समाजसेवामा सक्रिय शर्मिला राजवंशी

  नयाँ बुलन्द
63 Shares

 

झापा : शर्मिला राजवंशी (सरु)– कोच आदिवासी समुदायबाट उदयीमान महिला नेतृको रुपमा परिचित नाम हो । आत्मनिर्भरताका लागि सीप सिकेर नियमित आयआर्जनसँगै घर व्यवहारमा व्यस्त उनी समयको सही व्यवस्थापन गर्न सक्ने क्षमता कै कारण सामाजिक तथा मानवीय सेवासँगै महिलाको हकहितमा क्रियाशील छिन् ।

चुलोचौकोदेखि कृषि पेसासँगै उनी सिलाइ–कटाइको काममा व्यस्त हुन्छिन् । आत्मनिर्भर बनी नियमित आयआर्जनका लागि उनले घरमै सिलाइ मेसिन राखेर मासिक १५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छिन् । पाँच वर्षअघि बिर्ताबजारमा पुनम राजवंशसँग एक वर्ष सिलाइ–कटाइ सीप सिकेकी शर्मिलाले झापा प्राविधिक शिक्षालयबाट थप तालिम पाएपछि सीपलाई आयआर्जनको माध्यम बनाएकी हुन् ।

यस वर्ष उनले झापा प्राविधिक शिक्षालयबाट छुट्टै सिलाइ मेसिन समेत प्राप्त गरेकी छिन् । त्यो सँगै उनको घरमै सानो किराना पसल समेत रहेको छ । बिहान उठेदेखि राति अबेरसम्म व्यस्त हुने उनको दैनिकी घरधन्दा छोराछोरीको हेरचाह, सिलाइ–कटाइ, किराना पसल, समाजसेवा बन्ने गरेको छ । उनी कोच आदिवासीको पहिचान जोगाउन भाषा संस्कृतिको संरक्षण र विकास, आदिवासी महिलाको चेतना वृद्धि तथा सशक्तिकरण सँगै समाजसेवामा समेत सक्रिय छिन् ।

राजवंशी समुदाय सांस्कृतिक प्रवद्र्धन विकास समिति बिर्तामोडको अध्यक्ष रहेकी उनी कोचिला महिला फ्रण्ट बिर्तामोड नगर समितिको समेत अध्यक्ष छिन् । त्यस्तै राजवंशी महिला समिति केन्द्रीय समितिको महासचिव, राजवंशी समाज विकास समिति बिर्तामोडको सदस्य लगायत विभिन्न समितिमा आबद्ध रहेर क्रियाशील छिन् । उनी महिला सशक्तिकरणका लागि करुणा लघुउद्यमी महिला समूहको समेत नेतृत्व गरिरहेकी छिन् ।

कोच आदिवासी महिलाको सशक्तिकरण र जीवनस्तर उठाउन के गर्न आवश्यक छ ? भन्ने पूर्वाञ्चलकर्मीको जिज्ञासामा शर्मिला भन्छिन्– ‘सर्वप्रथम त चेतना नै हो । सोच परिवर्तन अति आवश्यक छ । उनीहरुको अवस्था अत्यन्तै दयनीय भएकोले संगठित गर्दै सीपमूलक तालिम प्रदान गरेर आयआर्जनमा संलग्न गराई आत्मनिर्भर बनाउनुपर्छ ।’

उनी हरेक समय समस्यामा परेका महिला, दीनदुःखी र विपन्नहरुको सेवा कसरी गर्न सकिन्छ भनेर चिन्तित हुन्छिन् । त्यसको पछिल्लो उदाहरण हो– बिर्तामोड–२ की नेत्रहीन एकल महिला धामोसरी राजवंशीलाई आवश्यक सहयोग पुर्याउन उनले गरिरहेको प्रयत्न । ह्यावीटाट फर ह्युमानिटी र सहारा नेपालले उनको लागि घर प्रदान गरेको छ । घरमा अन्य धेरै कुरा आवश्यक छ ।

वृद्ध अवस्था, एक्लो जीवन त्यसमा पनि नेत्रहीन भएका कारणले उनको दैनिक जीवनयापनलाई सहज बनाउन जरुरी रहेकोमा शर्मिलाको जोड छ । उनको आँखाको ज्योति फर्काउन सकिन्छ कि भन्ने झिनो आशका साथ शर्मिला कोचिला महिला फ्रन्टकी केन्द्रीय अध्यक्ष सनम राजवंशी लगायतको टोलीले बिहीबार मेची आँखा अस्पतालमा पुर्याएर आँखा परीक्षणसम्म गराएको छ । उनलाई सहयोग गर्न उनीहरुले आग्रह पनि गरेका छन् ।

झापा गाउँपालिकाको कुमरखोदमा माता सेस्वा र पिता गोविनको छोरी भई जन्मिएर शिक्षा हासिल गर्दै अघि बढेकी उनको विवाह २०६५ मंसीरमा पूर्णलाल राजवंशीसँग भयो । बिर्तामोड–२ रामचोक घर भएकी ३२ वर्षीया शर्मिलाका एक छोरा र दुई छोरी छन् । समाजसेवा, पत्रपत्रिका पढ्न रुची राख्ने उनी महिलाको हकहित र समाजसेवामै आफ्नो जीवन बिताउने बताउँछिन् ।

उनको व्यस्तता र समय व्यवस्थापन बारे अरुले पनि प्रशंसा गर्ने गरेका छन् । महिलाहरु पछि परेको या पारिएको बारे चर्चा भइरहँदा शर्मिलाको सफलता अरु महिलाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ ।-पूर्वाञ्चल डेलीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार