इलाम : इलामको फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का केही क्षेत्रहरु शिल गरिए संगै कोरोना संक्रमित संग हेलमेल भएका व्यक्तिहरु सम्पर्कमा आएका छन् ।
केही दिन अघि वडा नम्बर २ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको कोरोना परिक्षण गर्दा पिसिआर रिर्पोट पोजेटिभ देखिएपछि शंकास्पद क्षेत्र सिल गरिएको छ ।
गाँउपालिका भित्र कोरोना संक्रमित भेटिएपछि कार्यालयले सोमबार सुचना जारी गरि वडा नम्बर १ र २ का देउराली बजार दक्षिण, पुरानो पञ्चमी बजार महाभारा पाँचथर सिमाना, घुर्बिसे पञ्चमी बजार,पचेवा खोला उत्तर, फँलाटे फाकफोक खोला पश्चिमसम्मका धार्नेखोप साविक फाकफोक गाविस वडा नम्बर २, ३, ४, ५ र ६ का क्षेत्रहरुमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ ।
पालिकाको सुचना कै आधारमा वडा नम्बर १ कार्यालयले पनि सुचना प्रकाशन तथा प्रशारण सहित स्थानीयलाई थप सावधानी अपनाउन २२ गते राती १२ बजे देखि अर्को सुचना नआउन्जेल सम्म उद्योग, व्यावसाय तथा सम्वन्धित वडा कार्यालयहरु समेत बन्द रहने जानकारी गराएको छ ।
संक्रमितको सम्पर्कमा रहेका शंकास्पद व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग गर्दा एक सय २० जना सम्पर्कमा आएको र उनीहरुको खाम्बाङ्गस्थित गुम्बा डाँडामा विहिबार स्वाब संकलन गरि परीक्षणमा पठाइने वडा नम्बर १ का जनप्रतिनिधि बालकृष्ण भट्टराईले जानकारी दिए ।