बजार मूल्यभन्दा भन्सार बढी भएपछि अलैंची निर्यातमा अन्योल

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : फुङलिङ नगरपालिका–९ हाङदेवाका सन्चपाल मादेनले बागेनी बगानमा लगाएको अलैंची टिप्न लागिसके  । यहाँबाट ८ मनसम्म फल्ने अपेक्षा गरेका उनी यसपछि फुङलिङ–१ को सालडाँडा बगान जाने योजनामा छन् । ‘जनावरले खान थालिहाल्यो त्यै भएर यता पसें,’ मादेनले भने, ‘अब उताको बगानमा जान बितेको छ ।’

पाँचथरको याङवरक गाउँपालिकाका रत्न लिम्बूले पनि बाग्थाने बगानको अलैंची टिपेर भट्टी लगाइसके । अब बजार मूल्य राम्रो पाए बिक्री गर्ने तयारीमा छन् । ‘ठ्याक्कै तुलो लगाएर जोखेको त छैन,’ उनले भने, ‘अन्दाजी छ मनचाहिँ हुनुपर्ने हो ।’ इलामको रोङ गाउँपालिकामा उत्पादित अलैंची भने झापाको बिर्तामोड पुगिसकेको छ । झापाका व्यापारी निर्मल भट्टराईले रोङ गाउँपालिकामा उत्पादित अलैंचीको ‘बोनी’ गरिसके ।

किसानले नयाँ अलैंची उत्पादन गरेर बिक्रीको तयारी गरे पनि बजारको भने समस्या छ । नेपालबाट बिक्री हुने बजार मूल्यभन्दा भारतको भन्सार मूल्य बढी हुँदा निर्यातमा समस्या परेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादित ९८ प्रतिशत अलैंचीको बजार भारत हो । अलैंची व्यवसायी महासंघका अध्यक्ष राजु कार्की समस्या समाधानका लागि भारतसँग कुरा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई आग्रह गरिएको बताउँछन् । ‘सचिवज्यूले राम्ररी रेस्पोन्स गर्नुभएको छ,’ उनले भने, ‘निकास निस्किएला भन्ने अपेक्षा गरेका छौं ।’

कार्कीका अनुसार अहिले अलैंचीको बजार मूल्य झापा, बिर्तामोडमा २२ हजार रुपैयाँ प्रतिमन छ । एक मनमा ४० किलो हुन्छ । यो मूल्यअनुसार एक किलोको ५ सय ५० रुपैयाँ पर्छ । भारतको भन्सार मूल्य भने ५ सय रुपैयाँ भारु छ । यो नेपाली ८ सय रुपैंया हुन आउँछ । भारतकै सिक्किमबाट पश्चिम बंगाल जाने भन्सार मूल्य भारु तीन सय रुपैयाँ मात्रै छ । यसले गर्दा भारतीय व्यापारीले नेपालको अलैंची किन्न मान्दैनन । कार्कीले भने, ‘उनीहरूले साढे पाँच सयमा किनेको अलैंचीको मूल्य आठ सय रुपैयाँ हुँदा नेपालमा प्रतिकिलो २ सय ५० रुपैयाँ बढीका दरले पैसा पठाउनुपर्छ । नेपाली व्यापारीले बढी भएको पैसा फेरि फर्काउनुपर्छ । त्यसैले प्रक्रिया झन्झटिलो भएको छ ।’

साढे ५ सय रुपैयाँमा किनेको अलैंची आठ सय रुपैयाँ देखाउँदा प्रतिकिलो १५ रुपैयाँ करमा जाने र त्यसको मार पनि किसानमा पर्ने नेपाली व्यवसायीको दाबी छ । भारतीय व्यापारीले जीडीबी बढी तिर्नुपर्ने, आयकर बढी देखिने भएकाले किन्न नमान्ने निर्मल बताउँछन् ।

भारतले भन्सार मूल्य अहिले बढाएको भने होइन । नेपालबाट प्रतिकिलो दुई हजार रुपैयाँले अलैंची निर्यात गर्दा पनि भन्सार मूल्य यही थियो । तर अहिले बजार मूल्य निकै घट्दा पनि सरकारले भन्सार मूल्य समायोजन गर्न चासो दिएको छैन । भारु तीन सय रुपैयाँ भन्सार मूल्य कायम गरिए कारोबार सुरु हुने व्यवसायी बताउँछन् । आगामी सेप्टेम्बर महिनादेखि भारतका सिक्किम र पश्चिम बंगालमा अलैंची उत्पादन सुरु हुने भएकाले त्यसअघि नै नेपाली अलैंची बिक्री गर्न तत्काल मूल्य समायोजन गरिहाल्नुपर्ने कार्कीको भनाइ छ ।\

-इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार