इलाम : इलामको पश्चिमी क्षेत्रका बासिन्दाहरूले सडक, स्वच्छ खानेपानी, विद्युत्, गुणस्तरीय शिक्षा र स्वास्थ्यसुविधा पर्खेको बर्षौँ बितेको छ । धुले सडकबाट हिउँदका सात महिना सदरमुकामसम्मको यातायात सुचारु भए पनि वर्षायाममा भने यातायात सेवा विच्छेद हुने गरेको छ । उनीहरूलाई समुद्रको टापुमा बसेसरह हुन्छ । आर्थिक, सामाजिक र मानव सुचकांकमा तुलनात्मक रूपमा सन्तोषजनक मानिएको इलामको पश्चिमी क्षेत्र भने निकै विकट र पूर्वाधार विकास र भौतिक सुविधाबाट पिछडिएको छ । जहाँका कैयौँ क्षेत्र सदरमुकामस सडक यातायातले अझै पनि जोडिन सकेका छैनन् ।
बाहिरबाट हेर्दा इलामलाई सुगम जिल्लाको रुपमा चित्रित गरिए पनि फाकफोकथुम गाउँपालिकाबासीलाई भने त्यो सुन्दा उदेक लागेर आउँछ । यहाँ पुग्दा यस्तो लाग्छ इलामको यो क्षेत्र ‘सुगमताको’ बिल्ला मात्रै भिरेर बसेको छ । स्थानीय सरकार गठन भएको तीन वर्ष बितेपनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत विस्तारको काम नहुँदा जनता समस्या झेल्न बाध्य भएको फाकफोकथुम गाउँपालिका आमचोककी ८० बर्षीया नेत्रकुमारी लामिछाने गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘यतिका उमेरको भइयो, तर स्थानीय सरकार आएपछि गाँउको मुहार फेरिन्छ, गाँउमा नै सहरको जस्तै सेवा सुविधा पाइन्छ भन्ने सोचिएको थियो तर केही भएन बरु यो स्थानीय सरकार नआउँदै सहज थियो ।’
ठूलो अपेक्षाका साथ स्थानीय जनप्रतिनिधिलाई मत दिएर जिताएका जनता सो अनुसारको प्रतिफल नपाउँदा निराश छन् । मेचीराजमार्गको कालोपत्रे छोडेर इलाम–पाँचथरको घुर्विसे पञ्चमी हुँदै झन्डै २० किलोमिटर यात्रामा पुग्न सकिने फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा शुद्ध खानेपानी, विद्युत्को केन्द्रीय प्रसारण र सडककै भरपर्दो व्यवस्था छैन । हिउँदमा धुलो उडाउँदै कुद्ने गाडी वर्षात्मा ठप्प हुँदा बिरामीको उपचारका लागि स्ट्रेचर खोज्नुपर्छ । गाउँपालिकाको केन्द्रमा नै केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भरखरै सुरुवात हुँदैछ । पेल्ट्रिक सेटको विद्युत्को भर रहेको स्थानीय धनपति घिमिरेको भनाइ छ । उहाँका अनुुसार स्थानीय सरकार आएको यतिको समय भए पनि विकास निर्माणका काम खासै हुन सकेको छैन ।
फाकफोकथुम गाउँपालिका आफैँ भौतिक संरचनाविहीन छ । पञ्चायतकालिन चार कोठे भवनमा केन्द्र रहेको गाउँपालिकाका ६ वडा भाडामा चल्दै आएका छन् । ३९ कर्मचारीको जना दरबन्दी भएको गाउँपालिकामा कर्मचारी पनि अपुग छन् । गाउँपालिकाको माथिल्लो भाग हुँदै करिब २० किलोमिटर फाल्गुनन्द मार्ग पर्छ । सरकारको गौरवको आयोजनाको रुपमा रहेको सो सडक कालोपत्रे भएर पूर्ण रूपमा सञ्चालनमा आएपछि गाउँपालिकाले मुहार फेर्ने आशा राखेको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार गाँउपालिकाले सबैलाई स्वरोजगार बनाउने किसिमको काम गरिरहेको र सुगमताको अनुभुति हुने किसिमका योजनाहरू समेत सञ्चालन गरिरहेको छ । चालु आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाहरूलाई रोजगार दिलाउने किसिमका योजनाहरू ल्याउने काम गाँउपलिकाले गरिरहेको समेत उहाँले बताउनुभयो ।
यता गाँउपालिकामा केन्द्रीय प्रसारण लाइन जोडिएपनि सबै क्षेत्रमा विद्युत नपुगेको फाकफोकथुममा विद्युत विस्तारका लागि काम भइरहेको छ । पुराना खानेपानी आयोजना मर्मत र मुहान संरक्षण नहुँदा फाकफोकथुम गाउँपालिकाबासीले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् । इलामको कर्णाली मानिएको पश्चिमी क्षेत्रलाई विकासका ठुला योजनाहरु संचालन नभएकाले विकासका पूर्वाधारदेखि खानेपानी, शिक्षा र स्वास्थ्यमा पछाडि रहेको स्थानीयको गुनासो छ ।