फाइल तस्वीर
इलाम : माईजोगमाई गाउँपालिकाको सबै वडाको प्रत्येक घरका किसानले दूधका लागि २ देखि ५ माउ दुहुनो गाई-भैंसी पाल्ने गरेका छन् । यहाँका मेहनती किसानहरुले प्रायजसो दुधालु गाई-भैंसी पाल्ने गरेका छ्न् ।
तर दूध प्रशस्त भएपनि अझैसम्म मूल्य पाउन नसकेकोले स्थानीय किसानहरुको दूधबाट जीवनस्तर माथि उठ्न सकेको छैन । ६ महिना पनि राम्रो यातायात चल्न नसक्ने भएकोले वर्खामा उत्पादन गरेको यहाँको सब्जी र फलफूलहरु बारीमा नै कुहिएर खेर गइरहेको वर्षौ बितिसक्यो ।
चुनावको समयमा १२ महिना गाडी चल्ने बाटो बन्ने र यहाँ उत्पादन हुने फलफूलहरु तराईसम्म पुर्याएर बेच्न सकिने गुलियो आश्वसन बाहेक नेताहरुले केही गर्न नसकेको कारण यो ठाउँको स्थानीयको जीवनस्तर माथि उठन सकेको छैन ।१२ महिना नै गाडी चल्ने एउटा पनि बाटो नभएकोले यहाँ उत्पादन हुने दूध सस्तो मुल्यमा स्थानीय डेरीहरुमै खपत हुने गरेको छ ।
मझौला डेरि धेरै भएपनि प्रशस्त दूध भएकोले डेरी सन्चालकहरुले जति भन्यो त्यती नै मुल्यमा दुध दिनुपर्ने हुन्छ । प्रशस्त दूध भएकोले पनि दुधको मूल्य बढाउन आनाकानी गर्छन् डेरी संचालकहरु । केही वर्ष अगाडी प्रतिलिटर २० रुपैयाँ रहेको र हाल ३० देखि ३५ रुपैयाँ तथा क्रिम १ छटाङको ५० रुपैयाँ मात्र रहेको छ ।
यसरी यातायातको चल्नको लागि राम्रो बाटो नभएकोले दशकौंदेखि यहाँका किसानहरुले पानी भन्दा सस्तो मुल्यमा दूध बेच्नुपर्ने बाध्यता छ । घिउ, छुर्पीको राम्रो मूल्य पाएपनि दुधको मूल्य बढाउन भने मान्दैनन् डेरी संचालकहरु । वर्खा सुरु भयो कि कालिकोटको बेथा बल्झिने माईजोगमाईको दूध चिस्यान केन्द्रसम्म पुग्न सक्ने वातावरण बन्ने हो भने वर्ष दिनमै जिवनस्तर परिवर्तन हुने स्थानीयहरु बताउँछन् ।
डेरीमा दूध नदिनु पनि पिरलो, धेरै दूध भएकोले घरमा राखेर पनि काम हुँदैन । त्यसैले थोरै मुल्यमा भएपनि डेरीमा दिनु बाहेक अर्को विकल्प छैन । माईजोगमाई ६ प्याङका मात्रिका थेबे र भिम थेबेले २\२ माउ दुहुनो गाई पालेर दैनिक १५/१६ लिटर दूध भर्छन् । मासिक १४/१५ हजार रुपैयाँ हात पार्छन् । तर यहि दूध चिस्यान केन्द्रसम्म पुग्ने हो भने मासिक ४० हजार रुपैयाँ जति हात पार्न सक्ने थिए । यो त सामान्य हो उनीहरु जस्ता ५ माउ देखि ८ माउसम्म दुहुनो गाई पालेर दूध उत्पादन गरेर त्यही सस्तो मुल्यमा डेरिलाई दिने धेरै किसानहरु छन् ।
उनीहरु सबैको माग बाटो राम्रो चल्ने बनाएर यहाँको दूध चिस्यान केन्द्रसम्म पुग्नको लागि १२ महिना गाडी चल्ने बाटो बनाउनेतर्फ ध्यान दिन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्छन् । प्याङ इलाम सदरमुकामबाट नजिकै रहेपनि विकासको पुर्बधारबाट धेरै पछि परेको छ । पछि परेता पनि यहाँ मेहनती किसानहरु छन् ।
इलाम जिल्लामा नै धेरै दूध उत्पादन गर्नेमध्ये प्याङ पनि अग्र भागमा आउँछ । भौगोलिक बनावटले ठगेपनि कर्मले कहिले नठग्ने प्याङमा फेरि पनि विकास नगरी चुनावको समयमा उहीँ पुरानै गुलियो आश्वासन मात्र बाँड्ने काम भए जहिले पानीभन्दा सस्तो मूल्यमा दूध बेचिरहनुपर्ने हुन्छ ।