
अर्घाखाँची : जिल्लाको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी भत्ता पशुधनी किसानलाई उपलब्ध गराउने भएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको नगरपालिकाले जनाएको छ ।
भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा निवेदन बुझाउनुपर्ने नियम रहेका छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले जानकारी दिए ।
पशु सुत्केरी भत्ताका लागि नगरपालिकाले यो वर्ष २० लाख रुपैयाँ वजेट छुट्याएको खनालले बताए । एउटै मात्र गाई वा भैंसी सुत्केरी हुनेदेखि व्यवसायिक किसान सबैले सुतकेरी भत्ता पाउने कार्यविधि बनेको छ । नगरपालिकाका १० हजार घरधुरीमध्ये ६० प्रतिशत भन्दा बढी परिवारले पशुपालन गरेका नगरपालिकाको तथ्याङकमा छ ।
भत्ता रकम पशुलाई दाना, आहार र कुनै स्वास्थ्य समस्या भए उपचारमा खर्च गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको उनले बताए ।
अर्घाखाँचीमा दूध उत्पादनको प्रचूर सम्भावना भएकाले सदरमुकामको नगरपालिकाबाट शुरु भएको कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गरेर जिल्लाव्यापी बन्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । ‘गाई भैंसी सुत्केरी हुँदा भत्ता दिने कार्यक्रम प्रदेशकै पहिलो हो’ उनले भने, ‘दुधको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन यस्ता प्रोत्साहनमुखी कार्यक्रम सबै स्थानीय तहले ल्याउनु राम्रो हो ।’