‘समुदायमा संक्रमण सुरुवाती चरणमा छ, जोखिम समूहलाई जोगाऔं’

  नयाँ बुलन्द  93 पटक हेरिएको

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्भावना के कस्तो छ ? यसै विषयमा जीवाणु वैज्ञानिक सुदीप खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणको ग्राफ असारको अन्तिम साता घटेको थियो, अहिले फेरि संक्रमणको बढ्दै गएको छ । किन यस्तो भइरहेको छ, यसले दिने संकेत के हो ?

सुरुवाती चरणमा प्रायः संक्रमितहरू विदेशबाट आएका या संक्रमितसँग घुलमिल भएका व्यक्तिहरू थिए । छिटपुट रूपमा समुदायमा संक्रमण भएको भन्ने थियो तर व्यापक रूपमा फैलिएको थिएन ।

जब हामीले लकडाउन हट्यो भन्यौं, देशभित्र एकठाउँबाट अर्को ठाउँमा संक्रमण फैलिएको भारतबाट समेत कामदारहरू भित्रिए । त्यही बेला टेस्टको दायरा साँघुरो बनायौं, अनि जनमानसमा कोरोना त केही होइन भन्ने स्थापित गर्न खोज्यौं । यसले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्ने अवस्था बन्यो र समुदायस्तरमा फैलिन थाल्यो ।

अन्य देशमा संक्रमणका कारण भटाभट मानिसहरू मरिरहँदा नेपालका ९८ प्रतिशत संक्रमितमा लक्षण थिएन । त पछिल्लो चरणमा लक्षण भएका संक्रमितसँगै मृतकको संख्या पनि बढेको छ । के कारणले यस्तो भयो ? भाइरसले रूप फैर्दै गएको त होइन ?

कोरोना भाइरस आफैँमा तात्विक भिन्नता आउनेगरी परिवर्तन आएको प्रमाण भेटिएको छैन ।

अहिलेको संक्रमणदर र मृत्युदर बढ्नुमा भाइरसभन्दा पनि सामाजिक कारणहरू प्रमुख छन् । सुरुवाती चरणमा संक्रमित प्रायः सबै वैदेशिक रोजगारीमा गएर आएका, तुलनात्मक रूपमा स्वास्थ्यस्थिति राम्रो भएका ४० वर्षभन्दा कम उमेर समूहका थिए । अझ भन्नुपर्दा करिब ९८ प्रतिशत नै संक्रमित युवा उमेरका थिए । यो उमेर समूहमा संसारभर नै मृत्युदर न्यून देखिएको छ । त्यसैले त्यो बेला गम्भीर लक्षण नभेटिनु र मृत्युदर कम हुनु स्वाभाविक थियो ।

तर हामीले गल्ती कहाँ गर्‍यौं भने परीक्षणको दायरा साँघुरो बनाएर विदेशबाट आएकाबाहेक अन्यमा लक्षण छैन भने परीक्षण नगर्ने भन्यौं । यसले सम्भावित संक्रमित पहिचान हुन सकेन र समुदायमा संक्रमण फैलिने वातावरण बन्न पुग्यो ।

जब समुदायमा संक्रमण पुग्यो, ६० वर्ष उमेर पुगेका, दीर्घरोगी वा अन्य समस्याबाट ग्रसित व्यक्ति अर्थात् जोखिम समूहमा भएकाहरू पनि संक्रमित हुन थाले । उनीहरूमध्ये केहीको मृत्यु भएको छ र यो अझ बढ्न सक्छ । किनकि संक्रमितको संख्या बढ्नासाथ मृतक संख्या बढ्दैन । औसतमा शरीरमा भाइरस प्रवेश गरेको ४/५ दिनमा लक्षण देखिएर संक्रमितको पहिचान भए पनि मृत्यु औसतमा १०/१२ दिनपछि मात्र हुन्छ । त्यसैले संक्रमितको संख्या बढ्न थालेको केही समयपछि मात्र मृतक संख्या बढ्छ । संक्रमण फैलिने दर, भूपरिवेश आदि कारणले यस्तो सुस्तता केही हप्तासम्म हुन सक्छ । अहिले हामी सामुदायिक संक्रमणको सुरुवाती चरणमा छौं । त्यसैले संक्रमण दर र मृत्युदर दुवै आगामी दिनमा बढ्न सक्नेछ ।

अझै खराब अवस्थालाई रोक्ने कुनै उपाय छैन र ?

यो खराब अवस्था हामी आफैँले सिर्जना गरेका हौं । तर अझ खराब अवस्था आउन नदिनेतर्फ लाग्नुपर्छ । किनकि यो खेलाँची नभएर गम्भीर परिणाम निम्तिन सक्ने संक्रमण हो । यसविरुद्ध लड्न गम्भीर तयारी चाहिन्छ । विगतमा झंै सत्यबाट टाढा भाग्ने र सुनौला भ्रम पालेर बस्ने हो भने फेरि नराम्रोसँग चुक्छौं हामी ।

कुनै पनि संक्रमणसँग जुध्न सर्वप्रथम जोखिम समूह पहिचान गर्नुपर्छ । जसरी पाठेघरको क्यान्सरबाट जोगाउन खोप लगाउने भनेको जोखिम उमेर समूहका महिलालाई हो । पुरुषलाई लगाएर कुनै उपलब्धि हासिल हुँदैन । त्यसरी नै कोरोनाको सर्वाधिक जोखिममा वृद्धवृद्धा, दीर्घरोगी, अन्य स्वास्थ्य समस्या भएका मानिसहरू हुन्छन् । अब यो समूहलाई संक्रमणबाट जोगाउन पहल गर्न जरुरी छ ।

त्यसै पनि यो समूह ज्यादा बाहिर नजाने, प्रायः घरमै हुने समूह हो । अर्थात्, संक्रमणबाहिर मात्र होइन, घरभित्रै पनि भइराखेको छ । यसबाट बच्न हामीले सामाजिक आनीबानीमा अझै सुधार गर्नुपर्ने देखियो । यो जोखिम समूहबारे सर्वसाधारणलाई शिक्षित गरौं र कसरी संक्रमणबाट टाढा राख्ने भनेर जनचेतना फैलाऔं ।

जोखिम समूहको सम्पर्कमा आउने स्वास्थ्यकर्मी, परिवारजन, सेवाप्रदायक आदिको परीक्षणलाई प्राथमिकतामा राखौं । परिआएको खण्डमा जोखिम समूहका लागि सेवा पनि विशेष समयमा उपलब्ध हुने वातावरण मिलाउनुपर्छ ।

यो खराब अवस्था हामी आफैँले सिर्जना गरेको भन्नुभयो । गएका ६ महिनामा सरकारले कोभिड-१९ नियन्त्रणमा गरेको कामलाई कसरी समीक्षा गर्नुहुन्छ ?

कोरोना संक्रमण सुरुवाती चरणमै हुँदा देशमा लकडाउन भयो, जनताले सरकारलाई साथ दिए । एकहदसम्म संक्रमणको फैलावटमा कमी आयो । त्यसले नेपालमा अन्यत्र जस्तो गम्भीर समस्या भोग्नु नपर्ला कि भन्ने आकलन थियो । तर अपसोच त्यो समय हावादारी कुराको समर्थन र बहसमा बिताइयो ।

लकडाउन गरेपछि के गर्ने भन्ने ठोस योजना बनेन । कोरोना भाइरसबारे सही जानकारी दिने, स्वास्थ्यकर्मीलाई तालिम दिने, आवश्यक औषधि उपकरणको जोहो गर्ने, मापदण्डअनुसार क्वारेन्टिनस्थलहरू बनाउने, घनाबस्ती भएका सहरी भेगमा स्वास्थ्य संस्थालाई युद्धस्तरमा स्तरोन्नति गरेर तयारी अवस्थामा राख्ने, सम्भावित संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नेजस्ता काम राम्रोसँग हुन सकेन ।

आरडीटी जस्तो अविश्वसनीय प्रविधिमा हामी भर पर्‍यौं । एक जनाको पीसीआर एउटै परीक्षण गर्न १५/२० हजार पर्छ, सबैको परीक्षण गर्न सकिँदैन भनेर झूटो बोलेर भ्रम छर्न खोज्यौं । ‘नेपालीको इम्मुनिटी शक्ति धेरै छ’, नेपालमा कोरोना संक्रमण फैलिँदैन, फैलिए पनि खासै असर गर्दैन’ भन्ने भ्रम पालेर बस्यौं ।

सरकारको तर्फबाट केही पनि काम नभएको भने होइन । नीतिगत रूपमा क्वारेन्टिन स्थलसम्बन्धी नियम, स्वास्थ्य संस्था सञ्चालनका नीतिहरू बनेका छन । सुस्त गतिमा भए पनि जनशक्ति परिचालन भएका छन्, स्वास्थ्यसेवा विस्तार भएको छ । ठाउँठाउँमा आफैँले प्रयोगशाला स्थापना गर्नु र निजी क्षेत्रलाई समेत संलग्न गराएर परीक्षण सर्वसुलभ बनाउनु अर्को सकारात्मक पाटो हो ।
ढिलै भए पनि आरडीटी रोकिएको छ । कन्ट्याक ट्रेसिङमा चासो दिन थालिएको छ । बेसार पानीबाट ध्यान हटाएर विज्ञका कुरा सुनिन थालिएको छ । बन्दाबन्दी पनि स्थानीय प्रशासनबाट निकायबाट निर्देशित हुने थोरै वैज्ञानिक बनाइने प्रयास भएको पाइको छु ।

तर मेरो आकलनमा अझै पनि कतिपय कदमहरू पूर्णरूपमा वैज्ञानिक आधारमा चालिएको छैन ।

उसो भए अहिले स्थानीय प्रशासनमार्फत भइरहेको निषेधाज्ञा तथा लकडाउन ठीकै हो ?

यो केही हदसम्म सुधारिएको छ, तर थुप्रै कमीकमजोरी पनि छ ।

जहाँ संक्रमित भेटिन्छन्, त्यही स्थानीय क्षेत्र मात्र बन्द गर्नु जायज र किफायती हुन्छ । पुरानो गाविस वा नगरपालिकाको वडा सरहको भूगोलमा संक्रमित भेटियौं भने त्यो क्षेत्र सिल गरेर अन्य स्थानमा व्यवसाय-सेवा गर्न सक्छौं ।

बिहान बेलुका सीमित समयमा मात्र अत्यावश्यक सेवा खोल्ने, सवारी साधनमा जोरबिजोर प्रणाली जारी गर्ने, रात्रि कफ्र्यू लगाउने, निश्चित सानोभन्दा सानो भूगोल नतोकेर समग्र जिल्ला वा नगररगाउँपालिका बन्द गर्ने अभ्यास वैज्ञानिक छैन । यसले संक्रमण नियन्त्रण गर्ने होइन, फैलाउने जोखिम हुन्छ ।

उदाहरणका लागि बैङ्कको अवस्था हेरौं :-

कुनै एउटा शाखा अहिले दिनको २/४ घण्टामात्र खोल्दा २०० जना सेवाग्राही आए भने भिड हुनजान्छ । तर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्यौं भने २०० जना एकै पटक आउँदैनन् र भिड कम हुन्छ । कर्मचारीलाई ६ देखि १२ र १२ देखि ६ को दुई तालिकामा आधा संख्यामा काम गराउन सकिन्छ । यसोगर्दा उही संख्याका कर्मचारीबाट लामो समयसम्म सेवा प्रदान गर्न पनि सकिने, सेवाग्राहीले सेवा पाउने समय पनि बढ्ने र अर्थतन्त्र केही हदसम्म चलायमान पनि हुन्छ । सार्वजनिक सवारी पनि त्यही हो । सवारी साधानको संख्या बढाउने, यात्रु चाहिँ घटाउनुपर्छ । यसरी व्यवस्थित गर्न सकियो भने बल्ल थोरैभन्दा थोरै क्षतिमा धेरैभन्दा धेरै नियन्त्रण गर्न सकिन्छ ।

लकडाउन वा निषेधाज्ञालाई सरकारले कसरी सदुपयोग गर्नुपर्छ, ताकि हटाउँदा फेरि पहिलेकै समस्या दोहोरियोस् ?

लकडाउनबारे निकै बहस भइरहेको छ । यसको प्रभावकारीता र आवश्यकताका दुबै पाटाहरूका पक्षमा सरकार, विज्ञगणको तर्क समाजमा व्याप्त छ ।

मेरो विचारमा लकडाउन आवश्यक छ र छैन पनि । लकडाउनको अन्तरनिहित तात्पर्य भनेको संक्रमण फैलिन नदिनु नै हो । त्यो बाहेक लकडाउनको अरु कुनै उपादेयता छैन । प्रत्येक पटक केही संख्यामा संक्रमित देखिँदैमा वा संक्रमितको संख्या बढ्दैमा लकडाउन गर्नै पर्छ भन्ने हुँदैन ।

दीर्घकालीन लकडाउनले समाज नै कुँजो बनाएर जनजिविका, अर्थतन्त्र, स्वास्थ्यसेवा र शिक्षा सबै ध्वस्त पार्छ । त्यसैले लकडाउन गर्ने निर्णय लिँदा महामारीको प्रकृति, कहाँ, कस्तो र कहिले भन्ने बुझ्न जरुरी छ ।

कोरोना संक्रमित अधिकांश व्यक्ति १४ दिनचित्र संक्रमणमुक्त भइसक्छन् या मृत्यु हुने देखिन्छ । केही केस ३ हप्तासम्म पनि संक्रमितबाट अरुलाई सरेको देखिएको छ, तर त्यस्ता बिरामीहरूमा पनि २ हप्ताभित्रै लक्षण देखिने सम्भावना अधिक हुन्छ । अर्थात् संक्रमणको सुरुवातदेखि २-३ हप्ताको समयसम्म पूर्णरूपमा लकडाउन गर्ने हो र समाजलाई संक्रमितहरूसँग घुलमिल हुने अवस्था आउन नदिने हो भने संक्रमण फैलिने सम्भावना शून्य सरह हुनजान्छ ।

तर त्यो समयभित्र पहिचान भएका संक्रमितको सम्पर्कमा आएका सम्भावित संक्रमितलाई समेत पत्ता लगाएर या त परीक्षण या त एकान्ताबासमा निगरानी गर्न सक्नुपर्छ । सामान्यतया परीक्षण नगर्ने अनि परीक्षण गर्दा संक्रमित देखिनसाथ १ हप्ता लकडाउन गर्ने अनि अर्को हप्ता फेरि बढाउने परिपाटी गलत छ ।

यसले अन्योल सिर्जना गर्छ । यसको अर्थ सबै ठाउँमा ३ हप्तौ लकडाउन गर्नपर्छ भन्ने पनि होइन । बस्ती कम भएका ठाउँमा कन्ट्याक ट्रेसिङ पनि सजिलोसँग गर्न सकिन्छ र, त्यहाँ अधिकांश सम्भावित संक्रमितको परीक्षण चाँडै गर्न सकिन्छ ।त्यस्ता ठाउँमा एक हप्ते लकडाउन गरेर परिस्थिति नियन्त्रण गर्न सकिन्छ । घना बस्ती भएका ठुला सहरमा कन्ट्याक ट्रेसिङ असम्भव प्राय बन्न जान्छ । त्यहाँ सम्पूर्ण सम्भावित संक्रमितको परीक्षण गर्न छोटो समयमा सम्भव हुँदैन । त्यसैगरी थुप्रै क्लस्टरमा संक्रमण देखिएको छ भने त्यस्ता ठाउँमा पनि केहि लामो लकडाउन गर्नुपर्ने हुनसक्छ ।

लकडाउन गर्दा प्रायः जिल्लाको भूगोललाई आधार मान्ने गरिएको छ । त्यो पनि पूर्ण रूपमा गलत छ । प्राय केसमा सम्पूर्ण जिल्ला होइन, सम्पूर्ण गाउँ/नगरपालिकामा पनि लकडाउन गर्न पर्दैन । जहाँ संक्रमण भेटिएको छ, सो क्षेत्रको सामाजिक आर्थिक सम्बन्ध हेरेर मानिसको आवत जावतको आधारमा लकडाउन गर्ने हो । किनकी कोरोना संक्रमण अहिले नै निमिट्यान्न हँुदैन । यो पटकपटक विभिन्न भूगोलमा देखा पर्छ । त्यसैले लकडाउन गर्दा समाजमा थोरैभन्दा थोरै असर पर्ने, तर महामारी नियन्त्रण गर्न धेरैभन्दा धेरै प्रभावकारी हुने गरी निर्णय गर्न पर्ने हुन्छ । प्रत्येक संक्रमणको झिल्कालाई देखिनासाथ त्यसको प्रवृति अध्ययन गरेर सुल्झाउनु पर्नेहुन्छ ।

पछिल्लो समय ‘हर्ड इम्युनिटी’ अर्थात सामुदायिक प्रतिरोध क्षमता’बारे विभिन्न तर्कहरू सुनिएको छ, हर्ड इम्युनिटीको बारेमा आमा मानिसले के बुझ्ने ?

कोरोना भाइरस मानिसको आफैं उत्पन्न हुँदैन, यो एक संक्रमितबाट अर्कोमा सर्ने हो । एकबाट दुई, दुईबाट चार हुँदै फैलिन्छ । र, सामुदायिक प्रतिरोध क्षमता बढाउनु भनेको यो संक्रमण एकबाट दुई, दुईबाट चार हुन नदिनु हो । अर्थात, सकेसम्म एकमै सीमित राख्ने, नभए एकबाट अर्को एकमा सीमित राख्ने, तर गुणात्मक वृद्धि हुन नदिने, चरणबद्ध संक्रमण फैलिन नदिने आदि ।
यो दुई प्रकारले मात्र सम्भव हुन्छ । एउटा त परीक्षण गरेर संक्रमितको पहिचान गर्ने, र भाइरसको एक जीवनचक्र -करिब १४ दिन औसत) एकान्तवास -आइसोलेसन) बसेर अरुलाई सर्न नदिने । सबैले सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउने जस्ता मापदण्ड पालन गर्ने ।

दोश्रो, समाजमा भएका यथेस्ट व्यक्तिहरू, जसलाई संक्रमण हुन नसकोस् । अर्थात् पहिलो व्यक्तिलाई संक्रमण भए पनि उसको सम्पर्क र संगतमा आउने दोश्रो व्यक्तिमा प्रतिरोध क्षमता भयो भने संक्रमण फैलिन पाउँदैन । समाजमा करिबकरिब ७०५ जनासम्ममा यस्तो प्रतिरोध क्षमता भयो भने कसैमा संक्रमण देखिहाले पनि अन्य व्यक्तिमा फैलिन पाउँदैन र यो स्वतः हराएर जान्छ । यस्तो अवस्थामा भने सामुदायिक प्रतिरोध क्षमता विकास भएको मानिन्छ ।

मुख्य प्रश्न, यस्तो प्रतिरोध क्षमता कसरी हासिल गर्ने भन्ने हो । एकपटक संक्रमण भएर निको भएपछि पुनः संक्रमित भएको केही छिटपुट घटना सुनिए पनि अधिकांशमा देखिएको छैन । अर्थात्, एकपटक संक्रमण भएपछि शरीरमा भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ । तर खोप बनाउन भइरहेको प्रयास सफल भएमा मानिसहरूले त्यो लगाएपछि संक्रमणविना प्रतिरोध क्षमता विकास गर्न सकिन्छ ।

तर संक्रमण फैलिन दिएर सामुदायिक प्रतिरोध क्षमता बढाउने कि भन्ने बहस पनि सुनिन्छ, जुन पूर्ण रूपमा गलत छ ।

कोरोनाको अहिलेको औसत मृत्युदर हेर्ने हो भने २ प्रतिशतसम्म देखिन्छ भने उच्च उमेर समूहमा यो १० प्रतिशतभन्दा माथि पुग्छ । यस्तो अवस्थामा ५०/७० प्रतिशत संक्रमणको आवश्यकता हो भने सामुदायिक प्रतिरोध क्षमताका लागि हामीले ज्यानको उच्च मूल्य चुकाउनुपर्ने हुन्छ । अझ त्यति संख्यामा संक्रमित हुँदा स्वास्थ्यसेवा क्षेत्रमा पर्ने भार थेग्न नसकिने हुन्छ ।

नेपालको वृद्धवृद्धाको संख्या करिब १५ लाख हाराहारीमा छ । अब सामुदायिक प्रतिरोधको लागि ५० प्रतिशत संक्रमण दरको न्यूनतम सीमा तोक्दा पनि करिब ७/८ लाख व्यक्ति संक्रमित हुने स्थिति आउँछ । सो उमेर समूहमा अहिले देखिएको १० भन्दामाथिको मृत्युदर कायम रहने हो भने पनि करिब ७०/८० हजार वृद्धवृद्धाले मृत्युवरण गर्नुपर्ने हुन्छ । मृत्युदर २ प्रतिशत मान्दा पनि १५/२० हजारको मृत्यु हुन्छ । त्यसबाहेक अरू उमेर समूहको संख्या अनि दीर्घरोगीको संख्या जोड्दा यो आँकडा भयावह हुन आउँछ । त्यसैले अहिले संक्रमण फैलिन दिएर आफैँ सामुदायिक प्रतिरोध क्षमता विकास गर्नु गम्भीर गल्ती हुनेछ ।

अहिलेका लागि सबैभन्दा भरपर्दो उपाय भनेको संक्रमितहरूको पहिचान गरेर आइसोलेट गर्ने र अरूलेे संक्रमणबाट बच्न सावधानी अपनाउनु नै हो ।

कोरोनाविरुद्धको उपचारमा औषधि वा भ्याक्सिनको निर्माण कुन चरणमा पुगेको छ, पछिल्लो समय खोप तेस्रो चरणको क्लिनिकल ट्रायलहरू भइरहेका समाचारहरू आइरहेका छन्, यस्ता समाचारबाट हामी कतिको आशावादी हुने ?

अहिले औषधि तथा खोप दुवै परीक्षणको विभिन्न चरणमा छन् । खोपकै कुरा गर्दा रुसमा बनेको र बेलायतमा बनेको खोप केही चर्चामा छ । तर यतिमा मात्रै सीमित होइन । डेढ सयभन्दा बढी फरक भ्याक्सिन परीक्षणको विभिन्न चरणमा छन् ।

सबैभन्दा अगाडि बढेको खोप भर्खर पहिलो र दोश्रो तह पार गरेर तेस्रो तहको परीक्षणमा पुगेको छ । यो आफैँमा जटिल परीक्षण हो । यसको नतिजा आउन चाँडोमा पनि ६ महिनादेखि २/३ वर्ष लाग्छ । सबै नतिजा प्राप्त भएर खोपको उत्पादन हुन, अनि सर्वसुलभ रूपमा उपलब्ध हुन अझै केही वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । यो पनि परीक्षणमा भएका खोप सफल भएको खण्डमा मात्र ।

तर यी खोपले काम नगरेको खण्डमा वा दीर्घकालीन सुरक्षा प्रदान नगर्ने देखिएको खण्डमा हामीलाई सामुदायिक प्रतिरोध क्षमता विकास गर्न गाह्रो हुन्छ र यो संक्रमणको सिलसिला नियन्त्रण गर्न सकिन्न ।

तपाईं संक्रमण नियन्त्रणको कुरा गर्दै हुनुहुन्छ, के यो भाइरसलाई निर्मूल पार्नचाहिँ सकिँदैन ?

कोरोना भाइरस निर्मूल पार्नु असम्भव प्रायः देखिन्छ । यो भाइरस अब दीर्घकालीन रूपमा मानव समाजमा रहने छ । कुनै पनि महामारी गराउने भाइरस नियन्त्रणमा ल्याउन यो सीमित भूगोलमा मात्र फैलिएको भएमा सजिलो हुन्छ । कोरोनाकै परिवार ‘क’ सार्स र मार्स भाइरस सीमित संख्यामा मात्र संक्रमित हुँदा व्यापक प्रयास पश्चात नियन्त्रणमा आएका थिए ।

यसबाहेक मानव इतिहासमै एउटा भाइरस (स्मल पोक्स) मात्र व्यापक खोपको प्रयोग गरेर निर्मूल पार्न सकिएको छ । पोलियोजस्ता रोग किफायती खोप हुँदाहुँदै निर्मूलीकरणको नजिक पुगे पनि निर्मूल पार्न सकिएको छैन । अहिले कोरोना भाइरस संसारको कुनाकुनामा पुगिसकेको छ । कुनै एक देश वा भूगोलमा निर्मूल पार्न सके पनि अर्को स्थानबाट आयातित हुने सम्भावना प्रवल छ । उदाहरणका लागि अस्ट्रेलियाजस्ता देशका दृष्टान्तहरू छन् ।

फेरि, यो भाइरस बिस्तारै परिवर्तन हुने देखिन्छ । प्रतिरोध क्षमता विकास भए पनि यो भाइरस परिवर्तन हुँदै जाँदा पुनः संक्रमित गर्ने सम्भावना उत्तिकै रहन्छ । छिटपुट केस पनि देखिन थालेका छन् । संक्रमणपश्चात अथवा खोप लगाएपश्चात यो प्रतिरोध क्षमता कति समयसम्म रहन्छ भन्ने पनि हामीलाई जानकारी छैन । यदि अल्पकालीन प्रतिरोध क्षमता मात्र विकसित हुने हो भने पनि यसको पुनः संक्रमण रोक्नु चुनौतीपूर्ण काम हो ।

यो भाइरस अन्य जनावरमा पनि सरेको पाइएको छ । अहिलेसम्म प्राप्त प्रमाणका आधारमा यो आफैँमा चमेरोबाट अन्य कुनै प्रजाति हुँदै मानवमा सर्न पुगेको आकलन गरिएको छ । त्यसैले यो भाइरस निर्मूल पार्न मानिसमात्र होइन, अन्य संक्रमित जनावरका प्रजातिसमेत पहिचान गरेर त्यहाँबाट समेत निर्मूल पार्नुपर्ने हुन्छ । उदाहरणका लागि इबोलाजस्ता रोगहरू पटकपटक नियन्त्रणमा ल्याए पनि जनावरको माध्यमबाट पुनः नयाँनयाँ ठाउँमा देखा परिरहेको छ । त्यसैले महामारीपश्चात् संक्रमित शून्यमा पुग्दा पनि नयाँनयाँ संक्रमण भेटिरहन्छ । कोरोनाको सन्दर्भमा पनि त्यो सम्भावना छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारसँगै समाजको मनोविज्ञानलाई कसरी हेरिरहनु भएको छ ? हाम्रो मनोविज्ञान र व्यवहारले महामारी नियन्त्रणमा कस्तो प्रभाव परेको छ ?

कुनै पनि खतराको सामना गर्दा समाज वा व्यक्तिले विभिन्न चरण पार गर्दैगर्दा डर, तिरस्कार, दया, छल, रिस, अपसोच, हतास र स्वीकारजस्ता मनोभावहरू भोग्नुपर्ने अवस्था आउँछ । त्यसरी हेर्दा सुरुमा अरू देशको अवस्था देखेर डर लाग्यो । के गर्ने कसो गर्ने भन्ने विषयमा राज्य नै अन्योलमा रहृयो । धेरै ठाउँमा कोरोनासँग लड्ने भनेर संगठित हुने र देखासिखीकै भरमा भए पनि क्वारेन्टिन स्थल बनाउने जस्ता पूर्वतयारीका कामहरू भए ।

तर त्यो समयमा विज्ञवर्ग अचम्मैसँग गुमनाम रहृयो भने सरकार पूर्णरूपमा अविश्वासको भुमरीमा रुमलियो । कतिसम्म भने सरकारले भोलि देशमा संक्रमण फैलिन सक्छ भन्ने सम्भावनालाई तिरस्कार नै गर्‍यो । सरकारले पूर्वतयारी गर्नुको साटो देशलाई कोरोना मुक्त कसरी घोषणा गर्न सकिन्छ भन्नेतर्फ ध्यान दियो । असीमित प्रतिरोध क्षमता, अद्भुत खानपिन, हावापानी जस्ता अवैज्ञानिक तर्क अगाडि सारिए । समाजको एउटा तप्का त्यही मनोदशामा गुज्रिन पुग्यो ।

केही संक्रमित देखिन थालेपछि भने विज्ञहरूको स्वर चर्को हुँदै गयो र अद्भुत रूपमा विज्ञको संख्यामा वृद्धि भयो । आश्चर्यजनक रूपमा केही विज्ञहरूले त अवैज्ञानिक कुतर्कलाई सरकारी होमा हो मिलाउन खोजे । नियमित सञ्चारमाध्यममा आइरहने र सरकारलाई पनि सुझाव दिने केही विज्ञहरू नै त्यस्ता कुतर्कका जननीहरू थिए ।

जब संक्रमितको संख्या बढ्दै गयो, अकस्मात् समाजमा हतास मानसिकता देखिन थाल्यो । मानिसलाई मानिसदेखि नै डर लाग्न थाल्यो । जसरी पनि मचाहिँ जोगिनुपर्छ भन्ने मानसिकता हावी भयो । हिजोसम्म कोरोनाविरुद्ध लडिन्छ भनेर थाल ठटाउनेहरू कोही संक्रमित भएको शंका लागेमा ज्यान नै लिउँला जस्तोगरी खनिन थाले । स्वास्थ्यकर्मी र संक्रमित लुक्नुपर्ने स्थिति आउन थाल्यो । ठीक त्यही बेला सरकार छलतर्फ लाग्यो । कुतर्कको भारी त छँदै थियो, संक्रमितको पहिचान नै नहोस् र संक्रमित नै नदेखिऊन् भन्ने जस्तो गर्‍यो । यसले समाजको एउटा तप्कामा आक्रोश पैदा गर्‍यो । ‘इनफ इज इनफ’ भन्ने आन्दोलन नै चल्यो । अहिले भने सरकारलाई विगतमा भएका आफ्नो कमजोरीबारे थोरै भए पनि महसुस भएको हो कि भन्ने देखिन्छ ।

तर विभिन्न मनोदशामा विभक्त समाज, स्वोनामधन्य विज्ञहरूको मनागणन्ते तर्क र कोरोनाको जोखिमलाई तिरस्कार मात्र होइन, छलगर्ने सरकारका कारण महामारी नियन्त्रणका लागि हाम्रा कदमहरू अझै प्रभावकारी हुन सकेन ।

हामीले कोरोनाको जोखिमलाई स्वीकार गर्नु जरुरी छ । यो महामारी अनियन्त्रित हुन गएमा ठूलो जनधनको क्षति हुन्छ, दीर्घकालीन सामाजिक, आर्थिक र मानसिक असर गर्छ ।

यसलाई स्वीकार गरेपछिमात्र त्यसअनुसार तयारी गर्न सक्छौं । राम्रो तयारी भयो भने तुलनात्मक रूपमा जोखिम कम गर्न सक्छौं । समाजमा व्याप्त छल, रिस, हतास र अपसोच कम हुँदै जान्छ ।

-अनलाइन खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार