मृतकको नाममा सामाजिक सुरक्षा भत्ता वडा कर्मचारीले बुझेको खुलाशा !

  नयाँ बुलन्द
0 Shares

दार्चुला : लेकम गाउँपालिकाका वडा नम्बर ५ मा मृत्यु भइसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नामको सामाजिक सुरक्षा भत्ता बुझेको खुलाशा भएको हो । सामाजिक सुरक्षा भत्ताको जिम्मेवारी पाएका प्राविधिक हरसिंह बोहराले नै मृत्यु दर्ता भइसकेको व्यक्तिको लगट कट्टी नगरी भत्ता लिएको पाइएकोे छ ।

२०७६ असार २३ गते महेन्द्र नगरमा मृत्यु भएको हरिदत्त जोशीको मृत्यु दर्ता भइसक्दा समेत सामाजिक सुरक्षा भत्ता प्राविधिक बोहराले नै लिएको खुलाशा भएको छ । महेन्द्रनगरमा उनको मृत्यु भएकाले सबैलाई जानकारी समेत नभएको र तेस्रो चौमासिकको भत्ता लिन नआएपछि सोधखोज गर्दा वडाका कर्मचारीले राखेको खुल्न आएको वडाध्यक्ष दिपेन्द्र सिंह बोहाराले जानकारी दिए । ‘यो गल्ती नै भएको हो, तर नियत होइन कि प्राविधिक त्रुटीले गल्ती भएको हो’ वडाध्यक्ष बोहराले भने ।

पहिलो र दोस्रो चौमासिकको २४ हजार सामाजिक सुरक्षा भत्ता आफूले बुझेर मौन बसेका प्राविधिक बोहराको पोल तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका बेला खुलेको हो । ‘ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सूचना गर्दा यस्तो कुरा खुल्यो’ वडाध्यक्षले भने । नियत नै गलत भए वडाबाट सूचना समेत नगरिने भन्दै नियत भन्दा प्राविधिक त्रुटी भएको वडाध्यक्षले बचाउ गरे ।

तर वडा कार्यालयमा साउन १४ गते नै मृत्यु दर्ता गर्ने कर्मचारीहरुलाई मृतकको लगत पनि कट्टी गर्नुपर्ने हो तर नगरेकाले कर्मचारीको नियतमाथि आशंका गरिएको छ । पहिलो चौमासिकको भत्ता लिन नआएपछि पहिलो चौमासिकमै वडाबाट सोधखोज गरिनुपर्ने हो, तर त्यो भने गरिएको देखिएन । मृतकका आफन्तले मृतकका नाममा सामाजिक सुरक्षा भत्ता लिइरहेको सुइको पाएपछि सोधखोज गर्दा प्राविधिक बोहराले कोलेनिकामा फिर्ता गरेको जनाइएको छ ।

मृतकका नामको भत्ता आफूले बुझेको गल्ती स्वीकार प्राविधिकले गरेको वडाध्यक्ष बोहराले बताए । ‘गल्ती स्वीकार कर्मचारीले आइतबार पनि गरेका हुन, सोमबार पनि गरेकै हुन, मैले पनि जिम्मेवार व्यक्तिको हैसियतले हेर्न नसकेको भन्दै माफि मागेको छु’ वडाध्यक्ष बोहराले भने ।

वडा कर्मचारीहरुले मृतकका आफन्तले भत्ता बुझेको आरोप समेत लगाएको आफन्तहरुले बताएका छन् । मृतकका नाममा भत्ता बुझेको विषय सतहमा आउन थालेपछि गत सोमबार प्राविधिकले कोलेनिका पैशा फिर्ता गरेका छन् । कर्मचारी, वडाध्यक्षले माफि मागेपनि स्थानीयहरुले भने कानुनी कारबाही गरिनुपर्ने अडान राख्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ‘माफी मागेकै हुन् गल्ती स्वीकार गरेकै हो तर कानुनी कारबाही हुनुपर्ने भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरे’ वडाध्यक्ष बोहराले भने ।

आइतबारको छलफल निष्कर्ष विहीन भएपछि सोमबार पनि समस्या समाधानका लागि छलफल गरिएको छ तर निष्कर्ष विहीन छलफल टुंगिएको छ । वडा कार्यालयमा तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएको मंगलबार छलफल गरिने वडाध्यक्ष बोहराको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार