बिरामी लैजाने न स्टेचर छ न बाटो नै

  भगिरथ भण्डारी
35 Shares

इलाम : बाँसको झोलुङ्गोमा मान्छे बाेकेकाे माथिको तस्बिर इलामको रोङ गाउँपालिका–१ शान्तिपुरको हो । यो बाँसको झोलुङ्गोमा राखेर ३५ वर्षीया गर्भवती महिला कृष्ण कुमारी राईलाई अस्पताल लगिँदै गरेको दृष्य हो । गाउँमा स्टेचर नहुनु र वर्षाको कारण सडक भत्किएपछि यहाँ बिरामीलाई गाउँघरमै बनाएको स्टेचरमा बोकेर अस्पताल लैजानु पर्ने बाध्यता छ ।

बाटो भत्किएका कारण अस्पताल पुर्याउन पनि सहज छैन । शान्तिपुर चुरे क्षेत्र भएको कारणले पनि यस क्षेत्रमा प्रत्येक वर्ष बाढी पहिरोले क्षति पुर्याउने गर्दछ । चुरे क्षेत्र संरक्षणका लागि सरकारले प्रत्येक वर्ष करोडौ बजेट छुट्याउने गरे पनि यहाँका बासिन्दाले भने स्टेचरसम्म पाउँदैनन । स्वास्थ्य, शिक्षालगायत बाँच्न पाँउनुपर्ने नागरिकको मौलिक अधिकार भए पनि गाउँमा एउटा स्टेचर समेत उपलब्ध हुन नसकेर बाँसको झोलुङ्गोमा बोकेर बिरामीलाई उपचार गर्न लैजान यहाँका स्थानीय बाध्य छन् ।

इलामका जनताले आफूले जिताएका नेता प्रधानमन्त्रीदेखि संविधान सभाका अध्यक्ष समेत पाए तर यहाँका बासिन्दाले बिरामी बोक्ने स्टेचरसम्म नपाएको गुनासो छ । बिरामी बोक्ने स्टेचर नपाएकै कारण रोङ गाउँपालिका एक शान्तिपुरका मानिस आँफै स्टेचर बनाएर बिरामी बोक्न बाध्य रहेको शान्तिपुर झापा एकता समाजका सचिव नरेन्द्र ढकालले बताएका छन् । उनले भने, ‘कोरोना भाइरसका कारण मुलुक नै समस्यामा परिरहेका यो विषम् परिस्थितीमा प्राकृतिक विपत्तिले समेत समस्या निम्त्याई रहेको छ । प्राकृतिक प्रकोपको चपेटामा चुरे क्षेत्र बढी जोखिममा छ ।’

स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताका कारण पनि यो क्षेत्र बढी जोखिममा रहेको ढकाल बताउछन् । उनी भन्छन्, ‘शान्तिपुर विकट हो तर यस ठाउँलाई विकट स्थानको पहिचान गर्न नसक्नु, सडक सुधारमा ध्यान नदिनु, स्वास्थ्य चौकीको स्तरोन्नतीमा ख्याल नगरेका कारण अघि बढ्न सकेको छैन ।’ यता रोङ गाउँपालिकाका अध्यक्ष समशेर राई स्टेचर भएर पनि नभएजस्तै भएको बताउँछन् । उनी भन्हाँछन्, ‘खोप केन्द्र र स्वास्थ्य संस्थामा स्टेचर राख्ने गरिन्छ ती संस्थामा गएर स्टेचर ल्याउने बेला सम्ममा आँफै स्टेचर बनाएर बिरामी अस्पताल पुर्याउन छिटो हुन्छ ।’ उनका अनुसार यातायात सञ्चालनमा समस्या नहोस भनेर आफूहरुले असारमा भत्केका सडक मौसममा केही सुधार आउना साथ मर्मत गरेका गरिएको तर मर्मत सकेको लगत्तै आएको वर्षाले क्षति गरेका कारण पनि समस्या भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार