आलुको भाउ आएपछि लेकाली किसान उत्साहित

माईजोगमाई : लेकाली क्षेत्रका किसानको मुख्य आम्दानीको श्रोत आलुले भाउ पाएपछि किसानहरु यतिबेला उत्साहित भएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड १९) को कारण भारतीय आलु व्यापारिहरु नआउने भएकोले आलुको भाउमा गिरावट आउने हुन् कि भन्ने चिन्ताले दिनरात पिरोलिएका किसानहरु उत्साहित भएका हुन् । कोरोनाका कारण भारतीय सब्जीहरु नेपाल ल्याउन रोग लगाएपछि नेपाली आलुले भाउ पाएको हो ।

विगतमा नेपाली बजारमा भन्दा पनि भारतीय व्यापारीहरु घर/घर आएर धेरै दाम लगाएर आलु लैजाने गर्दथे । यो वर्ष स्थानीय आलु व्यापारीहरु घरबाट नै प्रतिमन २ हजार १ सय देखि २ हजार ४ सयसम्म दाम हालेर लगिरहेका छन् । लेकाली भेगमा साउनदेखि भदौ पहिलो सातासम्म आलु खनसक्ने गरिन्छ ।

अहिलेसम्म एक मन आलु बेचेको पैसाले कहिले एक मन चामल आएको नदेखेको प्याङका रघु राई यो वर्ष आलुको भाउ आएकोले किसानलाई मेहेनत अनुसार धेरै राहत मिलेको बताउँछन् । यो वर्ष एक मन आलु बेचेको पैसाले एक मन चामल ल्याएर पनि उब्रने भएकोले लेकाली आलु कृषकमा धेरै राहत मिलेको स्थानीय कुमार बुढाथोकी बताउँछन् ।

चिसो मौसममा आलु रोपेर जंगली जनवार बँदेलबाट रातदिन नसुती जाग्राम बसेर जोगाएको आलुको भाउ आएकोमा खुशी भएका आलु किसानहरु आउँदो वर्ष अझ धेरै आलु रोप्ने लक्ष रहेको बताउँछन् ।

आलुको भाउ आएपनि बजारको माग पूरा गर्न नसकिएको व्यापारी पासाङ शेर्पा बताउँछन् । लेकको आलु झापा र तराई क्षेत्रमा अध्याधिक माग रहेको तर आलु सकिदैं जान थालेकोले माग पूरा गर्न गाह्रो परेको शेर्पाको भनाई छ ।

जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिका तथा पाँथरको माथिलो लेकाली भेगमा यसको धेरै खेती गरिदैं आएको छ । पुस, माघ र फागुनमा रोपेको आलु किसानले भदौ पहिलो सातासम्म खनिसक्छन् । प्राय रातो, रातो बिटे र झ्याले आलु रोप्ने गर्छन् । आलु खेतीबाटै वर्षको घरखर्च टार्दै आएका छन् । एकै घरपरिवारले ६० देखि १ सय मनसम्म आलु रोप्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार