्थी आफंैमा भएको प्रतिभाको खोजी गर्ने सीपको विकास गरेर समाज, घर परिवारसँग बाल संरक्षणका लागि समाजलाई एक्बद्धता दिलाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं’ अध्यक्ष थेवेले भने, ‘यहि समयमा बालबालिकामा पारेको असर र सरोकारवालाले यो वा त्यो गर्नुपर्छ भनेर हामी ठूलाहरु आफैं भनिरहेका छांै । बालबालिका स्वयम के भन्छन् त ? भनेर सुन्न र सुनाउन साथै प्रविधिको प्रयोग गर्न सिकाउँदै उनिहरुमा भएको प्रतिभा प्रष्फुटन गर्न प्रतियोगिता गर्न लागिएको हो ।’

प्रतियोगिताको सहआयोजकको रुपमा मञ्चको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनका साझेदार संस्था, वातावरण संरक्षण तथा विकास सञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, देउराली सोसाइटी तेह्रथुम, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज केन्द्र सुनसुरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायति उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु रहेका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामले बालबालिकाको क्षेत्रमा २१ वर्षदेखि काम गर्दै आएको छ । हाल प्रदेश १ का १४ जिल्लामा किन्डरमिसनरेक जर्मनीको सहयोगमा ‘बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजना’ संचालन गरिरहेको छ ।

देशभर विभिन्न कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाइन्छ । सरकारले यसपटकको बाल दिवसको नारा ‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार