सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्बर २ ले कोरोना भाइरस (कोभिड १९) विरद्ध उच्च सतर्कता अपनाउने भएको छ ।
वडामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै आइतबार बसेको वडा समितिको बैठकले विभिन्न निर्णय गरेको छ । नेपाल भारतसँग सीमाना जोडिएको वडामा भारतबाट अवैधरूपमा सामान ओसारपसार गर्ने, अनियन्त्रित रूपमा मानिसहरू आवतजावत गर्ने गतिविधि गरिरहेकाले वडाको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बल राख्नका लागि पहल निर्णय गरेको छ ।
वडाभित्र काटिएका गोलिया काठहरु भने गोलिया ठेकेदारले साबिकको वडाका नवगठित समितिहरुसँग समन्वय भएपस्चात मात्र लान दिने, गाडी चालक र लोड गर्ने युवाहरूले अनिवार्य रुपमा सेनिटाइजर र मास्क प्रयोग गर्ने, ठेकेदार र गाडी चालकलाइ होटल मालिकले युज एन्ड थ्रो भाँडाकुडाँ प्रयोग गरि खान दिने निर्णय गरेको छ ।
त्यस्तै चालकहरुलाई बास बस्न नदिने ठेकेदार तथा गाडी चालकले बास बस्नुपरेमा आफै टेन्ट व्यवस्था गरि बस्न दिने निर्णय गरेको छ ।
आर्थिक कारोबार गर्दा रुपैयाँबाट कोरोना भाइरस सर्न सक्ने खतरा भएकाले वित्तीय संघसंस्थाहरुका आर्थिक कलेक्टहरुले विद्युतीय सूचना संचारमार्फत कारोबार गरिदिनहुन र वडाभित्र प्रवेश नगरिदिन अनुरोध गर्ने निर्णय गरेको छ ।