इलाम : इलाम जिल्लाको लेकाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत आलुले भाउ पाएपछि किसानहरू यतिबेला उत्साहित भएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण भारतीय आलु नआउने भएकाले आलुको भाउमा गिरावट आउने हुन् कि भन्ने चिन्ताले दिनरात पिरोलिएका किसानहरू आलुले बजार पाएपछि उत्साहित भएका हुन् ।
कोरोनाका कारण भारतीय तरकारीहरू नेपाल ल्याउन राकग लगाएपछि नेपाली आलुले भाउ पाएको हो । विगतमा नेपाली बजारमा भन्दा पनि भारतीय व्यापारीहरू घरघरै आएर धेरै कम मूल्यमा आलु लैजाने गर्दथे । तर यो वर्ष स्थानीय आलु व्यापारीहरू घरबाट नै प्रतिमन दुई हजार १०० देखि दुई हजार ४०० सम्म रकम हालेर लगिरहेका छन् । लेकाली भेगमा साउनदेखि भदौ पहिलो सातासम्म आलु खनेर सकिन्छ ।
अहिले एक मन आलु बेचेको पैसाले एक मन चामल आउने गरेको प्याङका रघु राई बताउनुहुन्छ । यो वर्ष आलुको भाउ राम्रो आएकाले किसानलाई मेहनेतअनुसार धेरै राहत मिलेको राईको भनाइ छ । यता व्यवसायीले भने गएका वर्षमा भारतबाट भित्रिने आलु यस पटक नभित्रिँदा आलु महंगिएको बताउँछन् । गत वर्ष यही समयमा प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको आलुको मूल्य यसवर्ष प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ
आलुको भाउ आए पनि उत्पादन कम भएकाले बजारको माग पूरा गर्न नसकिएको इलामका व्यापारी पासाङ शेर्पा बताउनुहुन्छ । लेकको आलु झापा र तराई क्षेत्रमा अत्यधिक माग रहेको तर आलु सकिँदै जान थालेकाले माग पूरा गर्न गाह्रो परेको शेर्पाको भनाइ छ ।
जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिका तथा पाँचथरको माथिलो लेकाली भेगमा यसको धेरै खेती गरिँदै आएको छ । पुस, माघ र फागुनमा रोपेको आलु किसानले भदौ पहिलो सातासम्म खनिसक्छन् । यस क्षेत्रका किसानले प्रायः रातो, निले, रातो बिटे र झ्याले आलु रोप्ने गर्छन् । आलु खेतीबाटै वर्ष भरकोे घरखर्च टार्दै आएका छन् । जिल्लाका किसानले एकै घरपरिवारले ६० देखि १०० मनसम्म आलु रोप्ने गरेका छन् ।