अन्तराष्ट्रिय, राष्ट्रिय र कोरोना विश्वविद्यालय

यो लेख लेख्न उकास्ने प्रमुख प्रेरणाको स्रोत डा. दिलनाथ दंगालले मिति २०७७ साल भाद्र १५ गतेदेखि २० गतेसम्म जुमको सहायताले सञ्चालन गर्नुभएको छ दिने रिसर्च प्याकेज कार्यक्रम हो । वास्तवमा उक्त कार्यक्रमको जति प्रसंसा गरे पनि कमै हुन्छ । एकजना प्राध्यापकको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा अनुसन्धानमा रूची राख्ने प्राध्यापक र विद्यार्थीको आकर्षण उत्तिकै लोभलाग्दो रह्यो । तिन सय जना क्षमताको जुम बैठकमा प्रवेश गर्न नपाएको गुनासो बढेपछि वहाँले त्यसको क्षमता बढाएर पाँच सय पुर्याउनुभयो । तिन सय मात्र क्षमता हुँदा प्रवेश नपाएको मैले पनि शुरूका कार्यक्रममा फेसबुक लाइभबाट सहभागिता जनाएँ । क्षमता बढाएर पाच सय पुर्याएपछि बैठकभित्र प्रवेश गर्ने अवसर मिलेपछि मैले पनि दुई पटकसम्म आफ्ना जिज्ञाशा राख्ने मौका पाएँ । कार्यक्रम सकिनासाथ कार्यक्रमका हरेक भिडियो वहाँले वहाँका फेसबुक र युट्युवमा राख्नुभयो । ती भिडियो मैले पनि अनुसन्धान विधि पढ्ने मेरा आफ्ना विद्यार्थीलाई उपलब्ध गराएँ । कोभिड १९ का कारण लामो समयदेखि आफ्ना विद्यार्थीलाई आफ्ना विषयमा उपयोगी सामग्री पस्कन नसकेको भोक मेट्ने प्रयास गरें । कार्यक्रमको छैटौं प्रस्तुती समेत सकिएपछि मेरा मन मष्तिस्कमा अन्तर्ष्ट्रिय, राष्ट्रिय र कोरोना विश्वविद्यायलय शीर्षकमा यो लेख लेख्न मन लाग्यो ।

अन्तराष्ट्रिय विश्वविद्यालय

यहि छ दिने कार्यक्रमका क्रममा उपस्थित विज्ञ तथा सहभागीज्यूहरूमाझ संसारका चर्चित विश्वविद्यालयहरूले किन सफलताको चुचुरो चुमे भन्ने कोणबाट उक्त कार्यक्रममा जमेरै वहस भयो । ती विश्वविद्यालय त्यसरी सफल हुनुमा ती विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीका कडा परिश्रम र मेहनत नै प्रमुख कारण रहेछन् भन्ने मेरो वुझाइ रह्यो । ती विश्वविद्यालयको सफलता मापन गर्ने प्रमुख मापदण्ड भनेका तिनीहरूले सम्पन्न गर्ने गहन अनुसन्धान कार्य नै रहेछन् । त्यस्ता गहन र गुणस्तरीय अनुसन्धानमार्फत ज्ञान उत्पादन गर्ने कार्य नै रहेछन् । उनीहरूले व्यवस्थित ढंगले गर्ने ज्ञानको व्यापक प्रवोधीकरण नै रहेछ । ज्ञानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतसम्म फैलाउन सक्ने उनीहरूको क्षमता नै रहेछ । उनीहरूको स्तरीय प्रकाशन क्षमता नै रहेछ । उनीहरूका गुणस्तरीय अनुसन्धानमुलक लेख नै रहेछन् । त्यस्ता गुणस्तरीय सामग्री पस्कने स्तरीय जर्नलको प्रकाशन नै रहेछ । स्तरीय पुस्तकको प्रकाशन र वितरण गर्न सक्ने उनीहरूको क्षमता नै रहेछ । यी सबै उपलब्धी हात पार्ने प्रमुख आधार भनेको प्राज्ञिक इमान्दारिता नै रहेछ । बौद्दिक चोरीलाइ नियन्त्रण गर्न सक्नु नै रहेछ । निरन्तर अध्ययन नै रहेछ । अध्यापन नै रहेछ । अनुसन्धान नै रहेछ । अनलाइन वा कुनै पनि विकल्पका माध्यमबाट सञ्चालन हुने नियमित पठनपाठन नै रहेछ । प्रविधिको अधिकतम र अर्थपूर्ण उपयोग नै रहेछ । प्रविधिमार्फत राष्ट्रिय र अन्तराष्ट्रियस्तरसम्म हुने गहन प्राज्ञिक वहस, छलफल र अन्तर्क्रिया नै रहेछन् । विश्वविद्यालयले उत्पादन गरेका ज्ञान सीपको व्यावहारिक प्रयोग र कार्यान्वयन नै हो रहेछ । त्यस्ता ज्ञानको उपयोग र पुनः नवीन अध्ययन अनुसन्धानका आधारमा प्राप्त हुने नयाँनयाँ ज्ञान सीपको परीक्षण गर्ने चक्रिय प्रणालीलाई विश्विविद्यालयको जीवनशैली बनाउनु नै त्यस्ता सफलताका कारक तत्व रहेछन् । उक्त छ दिने अनलाइन कार्यक्रममा सहभागी हुन पाउँदा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त विश्वविद्यालयको सफलता मापन गर्ने कसी यस्तैयस्तै रहेछन् भन्ने मेरो बुझाइ रह्यो ।

राष्ट्रिय विश्वविद्यालय

विश्वमा ख्यातीप्राप्त ती विश्वविद्यालयले प्राप्त गरेको सफलताको कसीमा नेपालका विश्वविद्यालयका सम्बन्धमा घोत्लन मन लाग्यो । त्यसमा पनि नेपालका धेरैवटा विश्वविद्यालय मध्ये आफूले लामो समयदेखि अध्ययन तथा अध्यापन गरेको मुलुकको सबभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयकै सम्बन्धमा अलिक धेरै घोरिन मन लाग्यो ।  घोरिदै जाँदा त्रिभुवन विश्वविद्यालय विश्वका सफल र प्रतिष्ठित विश्वविद्यालयको कोटीमा दर्ज हुन नसक्नुको प्रमुख कारण भनेकै गुणस्तरीय एवं विश्वसनीय अनुसन्धानको कमी नै रहेछ भन्ने कुरा गहिरोसँग अनुभुति भयो ।

पहिलो कुरा त्यसरी अनुसन्धान गर्ने प्रमुख पात्र हामी प्राध्यापक र विद्यार्थी नै कम इमान्दार रहेछौं भन्ने निकै तितो सत्य समेत थाहा भयो । प्रथमतः हामी अनुसन्धान नै कम गर्दा रहेछौं । वा अध्ययन अनुसन्धानमा हामी अलिक अल्छि नै रहेछौं । हामी कसैकसैले अलिक जाँगर चलाएर गरेका ती थोरै अनुसन्धान मध्ये पनि धेरै अनुसन्धान कार्य चाहिँ कम स्तरीय मात्र हुँदारहेछन् । यतिसम्म कि विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न वा बढुवा हुने प्रयोजनका लागि सेवा आयोगमा पेश भएका हाम्रा अनुसन्धान कृति मध्ये अधिकांश कृति नक्कली जर्नलमा छापिएको पाइएकामा एकजना विज्ञले धेरै नै दुःख व्यक्त नै गर्नुभयो । निकै गुनासो गर्नुभयो । हामी ज्ञान उत्पादन र त्यसको सफल प्रवोधीकरण गरेर समाज वा सम्बन्धित क्षेत्रमा केहि योगदान पुर्याउने भन्दा पनि केवल बढुवा वा प्रमाणपत्र प्राप्त गर्ने उद्देश्यले मात्र धेरै अनुसन्धान गर्दारहेछौं भन्ने सत्य अधिकांश सहभागीज्यूहरूले व्यक्त गर्नुभयो । हाम्रा विद्यार्थीले पनि केवल प्रमाणपत्र हात पार्न मात्र त्यस्तै कम गुणस्तरीय अनुसन्धान गर्ने प्रचलन मौलाउँदै गएको निकै निराशाजनक दृश्यका सम्बन्धमा धेरै सहभागीज्यूहरूले चिन्ता व्यक्त गरेको समेत पाइयो ।

अनुसन्धान मात्र होइन, विश्वविद्यालयमा हुने हाम्रो पठनपाठन कार्य पनि उत्तिकै कमजोड रहेछ । हामी प्राध्यापक आधुनिक प्रविधिको अधिकतम उपयोग गरी स्वयं विद्यार्थीलाई विद्दुतीय माध्यमबाट विभिन्न जानकारीमुलक विषयवस्तु खोज्न लगाउन अझै तयार भइसकेका रहेनछौं । क्रमशः ज्ञान निर्माण प्रकृयामा सामेल गर्ने कुरामा विद्यार्थीलाई प्रोत्साहन गर्दारहेनछौं । उनीहरूलाई प्रवचन दिने वा नोट लेखाउने वा गाइड वा गेसपेपर आदिजस्ता तयारी सामग्री घोकेर त्यस्ता कुरा परीक्षामा ओकल्न मात्र प्रोत्साहन गर्ने परम्परागत शैलीभन्दा माथि उठ्न हामी धेरै प्राध्यापक पटक्कै सकेका रहेनछौं ।

अनलाइन स्रोतका माध्यमबाट महत्वपूर्ण ज्ञान र सुचना प्राप्त गरी अध्ययन अनुसन्धानलाई तिखार्ने कुरामा त झन् हामी कति हो कति पछाडि रहेछौं । विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नु पर्छ भन्ने बुद्दि आउन पनि हामीले कोभिड १९ नै पर्खनु परेछ । कोभिड १९ ले जुराइदिएको यो सुवर्ण अवसरको अधिकतम उपयोग गर्ने कुरामा पनि हामी कतिपय प्राध्यापक र विद्यार्थी नै मुख्य बाधक रहेछौं । यस्तो अवसरलाई उपयोग गर्नुभन्दा निम्न स्तरीय तथा षडयन्त्रमुलक दलीय चलखेल गरेर पदीय एवं आर्थिक लाभमा रमाउनु नै हाम्रा धेरैजसो विश्वविद्यालयको सबभन्दा ठूलो दुर्भाग्य रहेछ । यसरी गुणात्मक अध्ययन, अध्यापन, अनुसन्धान, अनलाइन कक्षा आदि जस्ता कुराको सफल कार्यान्वयन त परै जाओस त्यस्ता कुरा गर्ने पात्रहरूलाई नै उल्टै खेदोपाइलो र गाली बेइज्जती गरेर पदीय एवं आर्थिक भागवण्डा गर्दै तर मार्न पल्किएका खत्तरनाक भाइरसले हाम्रो विश्वविद्यालयको प्राज्ञिक शाख र पहिचान तहसनहस नै पारेका रहेछन् ।

स्वयं प्राध्यापकवर्ग नै मौलिक र गुणस्तरीय भन्दा पनि नक्कली र चोरी चकारी गरी कृति प्रकाशन गर्दै बढुवा खाने र तिनै पात्र पद र पैसा केन्द्रित निम्न स्तरीय घोर अप्राज्ञिक गतिविधिमा रमाउने कुप्रथा कायम रहुन्जेल हाम्रो विश्वविद्यालयले विश्वका सफल विश्वविद्यालयले चुमेको सफलताको शिखर चुम्ने कुरा आकाशको फल नै हुने रहेछ भन्ने कुरा उक्त छ दिने कार्यक्रममा निकै गहिरोसँग अनुभुति भयो । प्राध्यापक नै यस्ता गलत कृयाकलापमा संलग्न हुने भएपछि स्वभावैले विद्यार्थीमाझ पनि त्यहि भद्दा संस्कार सर्ने नै भयो । अब चाँडै प्राध्यापक र विद्यार्थी दुवै मिलेर यस्ता गलत प्रवृत्तिका विरूद्द बज्रप्रहार नगर्ने हो भने विश्वविद्यालयको शाख उक्सने कुरा फलामका चिउरा चपाए सरह हुने कुरा पनि धेरै सहभागीले महशुस गरेजस्तो लाग्यो । त्यस्तो कुरा महशुस गराउन सक्नु पनि यो कार्यक्रमको सानो मात्र उपलब्धि होइन । बरू कोरोना विश्वविद्यालयले निरन्तरता पायो भने पो केहि प्राज्ञिक सफलता हात लाग्ला कि भन्ने अनुभुति भएर यहाँ कोरोना विश्वविद्यालयका सम्बन्धमा समेत केहि अनुभव पस्कने जमर्को गरिएको छ ।

कोरोना विश्वविद्यालय

२०७६ साल चैत्र महिनाको पहिलो हप्तादेखि नै भौतिक रूपमा विश्वविद्यालयमा उपस्थिति जनाउने सम्भावना रहेन । चैत्र महिनाको तेस्रो हप्ता पश्चात विश्वविद्यालयको केन्द्रिय नेतृत्वले अनलाइन कक्षामार्फत जोडिएर विश्वविद्यालयका गतिविधि सञ्चालन गर्न थाल्यो । विश्वविद्यालयका त्यस्ता सुचना पनि विद्दुतीय माध्यमबाट नै थाहा हुन थाल्यो । विश्वविद्यालयका पठनपाठन नै अनलाइन कक्षामार्फत सञ्चालन गर्ने सुचना र निर्देशिका प्राप्त हुन थाले । निर्देशिका बमोजिम स्नातकोत्तर, एम.फिल र विद्यावारिधी जस्ता उच्च् तहमा अनलाइन कक्षामार्फत निकै सफलतापूर्वक कक्षा सञ्चालन भएका समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाउन थाले । थोरै विद्यार्थी भएका स्नातक तहका कतिपय कक्षा पनि अनलाइन मार्फत सञ्चालन हुन थाले । कतिपय विषयका मौखिक परीक्षा र अनुसन्धान कार्यका प्रस्तुतीकरण समेत अनलाइन मार्फत सञ्चालन हुन थालेको पाइयो । कोभिड १९ ले पार्ने प्रभाव अनिश्चित बन्दै गएपछि लिखित परीक्षा समेत अनलाइनकै माध्यमबाट सञ्चालन गर्ने छलफल र अभ्यास समेत भइरहेकै छ । यहि वीचमा विश्वविद्यालयले प्राध्यापक, कर्मचारी र विद्यार्थीका इमेल आइ.डि समेत बनाएर वितरण गरिरहेकै छ । यस्ता यावत कार्य कोरोनाको प्रभाव पश्चात आफ्नै घर, कोठा वा कुनै पनि उपयुक्त स्थानबाट सञ्चालन भइरहेका र ती कार्यका लागि भौतिक रूपमा विश्वविद्यालय नै गइरहनु नपर्ने भएकाले त्यस्तो अभ्यास गर्ने विशिष्ट अवस्थालाई कोरोना विश्वविद्यालय भनी न्वारन गर्न मन लाग्यो । भलै मेरो यो एउटा नितान्त नीजि विचार मात्र हो ।

व्यक्तिगत अनुभवका आधारमा भन्नुपर्दा वास्तवमा म चाहि कोरोना विश्वविद्यालयमा निकै रमाएको छु । एकजना प्राध्यापकका लागि उसको एउटा प्रमुख कर्तव्य भनेको उसका विद्यार्थीसँग निरन्तर रूपमा जोडिन सक्नु नै रहेछ । विद्यार्थीसँग संवाद गर्न पाउँदा नै सबभन्दा धेरै आनन्द आउँदोरहेछ । मेरा विद्यार्थी स्नातक तहका मात्र भएकाले सबै विद्यार्थीसँग त्यस्तो संवाद हुन पाएको त छैन । तैपनि स्नातक तह प्रथम वर्षका थोरै विद्यार्थीसँग मात्र सम्पर्क कायम हुन सकेपनि स्नातक तह चौथो वर्षका अधिकांस विद्यार्थीसँग यो वा त्यो रूपमा मेरो संवाद जारी नै छ । शुरूमा त म उनीहरूसँग अनलाइन कक्षामार्फत निकै रमाउन पनि सफल भएँ । तर विविध समस्याका कारण सबै विद्यार्थी अनलाइन कक्षामा जोडिन नसकेपछि म उनीहरूसँग अफलाइनबाट नै भए पनि संवाद गरेर दिन विताउँदैछु ।

यस वीचमा आफ्ना विषयसँग सम्बन्धित धेरै कार्यक्रममा जोडिने अवसर पनि कोरोना विश्वविद्यालयले जुराइदियो । ती मध्ये अंग्रेजी शिक्षकहरूको साझा संगठन नेल्टाका विभिन्न कार्यक्रम, विश्वविद्यालयको केन्द्रिय नेतृत्वले अनलाइन कक्षासँग सम्बन्धित भएर सञ्चालन गरेका विभिन्न तालीम र कार्यक्रम, विभिन्न विभाग वा समुह वा व्यक्तिले आयोजना गरेका यहि छ दिने रिसर्च प्याकेज जस्ता ऐतिहासिक कार्यक्रम आदिमा सहभागी भएर कोरोना विश्वविद्यालयको स्वाद लिने क्रम जारी नै छ ।

यहि वीचमा कहिलेकहिँ आफ्नै विश्वविद्यालयमा भौतिक रूपमा उपस्थित हुन पाउने अवसर पनि बेलामौकामा जुर्दै नै छ । त्यहाँ हुने दलीय चलखेल र अन्य गतिविधिलाई नियाल्ने र नयाँनयाँ शिक्षा हासिल गर्ने कार्य पनि भइ नै रहेको छ । त्यस्ता निम्न स्तरीय चलखेल र कृयाकलापले दिने पीडा पनि सिर्जनात्मक अभिव्यक्तिका लागि चाहिँ कम महत्वपूर्ण नहुँदारहेछन् । पीडा त वास्तवमा सिर्जनाको जननी नै रहेछ भन्ने कुरा पुष्टि गर्न पनि त्यस्ता चलखेल र गतिविधि एकहदसम्म सफल नै छन् जस्तो लाग्छ । त्यसैले कहिलेकहिँ ती विश्वविद्यालय जान पाइएन भने सिर्जनात्मक अभिव्यक्तिमा कमी आउन सक्ने खत्तरा पनि पैदा हुँदोरहेछ जस्तो पनि लाग्छ । हालै मात्र पनि ती विश्वविद्यालयमा भौतिक उपस्थिति जनाउँदा प्राप्त प्रेरणाका आधारमा सिर्जित केहि रचना सामाजिक सञ्जाल मार्फत नै भएपनि पाठकवर्गसामु पस्कन सक्ने उर्जा, शक्ति र अवसर प्राप्त भयो । यस्ता केहि थोरै अवसर बाहेक अन्य कुराको अभाव खड्कन कोरोना विश्वविद्यालयले खासै दिएको छैन ।

कोरोना विश्वविद्यालयसँग जोडिएको करीव छ महिनाको अनुभवका आधारमा भन्नुपर्दा अध्ययन, अध्यापन, अनुसन्धान, सिर्जनात्मक अभिव्यक्ति र अनलाइनमार्फत हुने विश्व भ्रमणमा महत्वपूर्ण उपलब्धि नै हासिल भएको छ भन्दा खासै फरक नपर्ला जस्तो लाग्छ । यदि अनलाइन मार्फत नै मेरा मुख्य सम्पती सबै विद्यार्थीसँग जोडिन सकियो भने कोरोनालाई बिदा नगरूञ्जेल घरैमा बसीबसी रमाउन सकिने रहेछ भन्ने महशुस गराउन कोरोना विश्वविद्यालय पनि एकहदसम्म सफल नै भएजस्तो लागेको छ ।

निश्कर्ष

कोरोना विश्वविद्यालयमा सञ्चालन भएको छ दिने रिर्सच प्याकेजको प्रेरणास्वरूप जन्मन पुगेको यो लेख छ दिने कार्यक्रमका आयोजक डा. दिलनाथ दंगालकै प्रमुख देन हो । वहाँकै फेसबुक वालबाट लिएका केहि तस्वीर समेत यो लेखमा समावेश भएका छन् । अन्तराष्ट्रिय स्तरका ख्यातीप्राप्त विश्वविद्यालयले अपनाउने गरेका मापदण्ड अपनाउन हाम्रा विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, विद्यार्थी र व्यवस्थापन पक्षलाई समेत झक्झक्याउन सक्नु उक्त कार्यक्रमको एक महत्वपूर्ण उपलब्धी हो जस्तो लागेको छ । त्यस्तै हाम्रा नेपालका विश्वविद्यालयमा समेत ती स्तरीय मापदण्डलाई लागु गर्न हामी प्राध्यापक र विद्यार्थी लगायत सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न सक्नु पनि यो कार्यक्रमको सानो उपलब्धि होइन । साँच्चै मन, वचन र कर्मले हामी प्राध्यापक र विद्यार्थी मात्र गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र अनलाइन पठनपाठनमा सक्रियतापूर्वक सहभागी हुने हो भने हाम्रा विश्वविद्यालयहरूले पनि चाडै गुणात्मक फड्को मार्ने रहेछन् भन्ने चेतना जगाउन सफल हुनु यो कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धि हो । यसका लागि कोभिड १९ ले खडा गरेको चुनौति हाम्रा विश्वविद्यालयका लागि बरदान नै सावित भयो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । त्यसकारण कोरोनाकै कारण उत्पन्न चुनौतीका क्रममा यस्ता प्राज्ञिक कार्यक्रममा यति महत्वपूर्ण उपलब्धि हासिल गरेर उल्टै कोरोनालाई नै रक्षात्मक बनाउन सक्नु निकै खुशीको कुरा हो । हर्षको कुरा हो । यहि प्रकृयालाई निरन्तरता दिएर कोरोनालाई नै गलाउने यो श्रृंखला कम्तिमा कोरोना नभागुञ्जेल जारी राखौं । यस्ता महान कार्यमा सबैजना सक्रियतापूर्वक लागौं । जागौं । जुरूक्क उठौं । नेपालका विश्वविद्यालयलाई समेत विश्वका सफल विश्वविद्यालयका लाइनमा लामबद्ध गर्न कुनै कसर बाँकी नराखौं ।

(लेखक मरब क्याम्पस, इलामका सहप्राध्यापक हुन्)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार