राँकेमा सामुदायिक स्वास्थ्य इकाई थालनी

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर :  जिल्लाको फाल्गुनन्द गाउँपालिका–३,राँके बजारमा आईतबार देखि सामुदायिक स्वास्थ्य इकाईको थालनी गरिएको छ ।
तत्कालका लागि एक हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी सहित दुई जना कर्मचारीको व्यवस्था गरिएको स्वास्थ्य इकाइ गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति सभापति  विष्णु प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा  उद्घाटन भएको थियो । जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापा र  हेल्थ असिस्टेन्ट राधिका चेम्जोङबाट अतिथि लगायत अन्य उपस्थितहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अतिथि सापकोटाले, यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवा अभावलाई मध्यनजर गरि स्थानीय,जिल्ला समन्वय समिति र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य इकाईको स्थापना गरिएको उनले बताए । आगामी दिनमा यस संस्थालाई थप स्तरोन्नती गर्दै स्वास्थ्य केन्द्र बनाउन पहल गरिने आश्वसन दिए ।
केही दिन अघि यस ठाँउमा रहेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयको निर्णय अनुसार सदरमुकाममा स्तान्तरण गरिएको भएता पनि यहाँका बासिन्दाले लिएको सेवा हरण नहुँने र आवश्यकता अनुसार व्यवस्थापनमा कोशिस गरिने बताए । उक्त विषयलाई लिएर आन्दोलित स्थानीय र बजार व्यवस्थापन समितिलाई प्रतिफल दिने आन्दोलन तर्फ सबै एकजुट हुन उनले आग्रह गरेका छन् । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वो ‘मौसम’ द्धारा यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पर्न गएको असुविधा प्रति ध्यान केन्द्रित रहेको सन्देश समेत अतिथि सापकोटाले सुनाएका थिए ।
कार्यक्रममा नेकपा पाँचथरका अध्यक्ष राज कुमार भण्डारीले यस स्वास्थ्य इकाईलाई स्तरोन्नती गर्न आवश्यक जग्गाको तर्जुमा गर्दै भवन निर्माण तथा आवश्यक पूर्वाधारको लागि सम्वन्धित निकायमा माग गर्दै यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नहुन सबैले पहल गर्नु पर्ने बताए ।
गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले यस सामुदायिक स्वास्थ्य इकाईबाट इलाम देउमाई नगरपालिका ,फाकफोकथुम गाँउपालिकाका सेवाग्राहीले र मेची मार्गमा क्षेत्रका नागरिक समेत लाभान्वित हुने बताउँदै शुरुवात गरिएको स्वास्थ्य इकाईलाई पालिकाले थप व्यवस्थित गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेले जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई राँकेबाट सदरमुकाम लगिएपछि आन्दोलन गरिरहेका स्थानीयलाई ललिपको रुपमा स्वास्थ्य इकाईको थालनी नभई गुणस्तरीय सेवा र नागरिकको उचित माग प्रति सरोकारवाला निकायको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
स्वागत मन्तव्य राख्दै राँके बजार ब्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर विष्टले भने, ‘सामान्य स्वास्थ्य सेवा लिन यहाँका बासिन्दा अहिले करीब एक घण्टा भन्दा बढि समय खर्चेर वरपर जानुपर्ने वाध्यता रहेको छ ।’ दुई जिल्लाको सिमानामा रहेको यस बजारको हरेक समस्यालाई दुवै क्षेत्रका स्थानीय सरकारले मुख ताकाताक गर्दा विकाश निर्माणले गति लिन सकेको छैन । सम्वन्धित पक्षबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार