इलाम : किरात याक्थुङ चुम्लुङले आज बुधबार विश्वभर विभिन्न कार्यक्रम गरी ३२ औं स्थापना दिवस मनाउँदैछ । याक्थुङ चुम्लुङको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा समिति र प्रवासमा समेत विभिन्न कार्यक्रम गरी स्थापना दिवास मनाउँदैछन् ।
भर्चुअल शुभकामना आदानप्रदान, अन्तरक्रिया कार्यक्रम, सम्मान, पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण वितरण कार्यक्रम आयोजना गरि स्थापना दिवास मनाइरहेका छन् ।
यसै क्रममा किरात याक्थुङ चुम्लुङ इलामले शुभकामना आदानप्रदान र छात्रवृत्ति वितरण गरी स्थापना दिवस मनाएको छ ।
चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा विभिन्न विधाका ४ विद्यार्थीलाई ३० हजार गरीब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ ।

श्रीमती खोममाया आङबुहाङ लिम्बू छात्रवृत्ति कल्याण कोषबाट प्रदान गरिने गरीब तथा जेहेन्दार छात्रवृत्ति चिसोपानी मावि माङसेबुङ-६ की भूमिका लिम्बूलाई प्रदान गरिएको छ । नगद १० हजार राशीको छात्रवृत्तिगतवर्ष पनि भूमिकाले ने पाएकी थिइन् ।
माङसेबुङ गाउँपालिका २ की भूमिका कक्षा १२ मा अध्ययनरत छिन् । त्यस्तै किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट प्रदान गरिदैं आएको गरीब तथा जेहेन्दार छात्रवृत्ति बालकन्या मावि इलाम नगरपालिका ११ की वेविसा येक्तेन लिम्बूलाई प्रदान गरिएको छ । उनलाई पनि नगद १० हजार प्रदान गरिएको छ । इलाम नगरपालिका ११ की वेविसा कक्षा ७ मा अध्ययनरत छिन् । बैदेशिक रोजगारीका शिलशिलामा इजरायल पुगेका नेपाली लिम्बूहरुले वर्सेनि छात्रवृतिका लागि रकम संकलन गरी नेपाल चुम्लुङलाई पठाउने गरेको छ ।

त्यसैगरी याक्थुङ सहयोग कोषबाट प्रदान गरिने दुईवटा छात्रवृति अमर मावि इलामका विपन लिम्बू र लासाङ योङहाङलाई प्रदान गरिएको छ । कक्षा ९ मा अध्ययनरत विपन र १० मा अध्ययनरत लासाङलाई नगद ५/५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले हस्तान्तरण गरे ।
चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लिम्बू, चुम्लुङ इलामका सल्लाहकार बखतबहादुर आङदेम्बे र सटेन्द्र जवुगू, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङले मन्तव्य राख्दै छात्रवृत्ति प्राप्त छात्राहरुको शैक्षिक प्रगतिको कामना गरेका थिए । छात्रवृत्ति प्राप्त गरेका भूमिका लिम्बूले चुम्लुङलाई धन्यवाद दिदैं आगामी दिनमा चुम्लुङसँग निरन्तर जोडिने र आफ्नो कर्तव्य पालना गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमको संचालन चुम्लुङका सचिव राम योङहाङ र स्वागत सहसचिव याम माबोहाङले गरेका थिए । छात्रवृत्ति बुधबार इलामसहित अरुण पूर्वका ९ जिल्लामा एकैसाथ वितरण गरिएको छ ।