बिर्तामोड: सुकिला, मुकिला नेता, जनप्रतिनिधि र भीआइपी व्यापारी हिडिरहने झापाकै ठुलो बजार बिर्तामोड फोहोरले गन्हाउन थालेको छ । एक सातादेखि फोहोर नउठाउदा बिर्तामोड नै कुरुप र दुर्गन्धित भएको छ । नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्र्न नसक्दा यहाँ हिड्ने जो कोहिले नाक थुनेर हिड्न बाध्य हुनुपरेको छ ।
गत हप्ता उठाइएको फोहोर अब केहिले उठ्ला भन्ने टुङ्गो छैन । दैनिक संकलन गरिएको फोहोर फाल्ने ठाउँ नहुँदा ट्याक्टर घुम्नै छोडेको छ । नगरका फोहोर संकलक समेत फोहोर फाल्ने ठाउँ खोजिदिन नगरपालिकासँग निरन्तर आग्रह गर्दै आएका छन् ।
बिर्तामोडको मुख्य चोकदेखि गल्ली–गल्लीमा फोहोरको डिंगुर थुप्रिएको छ । बिर्तामोडबासीले तत्काल फोहोर उठाइदिन गुहार समेत गरिहरेका छन् ।
नगरका प्रवक्ता अग्नी पाण्डेले प्राविधिक कारणले फोहोर उठाउन नसकिएको जानकारी दिएका छन् । उनले फोहोर फाल्ने ठाउँ नभएकाले उठाउन नसकेको बताए । यसको व्यवस्थापनका लागि लागिरहेका छौं, पाण्डेले भने – ल्याण्डफिल्ड साइट नहँुदा समस्या भइरहेको छ ।
फोहोर व्यवस्थापनसँगै वायोग्यास उत्पादन गर्ने योजनासहित बिर्तामोड, कनकाई र अर्जुनधाराले काम थालेपनि निर्माण सम्पन्न नहुँदा समस्या उस्तै छ । बिर्तामोडले सो कामका लागि १५ लाख दिई सकेको छ, पाण्डे भन्छन्, त्यहाँको काम सकेपछि यो समस्या समाधान हुन्छ ।
यता, विषयगत समितिका प्रमुख कुल प्रसाद संग्रौलाले बिर्तामोडको मुख्य समस्या नै समाधान गर्न नसकेको बताएका छन् । उनले नगरका सबै काममध्ये महत्वपूर्ण काम फोहोर व्यवस्थापन भएपनि त्यहि काम पुरा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
संग्रौलाले आफ्नो समितिले नीति मात्रै बनाइदिने र नगरले नै फोहोर व्यवस्थापन गर्ने जानकारी दिए । उनले ल्याण्डफिल्ड साइट व्यवस्थापन नभएसम्म समस्या समाधान नहुने बताए । दिगो व्यवस्थापनका लागि संग्रौलाले १० पेजको सूझाव समेत पेश गरेको बताएका छन् । उनले नगरभित्र खोला र खाली जग्गा नहुँदा फोहोर व्यवस्थापनमा कठिनाई भएको जिकिर गरे । यहाँका स्थानीयबासीले भनेका छन्, ‘जाबो फोहोर पनि उठाउन सक्दैनन्’ अरु के कुरा गर्नु ?-इजलासबाट